घलेगाउँमा बढ्यो पर्यटकको चहलपहल

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमूना घलेगाउँमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिनापछि आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेको हो । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोभिडका कारण यहाँका समितिले समेत घरबास बन्द गरेको थियो । गत भदौ १ गतेदेखि मात्रै घलेगाउँ घरबास पर्यटकका लागि खुला गरिएको थियो । घरबास खुला गरिएको केही हप्तासम्म मुस्किल नौ दश जना आउने गरेका थिए । यतिबेला भने दैनिक सय देखि १५० जनासम्म आन्तरिक पर्यटक आउन थालेको समितिका सचिव उमलबहादुर विकले बताए । उनले भने, ‘कोभिडका त्रासले नआएका पर्यटक यतिबेला आउन थालेपछि घरबासमा चहलपहल हुनुका साथै आम्दानीसमेत हुन थालेको छ ।’
प्रतिक्रिया