NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राजालाई पनि आयो गणतन्त्र, मर्यादाक्रममा पूर्व राष्ट्रपति सरहको हैसियत

काठमाडौं । गणतन्त्र आएको १५ बर्षपछि सरकारले पूर्व राजालाई समेत सम्बोधन गर्ने गरी मर्यादाक्रमको मस्यौदा गरेको छ । यसअघिको मर्यादाक्रममा पूर्व राजा र राजपरिवारका सदस्यलाई सम्बोधन गरिएको थिएन ।
गृह मन्त्रालयले तयार पारेको मर्यादाक्रमको मस्यौदामा पूर्व राजालाई छैठौँ नम्बरमा राखिएको छ । यो सुचीमा पूर्व राष्ट्रपति लगत्तै पूर्व राजालाई राखिएको छ । प्रस्तावित मर्यादाक्रमअनुसार पूर्व राष्ट्रपति, पूर्व राजा, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्ति्रपरिषद्का पूर्व अध्यक्ष, प्रदेश प्रमुख रहने छन् ।
प्रस्तावित मर्यादाक्रम मनि्त्रपरिषद्ले स्वीकृत गरेमा अब पूर्व राजाले पनि पूर्व राष्ट्र प्रमुखसरहको मर्यादा पाउने छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पहिलो पटक पूर्व राजालाई सम्मानित मर्यादाक्रम दिन लागेको हो । यो मर्यादाक्रम स्वीकृत भएमा सार्वजनिक समारोहमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल भन्दा पूर्व राजा ज्ञानेन्द्र शाह अघि रहनेछन् ।
हालै तयार भएको नयाँ मर्यादाक्रमअनुसार पूर्वराजालाई छैठौँ नम्बरमा राखिएको छ ।
राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणासँगै मर्यादाक्रमबाट पूर्व राजाको नाम पनि हटाइएको थियो । तर, एकाएक गृह मन्त्रालयले फेरि पूर्व राजाको पनि स्थान रहनेगरी मस्यौदा तयार पारेको हो ।
यसअघि सरकारले तयार गरेको २०७४ सालको मर्यादाक्रममा स्थानीय जनप्रतिनिधिलाई तल्लो मर्यादाक्रममा राखिएको भन्दै विवाद भएपछि २०७५ मा नयाँ मर्यादाक्रम सार्वजनिक गरेको थियो । जसमा पूर्वराजालाई समावेश गरिएको थिएन ।
नयाँ मर्यादाक्रमअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । त्यस्तै, चौथो नम्बरमा प्रधानन्यायाधीश र पाचौं नम्बरमा प्रतिनिधि सभाका सभामुख, राषि्ट्रय सभाका अध्यक्ष रहेका छन् ।
छैठौँ नम्बरमा पूर्व राष्ट्रपतिपछि पूर्व राजालाई राखिएको हो । यस्तै सातौ नम्बरमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य मन्त्री लगायत छन् ।