बालुवाटार जग्गा हिनामिना : विशेष अदालतमा पूर्वमन्त्री चन्द्रदेव जोशीको वयान चल्दै

काठमाडौं । वालुवाटार जग्गा हिनामिना मुद्दामा विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीको वयान सुरु गरेको छ । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार जग्गा हिनामिनाको मुद्दामा उनीमाथि आजदेखि वयान सुरु भएको हो । जोशीमाथि ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगोसहित कैद सजायको मागदावी छ । बालुवाटारको एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा उनीसहित एक सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ ०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा जोशी भूमिसुधार मन्त्री हुँदा बालुवाटारको सरकारी निवास व्यक्तिको नाममा बनाउन भूमिका खेलेको भन्दै उनीमाथि पनि अख्तियारले मुद्दा दायर गरेको थियो । त्यतिबेला मन्त्री भएको एक सय २० दिनमा उनले राजीनामा दिएका थिए । उनको मुद्दामा विषेशका न्यायाधीशद्वय प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीले वयान गरिरहेका छन् । बालुवाटार जग्गा हिनामिना मुद्दामा हालसम्म ५२ जनाको वयान सकिएको छ । जसमध्ये विशेषले ५१ जनालाई धरौटीमा छाड्ने र एक जनालाई थुनामा पठाउने आदेश दिएको छ । विशेषले एक सय ७५ प्रतिवादीकै घरमा म्याद तामेल गरिसकेको थियो । तर, पूर्वउपप्रधान तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित एक सय २२ जना वयानमा आउन बाँकी छ ।
प्रतिक्रिया