मेलम्चीको पानी प्रभावकारी वितरणका लागि केयुकेएलले थाल्यो तयारी

काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको केयुकेएलले जनाएको छ । यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य बताउँछन् । उनका अनुसार लिमिटेडले खानेपानी वितरणका लागि तालिका पनि बनाइएकामा त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन् । उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ । चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको उनले बताए । एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको उनी बताउँछन् । उनले भने, ‘त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ ।’ पानी मर्मतको सिलसिलामा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । लिमिटेडले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुनसक्ने भनी तयारी अघि बढाएको छ । गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो । अहिले पनि पुरानो पाइपमा चुहावट खाज्दै भेटिएका स्थानमा टालिएको उनी बताउँछन् । उनले भने, ‘कतै जडान गर्नुपर्ने त कतै हटाउनुपर्ने हुनसक्छ । अहिले पुरानो पाइपबाट चुहावट खोज्दै भेटिएको स्थानमा टालिरहेका छौ ।’
प्रतिक्रिया