NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
मिसन मंगल

यसरी पुग्नेछन् मंगल ग्रहमा मान्छेहरू

काठमाडौं । मंगल ग्रहमा पठाइएको ‘फोनिक्स मार्स ल्याण्डर’ ले सन् २००८ जुलाई ३१ मा एउटा अदभूत तथ्य धर्तीमा पठायो । मंगल ग्रहमा पानीको अस्तित्त्व ।

‘फोनिक्स’ले जब मंगलको सतहमा हिउँ नै हिउँले भरिएका क्रेटर (विशाल खाल्डा) को तस्बिर पठायो, वैज्ञानिकहरूको आश्चर्यको सीमै रहेन ।
मंगलमा जीवनको सम्भावना खोजिरहेको यो हरित ग्रह पृथ्वीको मानव सभ्यताका लागि छिमेकी ग्रहबाट आएको त्यो सुखद् खबर थियो । जुन ग्रहमा पानीको अस्तीत्त्व छ, त्यहाँ जीवन ंसम्भव छ भन्ने आशा पलायो ।

मंगल ग्रहसँग आफ्नै एटमस्फियर (वायु मण्डल) समेत भएको तथ्य पत्ता लागेपछि त झन् यो आशाको सुनमा सुगन्ध नै थपियो । वैज्ञानिकहरू निश्चिन्त हुन थाले कि अब पृथ्वीझैं मंगललाई पनि मानिसले आफ्नो आश्रय थलो बनाउन सक्नेछ ।

‘फोनिक्स’ त अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले पठाएको थियो, तर त्यसका तथ्यहरूबाट फाइदा भने एलन मस्कको कम्पनी ‘स्पेश एक्स’ले उठाउँदैछन् ।

‘यदि मंगललाई पृथ्वीजस्तै मानव बस्नलायक बनाउन सकिन्छ भने त्यो सपना साकार पार्ने अभियानको सुरुवात मैले किन नगर्ने ?’, तत्काल एलन मस्कले पत्रकार सम्मेलनमा भनिहाले ।

मंगलमा लाखौं मानिसलाई एउटा शहरमा बसाउने उनको योजना छ । यसमा अनेक अड्चन छन् । मुख्य चुनौती आर्थिक नै हो । उनले यसको पनि उपाय बताएका छन्

नभन्दै, अहिले विश्वकै धनी अनि प्रतिभाशाली व्यक्ति एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बसाउने मिसन प्रारम्भ गरिसकेका छन् । यसै प्रयोजनका लागि मस्कले सन् २००२ मा स्थापना गरेको ‘स्पेश एक्स’ नामक कम्पनीले यस दिशामा कार्य प्रारम्भ गरिसकेको छ ।

‘स्पेश एक्स’को उद्देश्य हो, अन्तरिक्ष यात्रालाई सस्तो र छिटो बनाउनु अनि मानव सभ्यतालाई ‘मल्टी प्लानेटरी’ अर्थात् एकभन्दा बढी ग्रहमा रहने प्रजातिमा रूपान्तरण गर्नु । यही उद्देश्यअनुरूप एलन मस्क मंगल ग्रहमा एउटा आत्मनिर्भर मानव बस्ती बसाउन चाहन्छन् । अर्थात् मंगलमा बस्ने मानिसहरूलाई बाच्नका लागि पृथ्वीको सहारा लिन नपरोस् र उनीहरूले मंगलमै आफ्ना आधारभूत आवश्यकताका वस्तु उत्पादन गन सकून् ।

मंगलमै किन ?

आखिर एलन मस्क मानिसलाई पृथ्वी ग्रह छाडेर अन्य ग्रहमा किन लैजान चाहन्छन् ? बारम्बार उनीसँग यो प्रश्न सोध्ने गरिन्छ ।

मस्क भन्ने गर्छन्, ‘हामीसँग दुइटा विकल्प छन् । पहिलो विकल्प त हामी सदा पृथ्वीमै रहौं र भविष्यमा हुनसक्ने कुनै विनाशकारी प्रलयको प्रतीक्षा गरौं । जस्तो कि परमाणु विष्फोटका साथ हुने तेस्रो विश्वयुद्ध अथवा एस्टोरोयड (छुद्र ग्रह) पृथ्वीमा ठोक्किँदा जसरी डायनोसरहरू लोप भए त्यसैगरी हामी मानवको प्रजाति पनि लोप होस् । यस्ता कुनै पनि घटनाबाट हाम्रो प्रजाति सदा खतरामै रहिरहनेछ । अर्को विकल्प के छ भने हामी यो ग्रहबाट बाहिर निस्किएर अर्को ग्रहमा पनि बस्ती बसाऊँ । यसो हुन सकेमा पृथ्वीमा भविष्यमा हुनसक्ने प्रलयबाट मानव सभ्यताले आफ्नो विनाशलाई टार्नसक्छ ।’

अर्को प्रश्न महत्त्वपूर्ण छ, आखिर मंगल ग्रहमै किन जाने ? कुनै अर्को ग्रहमा जान सकिँदैन ?

यो प्रश्नमा एलन मस्कको जवाफ छ, ‘हाम्रो सौर्य मण्डलमा रहेका ग्रहहरूमध्ये शुक्र ग्रहमा अत्यधिक दबाब छ र अम्लको वर्षा हुन्छ । बुध ग्रह सूर्यको निकै नजिक छ र यहाँ धेरै गर्मी हुन्छ । बृहस्पति र शनिमा त टेक्नै सकिँदैन । किनकि, यी ग्यासले भरिएका ग्रह हुन् । हामी पृथ्वीको उपग्रह चन्द्रमामा पनि जान सक्थ्यौं, तर ठूलो बस्ती विकास गर्न त्यहाँ संशाधनको कमी छ र त्यहाँ वायुमण्डल पनि छैन । अतः सबै हिसाबले मंगल नै हाम्रो लागि उपयुक्त वैकल्पिक ग्रह हो ।’

एक पटक मंगल गएका मानिसलाई घुमफिर गर्न र अन्य आफन्तसँग भेटघाट गर्न पुनः पृथ्वीमा फर्किनसक्ने परिस्थिति र प्रविधि पनि त चाहियो । यसका लागि मंगलमा इन्धन भण्डार निर्माण अपरिहार्य छ, ताकि त्यो इन्धन भरेर अन्तरिक्ष यान पुनः पृथ्वीमा फर्किंन सकोस्

मंगल ग्रह पृथ्वीको तुलनामा सूर्यबाट टाढा छ । त्यसैले हिउँदयाममा यो निकै चिसो हुन्छ । गर्मीयाममा तातो । करिब–करिब पृथ्वीको जस्तै । हिउँदयाममा यो ग्रहमा औसत तापक्रम माइनस सात डिग्री सेल्सियस हुन्छ । एलनले ‘यसलाई तातो बनाउन सकिन्छ’ भनेर भने पनि तातो बनाउने तौरतरिकाबारे उनले अझै खुलासा गरेका छैनन्, यसबारे वैज्ञानिकका विपरीत धारण आइरहेका छन् ।

मंगलको बायु मण्डलमा ९६ प्रतिशत कार्बनडाइअक्साइड छ । २ दशमलव ५ प्रतिशत नाइट्रोजन छ । हामीलाई आवश्यक अक्सिजनचाहिँ शून्य दशमलव १७४ प्रतिशत मात्र छ । यो ग्रहको व्यास पृथ्वीभन्दा आधा छ । तैपनि पृथ्वीको आकारसँग नजिकबाट मिल्ने ग्रह नै यही हो । बाँकी ग्रह पृथ्वीभन्दा या त निकै साना छन्, या निकै ठूला ।

मंगलको गुरुत्त्वाकर्षण पृथ्वीको तुलनामा करिब एक तिहाइ छ । अर्थात् हामी मंगलमा सहजै उफ्रिएर धेरै परसम्म छलाङ लगाउन सक्छौंं । मंगल र पृथ्वी आफ्नो अक्षमा करिब–करिब एउटै गतिमा घुम्छन् । यसर्थ मंगलको एक दिन भनेको पृथ्वीको एक दिनभन्दा ४० मिनेट मात्र बढी समयको हुन्छ ।

यस्तो छ प्रारम्भिक योजना

जे होस्, मंगलमा बस्ती बसाउन एलन मस्कसँग आखिर के योजना छ त ?

सन् २०१६ सेप्टेम्बरमै एलन मस्कले मंगलमा बस्ती बसाउने आफ्नो योजना र त्यसका कैयौं प्राविधिक पक्षबारे खुलासा गरेका थिए । मंगलमा लाखौं मानिसलाई एउटा शहरमा बसाउने उनको योजना छ । यसमा अनेक अड्चन छन् । मुख्य चुनौती आर्थिक नै हो । उनले यसको पनि उपाय बताएका छन् ।

उनका अनुसार मंगल ग्रहमा जान चाहने मानिसले त्यति मात्र पैसा खर्च गरोस्, जति पैसा उसले अमेरिकामा एउटा घर किन्न खर्च गर्छ । अर्थात दुइ लाख डलर । हरेक व्यक्तिले दुई लाख डलर तिरेमा ऊ मंगलसम्म जानसक्छ ।

आखिर यति कम खर्चमा कसरी मंगलमा जान सकिन्छ त ? यसका लागि एलन मस्कले चार सूत्रीय योजनाअघि सारेका छन् ।

पहिलो सूत्र हो, रकेट र अन्तरिक्ष यानको पुनप्रर्योगको सूत्र । अर्थात् एक पटक प्रयोग भएको रकेट, अन्य उपकरण र अन्तरिक्ष यानलाई बारम्बार प्रयोग गर्न सकिने प्रविधि विकास गरेमा खर्च घटिहाल्छ ।

एलन मस्क प्रारम्भिक चरणमा मंगलमा करिब १० लाख मानिसहरूको शहर निर्माण गर्न चाहन्छन् । पहिलो यात्रामा अन्तरिक्ष यानले १०० जना मानिस र धेरै सर–सामान लिएर मंगलमा जानेछ । यस हिसाबले १० लाख पुर्‍याउन १० हजार उडान भर्नुपर्नेछ 

नभन्दै, सन् २०१५ मा स्पेस एक्सले ‘फेल्कन–९’ नामक रकेटलाई अन्तरिक्षमा प्रक्षेपण गरेर सुरक्षित रूपमा पृथ्वीमा अवतरण गराउन सफलता पायो । यसको दुई महिनापछि पुनः यही रकेटलाई अन्तरिक्षमा प्रक्षेपण गरेर पुनः समुद्रमा रहेको एउटा जहाजमा अवतरण गराइयो । यसबाट अन्तरिक्ष यात्रामा हुने मुख्य खर्च कम हुने संभावना बढिहाल्यो ।

अर्को सूत्र हो, पृथ्वीको कक्षमा इन्धन भर्ने प्रविधि । यो प्रक्रियाअनुसार पहिला रकेटले अन्तरिक्ष यानलाई पृथ्वीको कक्षमा पुर्‍याउनेछ ।

अन्तरिक्षयान पृथ्वीको परिक्रमा गर्न थाल्नेछ, रकेट तल पृथ्वीमा अवतरित हुनेछ । अब पृथ्वीमा आइसकेको सोही रकेटमाथि एउटा इन्धन टयांक फिट गरिनेछ । इन्धन टयांक बोकेर रकेट पुनः पृथ्वीको परिक्रमा गरिरहेको अन्तरिक्ष यानसम्म पुग्नेछ । रकेट पुनः पृथ्वीतिर जानेछ । इन्धन ट्यांकर पनि अन्तरिक्ष यानमा इन्धन भरेर पुनः पृथ्वीतिरै फर्किनेछ । यो प्रक्रियाको फाइदा के हो भने सानो रकेटबाट पनि अन्तरिक्ष यानलाई पृथ्वीको कक्षसम्म लैजान सकिन्छ र रकेटमाथि इन्धनको अतिरिक्त भार हुनेछैन । मस्कका अनुसार यो प्रक्रियाबाट मिसनको खर्च करिब पाँच गुना कम हुनेछ ।

मंगलमै इन्धन भण्डार

तेस्रो सूत्र हो, मंगल ग्रहमा ‘प्रोपेलेन्ट’ अर्थात् अन्तरिक्ष यानमा प्रयोग हुने इन्धनको भण्डार निर्माण गर्ने । मंगलमा मानव बस्ती बसाउन बारम्बार अन्तरिक्ष यानलाई पृथ्वीमा पठाइरहनुपर्ने हुन्छ । मंगलमा अवतरण गरिसकेको अन्तरिक्ष यानलाई पुनः पृथ्वीमा फर्किनसक्ने प्रविधि भएन भने त्यो ग्रह अन्तरिक्ष यानले भरिन सक्छ । अर्को कुरा एक पटक मंगल गएका मानिसलाई घुमफिर गर्न र अन्य आफन्तसँग भेटघाट गर्न पुनः पृथ्वीमा फर्किनसक्ने परिस्थिति र प्रविधि पनि त चाहियो । यसका लागि मंगलमा इन्धन भण्डार निर्माण अपरिहार्य छ, ताकि त्यो इन्धन भरेर अन्तरिक्ष यान पुनः पृथ्वीमा फर्किंन सकोस् । एलन मस्कका अनुसार यसो गर्न सकेमा मिसनको खर्च थप पाँच गुना कम हुनेछ ।

हुन पनि मंगलमा ‘प्रोपेलेन्ट’ बनाउन बडा अनुकुल माहोल छ । त्यहाँ भरमार कार्वनडाइअक्साइड छ । अनि जमिनमुनिबाट पानी निकाल्न सकिन्छ । अर्थात् ‘सिओटू’ र ‘एचटुओ’ को व्यवस्था मंगलमै छ । यी दुवैको सहयोगबाट ‘ओटू’ (अक्सिजन) र ‘सिएचफोर’ (मिथेन) को निर्माण गर्न सकिन्छ । यी रसायनको उपयोगबाट मंगलमा इन्धनको जोहो गर्न सकिन्छ । मस्कका अनुसार, मिथेन इन्धन अन्तरिक्ष यानका लागि सबैभन्दा उपयुक्त छ, जुन मंगलमा सहजै निर्माण गर्न सकिन्छ ।

पृथ्वीको कक्षमा इन्धन भरिसकेपछि अन्तरिक्ष यान मंगल ग्रहतर्फ हुइकिनेछ । यो यान एउटा निश्चित दूरीमा पुगेपछि स्वतः सौर्य इन्धनबाट सञ्चालन हुनेछ । मंगल ग्रहमा अवतरण गरेर मानिसलाई उतारेपछि प्रोपेलेन्टबाट इन्धन भरेर पुनः यान पृथ्वीतिर फर्कंनेछ । अर्थात् हाम्रा डोमेस्टिक उडान झैं अन्तरिक्ष यान पृथ्वी र मंगलमा मानिस ओसार–पसार गर्दै ओहोर–दोहोर गरिरहनेछ ।

मंगल ग्रहमा जाँदा मंगलको अवस्थितिको पनि हेक्का राख्नुपर्ने हुन्छ । मंगल र पृथ्वीले अलग–अलग गतिमा सूर्यको परिक्रमा गर्ने गर्छन् । तर हरेक २६ महिनामा यस्तो क्षण आउँछ, जब पृथ्वीबाट मंगलमा अन्तरिक्ष यान पठाउन सकिन्छ । यो समय अवधिलाई ‘लन्च विन्डो’ भन्ने गरिन्छ । जब यो क्षण आउँछ, तब पृथ्वीबाट हजारौं अन्तरिक्ष यान एकसाथ मंगलतिर उडान भर्नेछन् । योचाहिँ त्यहाँ मानव वस्ती बसिसकेको अवस्थाको कुरा भयो ।

पहिलो चरणमा १० लाखको बस्ती

एलन मस्क प्रारम्भिक चरणमा मंगलमा करिब १० लाख मानिसहरूको शहर निर्माण गर्न चाहन्छन् । पहिलो यात्रामा अन्तरिक्ष यानले १०० जना मानिस र धेरै सर–सामान लिएर मंगलमा जानेछ । यस हिसाबले १० लाख पुर्‍याउन १० हजार उडान भर्नुपर्नेछ ।

मंगलमा १० लाख मानिस पुर्‍याउन कति समय लाग्ला त ?

‘पहिलो पटकको उडानपछि १० लाख मानिस मंगलमा पुर्‍याउन करिब ४० देखि १०० वर्षसम्मको समय लाग्नेछ’, मस्क भन्छन् ।

सन् २०५० सम्म मंगलमा आत्मनिर्भर मानव बस्ती बसाउने योजनामा एलन सफल होलान्न/होलान्, त्यो भविष्यले बताउला । तर, मिसनका हालसम्मका प्रक्रियामा उनले सफलता हासिल गरेकाले आशा गर्ने प्रशस्त ठाउँ छन्

स्पेश एक्सले भविष्यमा यस्तो रकेटको डिजाइन पनि गर्दैछ, जसले धेरै भार उठाउन सकोस् । यसो भएमा ठूलै आकारका अन्तरिक्ष यानमा चार–पाँच सय मानिसलाई पनि राखेर अन्तरिक्ष हुँदै मंगलसम्म लैजान सकिने सम्भावना छ । मस्कले पुनप्रयोग रकेटमा त सफलता पाइसकेका छन् । अब अन्तरिक्ष यान पनि निर्माण भइसकेको छ, जसको नाम हो, ‘स्टार सिप ।’

सन् २०२० मा ‘स्टार सिप’ अन्तरिक्ष यानको धेरै परीक्षण उडान गरियो, त्यसमा सफलता पनि प्राप्त भयो । तर, मंगल ग्रहसम्म लैजाने अन्तरिक्ष यानका लागि ‘स्टार सिप’को डिजाइन र इन्जिनमा धेरै पविर्तनहरू गरिँदैछ र यसका अन्य परीक्षण उडान बाँकी नै छ ।

मानव बस्नलायक बनाउने उपाय

आखिर मंगललाई मानिस बस्न लायकचाहिँ कसरी बनाइने छ त ?

एलन मस्कले मंगलमा ‘टेराफार्म’को अवधारणा अघि सारेका छन् । अर्थात् कुनै पनि ग्रहको बातावरणलाई मानिस बस्नलायक बनाउने । यसका लागि चिसो मंगललाई हल्का तातो बनाउनुपर्छ । त्यसका लागि मस्कले मंगलमा परमाणु बम विष्फोट गर्नुपर्ने अवधारणा अघि सारेका छन् ।

यो सूत्रअनुसार मंगलको धु्रवीय तटमा परमाणु बम विष्फोट गरेपछि बरफ पग्लिएर त्यहाँको कार्वनडाइअक्साइड ग्रहको सतहमा आउनेछ, अक्सिजन पनि निस्कँनेछ र हरित गृह प्रभाव देखिनेछ । अनि मंगलमा गर्मी पैदा हुनेछ ।

एलनको यस्तो अवधारणाको आलोचना भयो । अचेल उनी मंगलमा परमाणु विष्फोटको कुरा गर्न छाडेका छन् । केही समयअघि उनले आफ्नो ट्विटर ह्याण्डिलमा लेखे अनुसार मंगलमा मानव वस्ती सुरुमा ‘ग्लास डोम’ (सिसाको भवन) भित्र बसाइनेछ । त्यसपछि मंगललाई टेराफार्म गरिनेछ, जसबाट सो ग्रहले पृथ्वीमा जस्तै जीवनलाई सहज बनाओस् ।

जे होस्, मस्कको सपना छ, सन् २०५० सम्म मंगलमा आत्मनिर्भर मानव बस्ती तयार गर्ने । उनी यसमा सफल होलान्, नहोलान्, त्यो भविष्यले बताउला । तर, यो मिसनका हालसम्मका प्रक्रियामा चाहिँ उनले सफलता हासिल गरेकाले आशा गर्न सकिने ठाउँ प्रशस्त छ ।