विदेशमा कोरोना पोजेटिभ देखिए यात्रु आफैं जिम्मेवार हुनुपर्ने

अब विदेशमा पुगेका नेपालीमा कोरोना ‘पोजेटिभ’ देखिए यसको जिम्मेवारी नेपाल वायुसेवा निगमले नलिने भएको छ । पछिल्लो समय नेपालबाट युनाइटेड अरब इमिरेट्स्को दुबई र जापानको नारिताको गएका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि निगमले यसको जिम्मेवारी आफूले नलिने बताएको हो । नक्कली कोरोना रिपोर्टका आधारमा यात्रु ल्याएको भन्दै दुबई र नारिता विमानस्थलले निगमलाई उडान प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । लकडाउन भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय हवाई सेवा खुलेयता हङकङलेमात्रै दुईपटक उडान प्रतिबन्ध लगाइसकेको छ । नक्कली प्रयोगशाला रिपोर्टका यात्रु ल्याएको आरोप लगाउँदै हङकङले यस्तो प्रतिबन्ध लगाएको हो । हङकङले निगमलाई लगाएको उडान प्रतिबन्ध फुकुवा नहुँदै दुबई र नारिताले पनि उडान प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उडानअघि ७२ घण्टाको पिसिआर रिपोर्टलाई एयरलाइन्सले आधिकारीक मान्दै आएको छ । नेपालबाट विदेश पुगेकामा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका घटनाले आफ्नो आर्र्थिक पक्ष तथा प्रतिष्ठामा ठूलो नोेक्सानी पर्न गएकोे निगमले जनाएको छ । यी घटनाले देशकै प्रतिष्ठा तथा नेपालको स्वास्थ्य प्रयोगशालाहरूको विश्वसनीयतामै प्रश्न खडा भएको निगमले जनाएको छ । आगामी दिनमा निगमले नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाहरूलाई सजगता अपनाउन अनुरोध गरेको छ । यसका साथै यात्रु आफैंले पनि कोरोना परीक्षण गराएपछि विशेष सावधानी अपनाउन भनेको छ । मूख्यतः पिसिआर रिपोर्टको शतप्रतिशत विश्वसनीयता नहुँदा पनि यस्ता समस्या आइरहेको बताउँछिन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा । ‘कतिपय एयरलाईन्सले तोकिएको प्रयोगशालाबाटमात्रै पिसिआर परीक्षण गराएका छन्’, उनले भनिन् । तोकिएको ल्याबबाट मात्रै गरिएको परीक्षण रिपोर्टलाई मान्यता दिँदा पनि चाँडै जाऔं भन्ने मनासायले नक्कली रिपोर्ट बनाइको हुन सक्ने आशंका उनले व्यक्त गरिन् । ‘त्यसकारण पनि विदेश जाने सबैको यात्रुको परीक्षण सरकारी ल्याबबाटै गर्नुपर्ने भनेर हामीले सुरुदेखि भन्दै आएका हौं,’ उनले भनिन्, ‘यसरी तालमेल नहुने परीक्षणबारे सूक्ष्म अनुसन्धान हुनुपर्छ ।’
प्रतिक्रिया