प्रश्नको अन्तिममा निम्न शब्दहरु जोडेर सोधेमा उत्तर लेख्ने तरिका

नेपालवाच / काठमाडौ । प्रश्नको अन्तिममा निम्न शब्दहरु जोडिएर सोधिएका प्रश्नमा उत्तर लेख्दा कसरी लेख्नु पर्छ र कुन–कुन पक्षलाई समेटेर लेख्नुपर्छ ? –सिंहालोकन गर्नुहास् –विवेचना गर्नुहोस् –पुष्टि गर्नुहोस् –वर्णन गर्नुहोस्, –उल्लेख गर्नुहोस, –चर्चा गर्नुहोस् –टिप्पणी गर्नुहोस् –व्याख्या गर्नुहोस, –स्पस्ट पार्नुहोस् –आफ्नो धारणा लेख्नुहोस् –आलोचनात्मक टिप्पणी गर्नुहोस् –प्रकाश पार्नुहोस् –समालोचनात्मक मूल्याङ्कन गर्नुहोस् –तर्क प्रस्तुत गर्नुहोस् –विश्लेषण गर्नुहोस् –टिपोट प्रस्तुत गर्नुहास् उत्तर – प्रश्नमा प्रयोग भएका शब्दहरु सही ढंगले बुझ्न सकियो भने मात्र अपेक्षित उत्तर लेख्न सकिन्छ । कहिलेकाँही एउटै शब्दको सन्दर्भ अनुसार फरक अर्थ पनि लाग्न सक्छ । त्यसैले प्रश्नको विषयवस्तु र सन्दर्भ अनुरुप शब्दहरुको अर्थ एकीन गरी सोही बमोजिमको उत्तर लेख्नुपर्ने हुन्छ । ‘सिंहावलोकन गर्नुहोस्’ भनिएकोमा अवधारणा, विषयवस्तु वा विचारको विकासक्रमलाई आलोचनात्मक ढंगले कालक्रमिक रुपमा सिलसिलेवार तवरले प्रस्तुत गर्नुपर्छ । यस्तो प्रश्न समाय व्यवस्थापनका दृष्टिले चुनौतीपूर्ण हुने हुँदा सम्भव भएसम्म संक्षेपमा प्रस्तुती गर्नुपर्छ । ‘विवेचना गर्नुहोस’, ‘समीक्षा गर्नुहोस’, ‘मूल्यांकन गर्नुहोस’, ‘विश्लेषण गर्नुहोस’, ‘आलोचानात्मक टिप्पणी गर्नुहोस’ वा ‘टिप्पणी गर्नुहोस’ भनिएकोमा विषयवस्तुको विद्यमान अवस्थाबारे तीन चार लाइनमा संक्षेपमा उल्लेख गरी विषयवस्तुका सबल पक्ष, दुर्वल पक्ष र अवसर तथा चुनौतीलाई समेटेर लेख्नु पर्छ । विवेचना, समीक्षा, मूल्यांकन र टिप्पणी गर्दा हामी धेरै नकारात्मक बन्ने वा समस्या मात्र धेरै देखाउने जोखिम हुन्छ । यसो नगरी सकारात्मक र नकारात्मक दुबै पक्षलाई सन्तुलित रुपमा उजागर गर्नु पर्छ । ‘पुष्टि गर्नुहोस्’ भन्ने प्रश्नको उत्तरमा आप्mनो मौलिक वा फरक धारणा नराखी प्रश्नले गरेको दाबीलाई तथ्य, तथ्यांक, तर्क, व्याख्या वा उदहरणहरु प्रस्तुत गरी ठिक वा सही भएको प्रमाणित गर्नु पर्दछ । यो कुनै दावी वा स्टेटमेन्टलाई पुष्टि गर्ने क्षमता परीक्षार्थीमा कत्तिको छ भनी जाँच गर्ने प्रश्न हो । ‘वर्णन गर्नुहोस’, ‘चर्चा गर्नुहोस’ ‘प्रकाश पार्नुहोस’ वा ‘व्याख्या गर्नुहोस’ भनिएकोमा विषयवस्तुलाई सरल रुपमा व्याख्या गरी विस्तृतीकरण गर्ने हो । यस्तो प्रश्नको उद्देश्य विषयलाई प्रस्ट पार्ने वा बुझाउने भएको हुँदा यसमा आलोचनात्मक प्रस्तुती गर्नु आवश्यक हुँदैन । आवश्यकता अनुसार उदाहरण र तथ्यहरुको प्रयोग गर्नु चाहीं राम्रो हुन्छ । ‘उल्लेख गर्नुहोस’ वा ‘टिपोट प्रस्तुत गर्नुहोस’ भनिएकोमा मागेको विषयवस्तुलाई बुँदागत रुपमा लेख्ने हो । यसमा पनि क्रिटिकल हुनु पर्दैन । उदाहरण र तथ्यलाई भने प्रस्तुत गर्न सकिन्छ । तर तार्किक विश्लेषण भने जरुरी हुँदैन । ‘आफ्नाे धारणा प्रस्तुत गर्नुहोस’ वा ‘तर्क प्रस्तुत गर्नुहोस’ भनिएकोमा प्रश्नको विषयवस्तुका सम्बन्धमा आफुलाई लागेको विचार वस्तुगत र तटस्थ रुपमा लेख्नु पर्दछ । यसमा आवश्यकता अनुसार क्रिटिकल्ली लेख्नु राम्रो हुन्छ । उदाहरण, तथ्यांक र तर्कपूर्ण व्याख्याद्धारा यस्तो प्रश्नको उत्तरलाई बढी वजनदार बनाउन सकिन्छ ।
प्रतिक्रिया