मेलम्चीबाट जागिर थालेका इन्जिनियर अवकास भए, तर पानी अझै आएन

काठमाडौं । भर्खरै पञ्चायती व्यवस्था ढलेर बहुदल आएको थियो । कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले संविधान जारी गरेर चुनाव घोषणा गरेको थियो ।
चुनावी रन्कोले देश तातिरहेका बेला भट्टराईले बानेश्वरको आमसभालाई सम्बोधन गर्दै अनायासै घोषणा गरेका थिए– मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्छु ।’ भट्टराईले काकाकुल काठमाडौंलाई मेलम्ची सपना देखाउँदा यसको सम्भाव्यता अध्ययन भइसकेको थियो ।
तर कसरी अघि बढाउने रु प्रष्ट र ठोस खाका बनेको थिएन । हुन त, पञ्चायतको उत्तरार्ध ०४१ तिरै मेलम्चीबारेको सम्भाव्यता अध्ययन भइसकेको थियो । तत्कालीन प्रधानमन्त्री भट्टराईलाई कसैले यसबारे सुनाइदियो । भट्टराई पनि के कम, मेलम्ची ल्याउने भन्दै भाषण नै ठोकिएदिए ।
मेलम्ची आयोजनामा सुरुवाती दिनदेखि जोडिएका इन्जिनियर दीपकरत्न शाक्य त्यसपछि मेलम्चीको चर्चा थप चुलिएको बताउँछन् । यो स्वभाविक पनि थियो । किनभने, त्यतिबेला काठमाडौंमा पानी निकै अभाव थियो । धारामा दैनिक चार घण्टा मात्र पानी आउँथ्यो ।
भट्टराईको भाषणमा मेलम्ची परेपछि काठमाडौंवासीले पनि सपना सजाउन थाले । जुन अद्यपि कायम छ । भट्टराईको नेतृत्वमा भएको ०४८ को निर्वाचनमा कांग्रेसको पल्लाभारी भयो । जसको एउटा कारण भट्टराईले अनायासै उब्जाएको मेलम्ची सपना पनि रहेको बताइन्छ ।
दीपकरत्न शाक्य त्यतिबेला भर्खर बेलारुसबाट आफ्नो इन्जिनियरिङको पढाइ सकेर नेपाल फर्केका थिए । उनले सरकारी संस्था ‘नेपिकोन’मा जागिर थालेको धेरै भएको थिएन् । बनेपाका शाक्य नेपिकोनमार्फत मेलम्चीमा जोडिन पुगे, एसिस्टेन्ट इन्जिनियरको रूपमा ।
काठमाडौंवासीको मनमा मेलम्ची आउने आशा उत्कर्षमा थियो । २८ वर्षे शाक्यले युवावयमै यति चर्चित आयोजनामा काम गर्न पाउनुले समाजमा उनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । शाक्य मेलम्ची आयोजनामा काम गर्ने जानकारी पाएपछि चिनेजानेकाले सोध्न थाले, ‘मेलम्ची कहिले आउँछ ?’ शाक्यले यस्तो जिज्ञासा सुन्न थालेको आज ठ्याक्कै ३१ वर्ष बित्यो । योबीचमा बागमतीमा बेहिसाब फोहोर पानी बग्यो ।
पञ्चायत ढलेर प्रजातन्त्र र राजतन्त्र बिदा गरेर गणतन्त्र आयो । उनलाई प्रश्न गर्ने छरछिमेक फेरिए । यस्ता प्रश्न गर्नेमध्ये कतिपयको इहलीला समाप्त भइसक्यो । मेलम्ची सपना जागृत गराउने स्वयं कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नै भौतिक संसारबाट अलप भइसके । शाक्य आफैं पनि उमेर हदका कारण सरकारी सेवाबाट बिदा भइसके । तर मेलम्ची अझै आएको छैन । शाक्य विगत र वर्तमानको तुलना गर्दै भन्छन्, ‘पहिले धेरैले मेलम्ची कहिले आउँछ भनेर प्रश्न गर्थे । अहिले धेरैले प्रश्नै गर्न छाडिसके ।’
५८ वर्ष पुगेका शाक्यले आफ्नो जीवनको ऊर्जाशील समय मेलम्चीमा बिताए । अहिले सम्झिँदा लामो कालखण्ड बितेजस्तो लाग्छ, उनलाई । ‘मेलम्ची आउन यतिका समय लाग्छ भनेर सायदै सोचिएको थियो होला,’ शाक्य भन्छन् । पटक–पटक बनेको सरकार र पटक पटक बनेका खानेपानी मन्त्रीहरुले जस्तै यसपटकका खानेपानी मन्त्री मणिचन्द्र थापाले पनि वैशाखमा मेलम्चीको पानी ल्याउने बताएका छन् । तर अब मेलम्चीको पानी काठमाडौं आएमा बिलले नै काठमाडौंवासीको सातो लैजाने शाक्य बताउँछन् ।
‘पहिलो त, काम सक्नुपर्ने समयमा नसकेपछि त्यसको लागत बढ्दै जान्छ,’ शाक्य भन्छन्, ‘दोस्रो, ठूलो धनराशि खर्चेर आयोजना सकाएपछि त्यो पैसा त ढिलो चाँडो जनताबाटै असुल्ने हो ।’ आज मेलम्ची किन आएन भन्ने अधिकांश नेपालीको प्रश्न छ । मेलम्चीको प्रारम्भिक काम अथवा जग बसाल्ने कामका साक्षी शाक्यको एउटै उत्तर छ, ‘नेपाल सरकार असल ग्राहक बन्न सकेन ।’
सरकार र राज्य असल ग्राहक नबनिदिँदा ठूला र अन्तर्राष्ट्रियस्तरका कम्पनीले पनि काम गर्न नसकेको उनको ठहर छ । ०४६ बाट सुरु आयोजना सुरुमा चाइना रेलवे ब्युरो ग्रुप जेभीले थालेको थियो । त्यसपछि इटाली कम्पनी सीएमसीको जिम्मा लगाइयो । अहिले चीनको सिनो हाइड्रो कम्पनीले यहाँ काम गरिरहेको छ । मेलम्ची नआउनुमा प्रारम्भिक चरणदेखि नै समस्या सुरु भएको उनी बताउँछन् ।
त्यतिबेला उनीसहितका प्राविधिक टोलीले १० महिना लगाएर अध्ययन प्रतिवेदन बुझाएका थिए । तर साइइटमा काम त्यसको ठीक उल्टो भयो । ‘पूर्वाधारको विकास गर्दा पहिला बाटो बनाएर मात्रै पुल बनाउनुपर्ने थियो । तर सुरुमै पहाडको खोंचमा पुल बनाइयो,’ शाक्यले विगत सम्झिए ।
पुल र सुरुङसम्बन्धी विशेषज्ञ हुन् शाक्य । प्राविधिक काम गर्दाको एउटा हास्यास्पद घटना उनको स्मरणमा अहिले पनि ताजै छ । एक दिन साइट निरीक्षणका क्रममा उनी पुल हेर्न गए । उनलाई पहाडको टुप्पोबाट हिँडाउँदै लगियो। पुल कतै देखेनन् । कता छ पुल रु भनेर देखाउँदा तल खोंचमा देखाइयो । बाटो नै नबनाई पुल निर्माण गरिँदै थियो, त्यहाँ । एकछिन त उनी उल्टो काम भएको देखेर अचम्मित भए । र, सोधे, ‘यस्तो उल्टो काम पनि गर्ने हो ? पहिले बाटो बनाएर पो पुल बनाउने त ।’
ती टोलिले भने, ‘ठेक्का टुक्रा–टुक्रा गरेर बाँडेपछि आफ्नो ठेक्कामा परेको काम गर्नैैपर्यो ।’सुरुमा बाटो बनेको भए, सामानहरू गाडीमा लैजान सकिन्थ्यो । तर बाटो नै नभएपछि पहाडको बाटोमा हिँड्दै गिट्टी सिमेन्ट, डन्डी आदि बोकाउनुपर्ने भयो । यसो गर्दा समय त बढी लाग्यो नै ढुवानी खर्च पनि बढेको शाक्य बताउँछन् । त्यतिबेलासम्म माओवादी द्वन्द्व चर्किसकेको थियो । बाटो बनाउन चट्टान फोड्न विस्फोट सजिलै गर्न सकिने अवस्था थिएन ।
माओवादीहरूले अवरोध गर्थे । त्यसका लागि पत्राचार गर्दा महिनौंसम्म पत्र अल्झिदाँ बाटो पहिला नभएर पुलको काम सुरु भयो । शाक्य ठट्टा गर्दै भन्छन्, ‘यसरी निर्माण गरिएको चिजको लागत उठाउन मेलम्चीको धाराको पानीको बिल बनेर आउँदैन भन्ने के ग्यारेन्टी ?’ जतिबेला मेलम्चीको अवधारणा बन्यो, त्यतिबेला काठमाडौंको बस्ती अहिलेजस्तो बाक्लिएको थिएन। शाक्यको सम्झनामा त्यतिबेला रिङरोडबाट निकै भित्र मात्रै शहर थिए ।
रिङरोड आसपास पनि अहिलेजस्तो घना अवादी थिएन । स्यालको राज थियो । अहिले काठमाडौंको जनसंख्या बढेर ५० लाख पुगिसकेको छ । मेलम्ची आयोजनाका क्रममा सडकदेखि नैै सुरु भएको राजनीतिमा स्थानीय निकायदेखि त्यहाँका जनतासमेतका कारण आज मेलम्ची आयोजना अलपत्र परेको बताउँछन् शाक्य ।
स्थानीयले सुरुदेखि नै अवरोध सिर्जना गरेको बताउँदै उनले भने, ‘बाटो रेखांकन गर्ने क्रममा सबैले आफ्नो जग्गामा बाटो पार्न खोजे ।’ सबैलाई आफ्नो वडा, वडाको पनि टोलटोलमा बाटो पुग्ने हिसाबले रेखांकन कोर्न दबाब दिँदा विवाद सुरु भयो । यसले आयोजनाको कामलाई झनै पछि धकेल्यो । स्थानीय र त्यहाँका सरोकारवालाको अगुवाइमा सम्झौता गरेर बाटो पुर्याउने सर्तमा रेखांकन भयो । बाटो पुगेसँगै फेरि मुआब्जा वितरण गर्नेबेलामा जग्गाको भाउ ह्वात्तै बढाए स्थानीयले ।
मुआब्जा महँगो हुने भएपछि एक मिटर भए पनि बाटो आफ्नो जग्गतिर सार्ने काम स्थानीयले गरेको शाक्य बताउँछन् । यस्ता विवादले बाटो बन्न मात्रै ७ वर्ष लागेको शाक्यको अनुभव छ । अहिले शाक्य सेवानिवृत्त भइसके । बीचमा उनको धेरै ठाउँमा पोस्टिङ पनि भयो । तर सुरुवातदेखि आफू संलग्न भएको राष्ट्रिय आयोजना अहिलेसम्म पनि अलपत्र हुँदा मुटु चसक्क हुने उनी सुनाउँछन्। ‘समयमै आइदिएको भए नेपालीले कति सहुलियतपूर्ण जिन्दगी बाँच्न पाउथे,’ उनी भन्छन् । शाक्यका अनुसार, कुनै पनि पूर्वाधारमा पैसा लगाएपछि त्यो निर्माणले ५ देखि १० वर्षभन्दा
बढी समय लगाउनु हुँदैन । जति नै ठूलो प्रोजेक्ट भए पनि त्यसलाई समयावधिभित्र सक्नुपर्ने प्राविधिक नियम नै हुने उनी बताउँछन् । आयोजनाको कामलाई टुक्रा पारेरै भए पनि समयमा सक्नुपर्ने तर्क शाक्यको छ । कति बाँकी छ मेलम्चीको काम ? यतिबेला मेलम्चीको भौतिक पूर्वाधारको विकासको काम सत प्रतिशत सकिएको बताउँछन्, मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्त ।
उनका अनुसार, अब सुरुङ परीक्षणको काम मात्रै बाँकी छ । पहिलो पटक सुरुङको काम अर्थिक वर्ष ०५८/५९ मा सुरु हुँदा आयोजना आ.व ०६४–६५ भित्र सक्ने लक्ष्य लिइएको थियो । तर काम नसकिएपछि उक्त मिति अर्को पाँच वर्ष धकेलियो । र, ०७०–७१ मा सक्ने भनियो । त्यस अवधिमा इटालियन कम्पनी नै ठेक्का रद्द गरेर आफ्नो देश फर्केपछि ०७६ मा मेलम्ची ल्याउने भनियो ।
अहिले ०७७ को पनि अन्तिम भइसक्यो । तर अझै कहिलेसम्म मेलम्चीबाट पानी आउँछ, निश्चित छैन । आयोजना सुरु हुँदाको अनुमानित लागत ४ सय ६४ मिलियन अमेरिकी डलर थियो । आयोजना कार्यान्वयन गर्दा लागतमा थप–घट हुँदा ३ सय १७ मिलियन अमेरिकी डलरमा घट्यो । त्यसपछि प्रजेक्टलाई चाँडो सक्नका लागि विभिन्न निकायको भागमा विभाजन गरियो । यसो गर्दा मेलम्ची खानेपानी विकास समितिलाई टनेल र ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ बनाउने जिम्मा दिइयो । त्यसमा २ सय ५० मिलियन अमेरिकी डलरबाट प्रोजेक्ट सुरु भयो ।
पन्तका अनुसार, बीचमा अमेरिकी डलरकोे विनिमय दर बढ्ने र कम्पनी रद्द हुँदा ३ सय १२ मिलियन अमेरिकी डलरमा सम्पन्न हुने देखिन्छ । हालसम्म ३० अर्ब सकिसकेको उनले बताए । मेलम्चीको पानी सफा मात्रै भएर छनौट भएको होइन । त्यहाँको पानीमा उपयुक्त पोषण पनि थियो । त्यस्तैगरी लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै बग्ने हुँदा मानवीय गतिविधिका कारण प्रदूषण नहुने अर्को सुखद् पाटो पनि थियो ।
वर्षौंअघि अध्ययन भएको यो विषयमा कतिको परिवर्तन आएको छ भन्ने प्रश्नमा पन्तले खासै परिवर्तन नआएको बताए । ‘राष्ट्रिय खानेपानी मापदण्डको गुणस्तरमै छ पानीको प्रकार अहिले पनि । पहिलाको तुलनामा खासै परिवर्तन छैन,’ उनले भने ।
प्रतिक्रिया