NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

हुम्लामा हिउँ फुल्दा : मनमोहक सिमकोट [फोटोफिचर]

सिमकाेट । देशैभर चिसो बढ्दा हिमाली जिल्ला हुम्लामा आइतबार दिउसोबाटै हिमपात सुरु भयो । हिमपात शुरु भएपछि हुम्ला सिमकोटको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ । भारी हिमपातले हुम्ला लगायत हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । भारी हिमपात हुँदा आइतबार हुम्लाको सिमकोट पुगेका दुई जहाज हिउँमैं पुरिएर थन्किए । सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आए पछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । तर, मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज उड्न नसकेको सिमकोट विमानस्थलका प्रमुख विष्णु प्रसाद अधिकारीले बताए । हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीहरुमा ४ फिट भन्दा बढी हिउँ जमेको छ । आइतबार दिउँसोदेखि परेको हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको छ । हिमपातले सदरमुकाम सिमकोट भने मनमोहक देखिएको छ । खुल्ला ठाउँ, रुख, घरका छाना र बस्तीमा हिउँ फुलेझै देखिन्छ । जसले सिमकोटलाई सुन्दर र मनमोहक बनाएको छ । हिमपातले जनजीवन प्रभावित भए पनि लामो समय वर्षा नहुँदा समस्यामा परेका किसानहरु हर्षित भएका छन् । जेठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा खनजोत गर्न सहज हुने भएपछि किसानहरु खुशी भएका हुन् । तर, जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भईरहेकाले यहाँका स्थानीयलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले आग्रह गरेका छन् ।