NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत बागमती प्रदेशस्तरीय छनोटका लागि काठमाडौं र चितवन भिडदै

काठमाडौं । काठमाडौं र चितवन ‘प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो । मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनायो । चौहत्तर रनको विजयलक्ष्य काठमाडौँले २० दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । काठमाडौँका लागि इशान पाण्डेले अविजित रहँदै ३२ तथा जितेन्द्रसिंह ठकुरीले १४ रन बनाएका थिए । यसअघि ब्याटिङ गर्ने क्रममा मकवानपुरका लागि गौरव खड्काले १५ तथा युविन बुढाथोकीले १० रन बनाएका थिए । बलिङतर्फ काठमाडौँका लागि आरियो पौडेलले पाँच तथा सञ्जम रेग्मीले दुई विकेट लिए । पौडेलले सात दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखी १७ रन खर्चेर पाँच विकेट लिएका थिए ।