NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
स्थानीय निर्वाचन विशेष

बुटवल उपमहानगर : एमालेका मेयरसँग अपेक्षा धेरै, काम भने कम

काठमाडौं । चुरे पहाडको काखमा र तराईको सङ्गमस्थल बुटवल पश्चिम नेपालकै व्यापारिक र शैक्षिक केन्द्र हो । यो सहर राजनीति र परिवर्तनको आन्दोलनका लागि पनि चर्चित छ । बुटवललाई लुम्बिनी प्रदेशको राजनीतिको केन्द्रका रूपमा लिइन्छ । त्यसैले बुटवल उपमहानगरपालिकाको नेतृत्व हत्याउन दलहरू सक्रिय भएका छन् ।

२०१६ सालमा बुटवल खस्यौली नगरपालिका स्थापना भएपछि हालसम्म १३ जनाले यस नगरपालिकाको नेतृत्व गरिसकेका छन् । २०१७ मा बहुदलीय व्यवस्था विघटन भएपछि बुटवल खस्यौली नगर पञ्चायतका रूपमा रहेको थियो । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि यसको नाम बुटवल नगरपालिका राखिएको थियो । बुटवल २०७१ सालमा उपमहानगरपालिमा बनेको हो । मुलुक संघीयतामा गएपछि पहिलोपटक २०७४ साल भएको निर्वाचनमा मेयरमा एमालेका शिवराज सुवेदी विजयी भए ।

एमालेका तत्कालीन जिल्ला अध्यक्ष सुवेदी कांग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवार खेलराज पाण्डेयलाई पराजित गर्दै मेयर बनेका थिए । एमालेको बलियो साङ्गठनिक आधार रहेको बुटवलमा सुवेदीले २३ हजार दुई सय ४९ ल्याएका थिए । गठबन्धनका उम्मेदवार पाण्डेयले २० हजार आठ सय ५१ मत मात्रै पाए । सुवेदीले आफ्नो कार्यकाल उत्तराद्र्धमा पुग्दा चुनावका बेला गरिएका प्रतिबद्धता भने पूरा गर्न सकेनन् ।

प्रतिबद्धता जनाएका, तर पूरा नभएका काम

बुटवलमा स्थायी फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने सुवेदीले घोषणापत्रमै उल्लेख गरेका थिए । तर, त्यो पाँच वर्षमा पनि पूरा हुन सकेन । सुरुदेखि अहिलेसम्म तिनाउ नदीछेउमा फोहोर डम्पिङ भइरहेको छ । स्वच्छ खानेपानीको सहज व्यवस्थापन गर्ने भनिए पनि झुम्साखोला खानेपानी आयोजना नारामै सीमित भएको छ ।

तयारी नहुँदै उद्घाटन गरिएको नन्दिनी गौशाला अझै पूरा भएको छैन । अव्यवस्थित तथा सुकुमबासी व्यवस्थापन गर्न पुर्जा वितरण गर्ने घोषणा पनि नारामै सीमित भएको छ ।

गाडी पार्किङ र अटोरिक्साको व्यवस्थापन नहुँदा बुटवलको ट्राफिक व्यवस्थापन भद्रगोल बन्दै गएको छ । मैनाबगरमा पूर्वाधार नबन्दा नमुना अटो भिलेज पनि अस्तव्यस्त भएको छ । तयारी नहुँदै उद्घाटन गरिएको नन्दिनी गौशाला अझै पूरा भएको छैन । अव्यवस्थित तथा सुकुमबासी व्यवस्थापन गर्न पुर्जा वितरण गर्ने घोषणा पनि नारामै सीमित भएको छ । स्मार्ट सिटी बनाउने प्रतिबद्धता पनि कागजमै सीमित भएको छ ।
चुरेको संरक्षण गर्न पनि पहल नगरेको मेयर सुवेदीमाथि आरोप लागेको छ । चुनावअघि नै सुरु भएको पशु वधशाला निर्माणको काम अहिलेसम्म सकिएको छैन । मुख्य राजमार्ग तथा भित्री सडक समयमै निर्माण पूरा नहुँदा अस्तव्यस्त बनेका छन् । जसका कारण वातावरणीय प्रदूषण हुँदा यात्रुले सास्ती पाउनुपरेको छ । सबै सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा लागू गर्ने प्रतिबद्धता पनि पूरा हुन सकेन । बुटवलको पहिचान दिने र झल्को मेटाउने पर्यटकीय केन्द्र बनाउने भनिए पनि काम सुरु हुन सकेन ।

मेयरका राम्रा काम
– भूमि व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणको लगत संकलन तथा प्रक्रिया सुरु
– सहरी कृषि प्रवद्र्धन, फसल धितो राखेर अनुदान कार्यक्रम
– अल्पसंख्यकको उत्थान, ज्येष्ठ नागरिकलाई मिलन केन्द्र, युवालाई सीप र इलम
– बुटवल उपमहानगर र चीनको सियानसँग भगिनी सम्बन्ध कायम
– निर्माण सामग्रीको गुणस्तर जाँच्ने आफ्नै प्रयोगशाला
– डिजिटल बुटवल : सबै घरको डिजिटल नम्बर, पञ्जीकरण पनि डिजिटलमा
– कोरोना महामारीमा जनताको मन जित्ने काम
– टोलटोलमा शिविरमार्फत स्वास्थ्य सेवा विस्तार
– स्वास्थ्य संस्थामा आधुनिक ल्याबको प्रबन्ध र निःशुल्क परीक्षण
– ज्येष्ठ नागरिकको घरदैलोमै निःशुल्क घुम्ती सेवा र निःशुल्क औषधि
– उपप्रमुख महिला उद्यमशीलता कार्यक्रममार्फत महिलालाई उद्यमी बनाइँदै
– मेयर युवा इलम कार्यक्रम
– वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन जग्गा र सहजीकरण
– बीटीआईमा प्राविधिक उच्च शिक्षाको पठनपाठन
– राजमार्गमा ट्राफिक आइल्यान्ड, स्मार्ट प्रतीक्षालय र सार्वजनिक शौचालय
– पार्कहरूको विस्तार र पर्यावरणमैत्री पिकनिक स्पट
– बौठलिया कपरकट्टी तालको संरक्षण, विस्तार र नौका विहार सञ्चालन
– थारू सांस्कृतिक सङ्ग्रहालय निर्माण
– बटौली जितगढी युद्ध सङ्ग्रहालय निर्माण
– नेपाल–अङ्ग्रेज युद्धमा विजय भएको मिति तय, विजय उत्सव मनाउन थालनी
– नगरका बासिन्दालाई राजस्वमा छुट
– मुलुककै पहिलो नमुना ढुवानी ग्राम निर्माण
– बटौली चिनाउने स्थानीय पाठ्यक्रम निर्माण

लुम्बिनी प्रदेशको मुकाम र रुपन्देहीको पुरानो बजार बुटवलको विकासका लागि यहाँका बासिन्दाले ठूलो अपेक्षा गरेका थिए । सङ्घीय सरकारको योजनामा बुटवलको पहिचान थप्ने गरी केही ठूला परियोजना पनि सुरु भएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल निर्माणको चरणमा छन् । झन्डै तीन अर्बका यी आयोजनाले बुटवलको पहिचान थप्नेछन् । एमालेको वर्चस्व भएको बुटवलमा नागरिकले सतहमा देख्ने गरी राम्रा काम धेरै भएनन्, तर दीर्घकालीन सुधारका कामको सुरुवात भने भएको छ । तर, त्यसका लागि स्थानीय सरकारको योगदान भने कम छ । साढे दुई अर्ब हाराहारी बजेट भएको बुटवल उपमहानगरले शिक्षा र स्वास्थ्यमा भने बढी लगानी गर्ने गरेको छ ।

अझै धेरै गर्न पाए हुन्थ्यो भन्ने लागे पनि सीमित साधन–स्रोतका कारण अपेक्षित काम गर्न सकिएको छैन ।

मेयर–उममेयर सम्बन्ध

मेयर शिवराज सुवेदी र उपमेयर गुमादेवी आचार्य दुवै एमालेबाट निर्वाचित भएका हुन् । उनीहरूबीचको विवाद सतहमा नदेखिए पनि उपमेयरले आफू अन्यायमा परेको गुनासो धेरैपटक गर्ने गरेकी छिन्, तर बाहिर खुलेर बोल्न सकेकी छैनन् । पार्टी एउटै भएकाले पनि त्यो समस्या देखिन्छ । निर्णय प्रक्रिया, सहभागिता, अपनत्वमा उपमेयरले विभेद भएको आफूनिकटलाई भन्ने गरेकी छिन् ।

मेयर भन्छन्– स्रोत अभावमा अपेक्षाअनुसार काम गर्न सकिनँ

भनेअनुसारको काम गर्न नसके पनि उपमहानगरका मेयर र उपमेयर आफ्ना कामप्रति सन्तुष्ट देखिएका छन् । नागरिकका अपेक्षा धेरै र स्रोत–साधन कम रहेकाले सोचेअनुसार काम गर्न नसकेको उनीहरूको भनाइ छ । मेयर सुवेदी भन्छन्, ‘अझै धेरै गर्न पाए हुन्थ्यो भन्ने लागे पनि सीमित साधन–स्रोतका कारण अपेक्षित काम गर्न सकिएको छैन ।’

उपमहानगरपालिकामा सुशासनमा भने केही सुधार भएको नगरका बासिन्दाको बुझाइ छ । प्रविधिमैत्री तथा आन्तरिक सुशासनलाई ध्यान दिएकै कारण प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उपमहानगर स्थानीय कार्यसम्पादन सूचकमा ६६.०३ अंक ल्याएर जिल्लामा पहिलो सूचीमा परेको छ ।
लामो समय कर्मचारीबाट काम भएका कारण धेरै अपेक्षा भएकाले सबै पूरा गर्न नसकेको उपमेयर आचार्यको भनाइ छ । प्रदेश मुकाम भएकाले धेरै ठूला योजनामा प्रदेशको समन्वय भए पनि प्रभावकारी काम भने भएनन् ।

विपक्षीको नजरमा नगरको काम

मेयर–उपमेयर आफ्ना कामबाट खुसी भए पनि विपक्षी दल नगरको काम गराइबाट सन्तुष्ट हुन सकेका छैनन् । कांग्रेसका बुटवल सभापति खेलराज पाण्डे अहिलेको नेतृत्वले नागरिकलाई फाइदा हुने, राहत हुने र सुशासन पाउने केही पनि काम गर्न नसकेको आरोप लगाउँछन् । ‘अहिलेको नेतृत्व आएपछि व्यवस्थित विकास हुन सकेन, बुटवल भन्न लायक भएन,’ पाण्डे भन्छन्, ‘विपक्षी दललाई वास्ता गरिएन, बुटवलको नमुना विकासलाई रोक्ने काम भयो, बुटवलवासी भन्न पनि लाज भयो ।’

माओवादी केन्द्रका नेता मनोज रानाले पनि अहिलेको नेतृत्वले उल्लेख्य काम गर्न नसकेको टिप्पणी गरे । ‘अहिलेको नगरको नेतृत्वले पार्टी पक्षधरका आधारमा बजेट बनाएको छ,’ रानाले भने, ‘घोषणा गरेका धेरै काम पूरा गर्न सकेको छैन । सुरु भएका काम अलपत्र छाडेको छ ।’
पूर्व नगरप्रमुख तथा राप्रपाका नेता पुनाराम पोखरेलले बुटवलमा केही सकारात्मक कामको थालनी भए पनि धेरै काम पूरा हुन बाँकी रहेको बताए । उनले विगतको नेतृत्वको योगदानलाई आत्मसात् गरेर काम नभएको गुनासो गर्दछन् ।

पौडेलको प्रभाव

बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र हो । बुटवलबाट एमाले उपाध्यक्ष पौडेलले २०६४, ०७० र ०७४ सालको निर्वाचनमा लगातार भारी मतका साथ निर्वाचित भएर ‘ह्याट्रिक’ गरेकाले एमालेले आफ्नो बलियो आधार क्षेत्र मान्ने गरेको छ । पौडेलको केन्द्रमा राम्रो प्रभाव भएको र आफू अर्थमन्त्री हुँदा बुटबललाई प्राथमिकता दिएकोले पनि बुटबलमा पौडेलको राम्रो प्रभाव देखिन्छ ।