NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

जर्जियाका निर्वाचन अधिकारीलाई पुनः मतगणना गर्न ट्रम्पको दबाब (अडियो सहित)

काठमाडौं । अमिरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले जर्जिया राज्यका उच्च निर्वाचन अधिकारी ब्राड राफेन्स्पर्जरलाई जर्जियाको मतगणना पुनः आफ्नो पक्षमा गर्न आग्रह गरेको अडियो सार्वजनिक भएको छ । आइतबार वासिङटन पोष्टले सार्वजनिक गरेको उक्त अडियोमा ट्रम्पले आफूले भनेबमोेजिम मतगणना नगरेमा ‘ठूलो जोखिम’ उठाउने धम्कीसमेत दिएका छन् । राष्ट्रपति ट्रम्प र निर्वाचन अधिकारी राफेन्स्पर्जरसँग शनिबार भएको उक्त कुराकानीमा ट्रम्पले निर्वाचन प्रभावित बनाउन आफूले गरेको प्रयासबारे पनि बताएका छन् । गत नोभेम्बर ३ मा भएको अमेरिकाको राष्ट्रपति चुनावको हार र विभिन्न राज्यको नतिजा उल्ट्याउन असफल भएपनि ट्रम्पले बाइडेनलाई विजेता स्वीकार्न सकेका छैनन् । ट्रम्पले रिपब्लिकन राज्य सचिवसमेत रहेका ब्राड राफेन्स्पर्जरलाई उक्त फोनवार्तामा आफूलाई ११ हजार ७ सय ८० भोट चाहिएको बताएका छन् । यसअघि रिपब्लिकनहरूले जित्दै आएको जर्जियामा विगत ८ वर्ष पछि यसपालि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पहिलो पटक चुनाव जितेका हुन् । बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत पाएका थिए भने ट्रम्पले २४ लाख ६१ हजार ८ सय ५४ मत । ११ हजार ७ सय ८० मत थपेर ट्रम्प बाइडेनको भन्दा आफ्नो एक मत बढी बनाउन चाहेकोबारे ट्रम्पले उक्त फोन वार्तामा बताएका छन् । अडियो स्रोतः वासिङटन पोष्ट ट्रम्पले धाँधली भएको भन्दै विरोध गरेपछि यसअघि पनि जर्जियाले पुनः मतगणना गरिसकेको छ ।जसमा फेरि पनि बाइडेन नै विजयी घोषणा भएका थिए । उक्त नतिजाले आधिकारिक प्रमाणिकरण पनि भइसकेको छ, जसलाई जनावरी ६ मा कांग्रेसले स्वीकृत गर्ने बताइएको छ । फोनमा ट्रम्पले राफेन्स्पर्जरलाई सम्झाउँदै भन्छन्, ‘जर्जियाका जनता क्रोधित छन् । देशकै जनता पनि रिसाएका छन्…..यो भन्दा केही गलत हुँदैन, तपाईंलाई पनि थाहा छ, पुनः गणना गर्र्दा केही गलत हुँदैन ।’ यसमा राफेन्स्पर्जरले जवाफ फर्काए,‘ठिक छ, राष्ट्रपति ज्यू । तपाईंसँग गलत डाटा हुनु नै सबैभन्दा ठूलो चुनौती हो’ गत नोभेम्बर ३ देखि नै ट्रम्पले बारम्बार राफेन्स्पर्जरलाई बिना कुनै प्रमाण जर्जिया राज्यको १६ इलेक्टोरल भोट अनाधिकृत रुपमा बाइडेनलाई दिएको आरोप लगाउँदै आएका छन् । शनिवार भएको उक्त फोन वार्तामा ट्रम्पले राफेन्स्पर्जरलाई ‘बच्चा’ भएको बताउँदै ‘बेइमान’ र ‘असक्षम’समेत भएको बताएका छन् । आइतबार वासिङटन पोस्टले उक्त अडियो सार्वजनिक गरेपछि ट्रम्पले ट्वीटरमा लेखेका छन, ‘मतपत्र घोटाला, मतपत्र विनाश, राज्य बाहिरका मतदाताहरु, मृत मतदाताजस्ता यावत प्रश्नको जवाफ दिन उनी तयार भएनन् ।’ जवाफमा राफेन्स्पर्जरले रिट्वीट गर्दै लेखेका छन्, ‘आदरणीय राष्ट्रपति, तपाईंले जे बताइरहनुभएको छ, त्यो सत्य होइन । सत्य बाहिर आउँछ ।’ उक्त टेपलाई उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले ‘निराशाको आवास’ को संज्ञा दिएकी छिन् । राष्ट्रपतिले शक्तिको दुरुपयोग गरेको भन्दै उनले जर्जियाको सवानामा भएको एक जुलुसमा यसको आलोचना गरेकी छिन् ।