NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

दुई पटक स्थगित कांग्रेस बैठक अझै अनिश्चित

काठमाडौं । नेताहरुलाई कोरोना पोजेटिभ देखिएपछि दुई पटकसम्म स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक अझै अनिश्चित छ । १४ औं महाधिवेशन निर्धारित समयमा हुन नसकेपछि कार्यतालिका हेरफेर गर्न बस्नुपर्ने बैठक समयमा बस्न नसकेको हो । दुईपटक स्थगित भएको बैठक दशैं र तिहारको बीचमा बस्नेगरी छलफल भइरहेको जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए । ‘महाधिवेशनकै विषयमा छलफल गर्न हामीले दुईपटकसम्म केन्द्रीय समितिको बैठक डाक्यौं तर, केन्द्रीय नेता नै कोरोनाबाट संक्रमित हुनुभएपछि समयमा बैठक बस्न सकेन’ प्रवक्ता विश्वप्रकाश शर्माले नेपालवाचसँग भने, ‘नेताहरु स्वस्थ भएपछि र अब दशैं र तिहारको बीचमा केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीलाई अघि बढाउँछ ।’ प्रवक्ता शर्माले कात्तिक १९ देखि २१ सम्ममा बैठक आह्वान हुने जानकारी दिए । कांग्रेसमा महाधिवेशनको पूर्व तयारीका रुपमा गर्नुपर्ने आन्तरिक समायोजनको सबै काम अझै सम्पन्न हुन सकेको छैन । समायोजन नसकिंदा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम समयमा सबै ठाउँमा अघि बढ्न सकेको छैन । कांग्रेसमा संस्थापन इतर पक्षले छिटो केन्द्रीय समितिको बैठक डाकेर महाधिवेशनको तयारीलाई अघि बढाउन आग्रह गर्दै आएको छ । यस अघि घोषित आगामी फागुन ७ देखि १० सम्मको समय १४ औं महाधिवेशन गर्न विधानले दिएको अन्तिम समय हो । यसभन्दा पछि थप ६ महिनामा महाधिवेशन गर्न कांग्रेसले संविधानले दिएको समय लिनुपर्ने हुन्छ ।