लोडसेडिङ हटाउने कुलमान होइनन् म हुँ भन्ने मन्त्री रायमाझीको अर्को कुतर्क

काठमाडौं । देशमा १८ घण्टा लामो लोडसेडिङ अन्त्यको जस लिने मामिलामा नेताहरुबीच चर्को प्रतिस्पर्धा छ । केही दिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्य गर्ने कुलमान घिसिङ नभई प्रधानमन्त्री केपी ओली भएको तर्क गरेका थिए । त्यसको दुई तीन दिनलगत्तै नवनियुक्त उर्जामन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ अन्त्य आफूले गरेको जिकिर गरेका थिए । जबकी रायमाझी नै मन्त्री हुँदा देश १८ घण्टा लामो लोडसेडिङमा थियो । २४ घण्टामा बिजुली आउने समय जम्मा ६ घण्टामात्रै थियो । उनै नवनियुक्त उर्जामन्त्री टोपबहादुर रायमाझीले फेरि अर्को विवादित अभिव्यक्ति दिएका छन् । गत आइतबार रायमाझीले अर्घाखाँचीको सन्धीखर्क पुगेर बिजुली अन्डरग्राउण्ड गर्दा मान्छे मर्ने टिप्पणी गरेका हुन् । ‘कति साथीहरु मर्ने हुन् अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यो अध्ययन भइराखेको छ’ उनले भनेका थिए ‘साथीहरुले के कारणले गरे, त्यो १२ अर्बको काम गरिहालेछन् । गरिसकेपछि अहिले त्यो खतरनाक भइराखेको छ । अस्ति महाराजगञ्जमा अण्डरग्राउण्डको शट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिए छ साथीहरुले ।’ तार भूमिगतबारे आफूहरुले अध्ययन गरेर अब त्यसलाई रोक्नेसम्मको संकेत उनले दिएका छन् । रायमाझीको बिजुलीको तार अन्डरग्राउन्ड सम्बन्धमा यो पहिलो अभिव्यक्ति होइन । यस अघि उर्जा मन्त्री भएपछि पदभार ग्रहण गर्दै रायमाझीले ‘काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमिगत गर्ने काम गरेर ठीक गरिदैछैन ।’ भनेका थिए । तर, प्रधानमन्त्री केपी ओलीले गत वर्षको ५ फागुनमा काठमाडौंमा बिजुलीको तार भूमिगत गर्ने कार्यको उद्घाटन गरेका थिए । रायमाझीले आफ्नै प्रधानमन्त्रीको प्रयासलाई चुनौती दिएका छन् । तारले गन्जागोल राजधानीको सुन्दरता बढाउन, व्यवस्थित सहर बनाउन, हावाहारीको जोखिमबाट बचाउन पनि तार भूमिगत गर्ने अभ्यास विकसित देशमा छ । तर जिम्मेवार मन्त्रीले हावादारी तर्क गरेका छन् ।
प्रतिक्रिया