NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली

म्याग्दी । पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पुर्‍याएको थियो ।

धवलागिरि गाउँपालिकाको नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । ‘कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेको छ,’ उनले भने, ‘पहिराले क्षति पुगेको पाइप परिवर्तन गरेर परियोजना सञ्चालन गरिएको हो ।’

बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताए । २०७३ सालमा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पुर्‍याएपछि बन्द भएको थियो ।

यसैगरी धवलागिरि गाउँपालिका-२ लुलाङस्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा भदौ २० गते दरखोलामा आएको बाढीले विद्युत् गृह, बाँध र नहर बगाएर बन्द भएपछि पुनः निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको २२ लाख सहयोगमा उक्त परियोजना मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताए । खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएका कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सीमित भएको छ ।

सो परियोजनाबाट उत्पादीत विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् । सो आयोजनाको मुहानमा २५ मिटर कुलो र विद्युत् गृहको नयाँ भवन निर्माण भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष