NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

धादिङका ११ स्थानीय तहमा एमालेलाई बिरासत जोगाउनै मुस्किल

काठमाडौँ । ठीक एक महिनापछि देशभर एकै साथ स्थानीय तह निर्वाचन सम्पन्न हुँदैछ । ७ सय ५३ स्थानीय तहको प्रतिनिधि छनौटका लागिहुने निर्वाचनमा सत्तारुढ दलहरूवीच तालमेल हुनेछ । आगामी स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशभरी गठबन्धनको सामना गर्नुपर्ने भएको छ । संविधानको धारा ७६ को उपधाार ५ बमोजिम सर्वोच्चको परमादेशबाट प्रतिपक्षमा पुगेको एमालेलाई पार्टी विभाजनसँगै एक्लै गठबन्धनविरुद्ध भिड्दा चुनावी परिणाम निराशाजनक हुनसक्ने आँकडाले देखाएको छ ।

गत निर्वाचनमा २ सय ९५ स्थानीय तहको प्रमुखमा जितेको एमालेलाई यसपटक अघिल्लो विरासत जोगाउ नै मुस्किल छ । त्यसका लागि गत निर्वाचनमा दलहरूले प्राप्त गरेको अंक गणितसहितको हेर्नुपर्ने हुन्छ ।

०७४ को स्थानीय निर्वाचनमा धादिङका दुई नगरपालिकासहित १३ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा नेकपा एमाले एक्लै जितेको थियो । दुई नगरपालिकामध्ये निलकण्ठमा कांग्रेस र धुनिबेशीमा एमाले निर्वाचित भयो ।

माओवादीको सहायतामा दुई स्थानीय तहमा कांग्रेस विजयी भएको थियो । एक स्थानीय तहमा कांग्रेसको सहायतामा माओवादी केन्द्र विजयी भयो । सबै भन्दा दुर्गम रुबी भ्याली गाउँपालिकामा भने एक्ला–एक्लै भएको प्रतिस्पर्धामा राप्रपा विजयी भएको थियो ।

यसपटक कस्तो परिणाम आउला ?

खनियाबास गाउँपालिकामा गत निर्वाचनमा खसेकोमध्ये ४ हजार २ सय ९६ मत सदर भएको थियो । कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भए । उक्त गाउँपालिकामा कांग्रेसको जनमत अरूमा भन्दा निकै राम्रो छ । बाँकी तीन पार्टीहरू, एमाले, माओवादी केन्द्र र राप्रपाको बराबर जस्तै मत छ । एमाले विभाजित भएको अवस्थामा यसपाली गठबन्धन दल सजिलै विजयी हुने देखिन्छ । पाँच वर्षामा नयाँ मतदाता थपिएको र गत वर्ष पालिमामा भएको काम, योजना र उम्मेदवारको लोकप्रियताले समेत मतदाता प्रभावित पार्न सक्छ ।

ज्वालामुखी गाउँपालिका

१२ हजार मतदाता रहेको ज्वालामुखी गाउँपालिकामा एक्ला–एक्लै चुनावमा जाँदा एमालेको जनमत बलियो देखिन्छ ।

 

 

 

 

 

 

 

 

एमालेले सुरक्षित ठानेका ज्वालामुखीमा गत निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रवीच तालमेल भएको थियो । तालमेल हुँदा माओवादीको गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

तर उपाध्यक्षमा कांग्रेसले अन्तर्घात गर्दा माओवादीका उम्मेदवार पराजित भए । त्यसको फाइदा एमालेले लियो ।

एमाले विरुद्ध दुई पार्टीले गठबन्धन गर्दा पनि कांग्रेस उम्मेदवार झिनो मतले मात्र विजयी भएका थिए । तर यसपटक एमाले विभाजित भएर निर्वाचनमा जाँदैछ ।

यस गाउँपालिकामा विभाजनपछि नेकपा एसमा कति कार्यकर्ता गए भन्ने कुराले चुनावी परिणाम निर्भर गर्छ । यदि एमालेले सत्ता गठबन्धन विरुद्ध राप्रपासँग गठबन्धन गरेमा भने खनियावासमा एमाले विजयी हुने सम्भावना देखिन्छ ।

तर थपिएका नयाँ मतदाताले कसलाई मत दिन्छन् भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ ।

 

त्रिपुरासुन्दरी गाउँपालिका

यस गाउँपालिकामा गत निर्वाचनमा एमालेले जितेको थियो । एमाले र कांग्रेसले पाएको मत अन्तर निकै कम थियो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गरेको थियो । तर यसपटक सत्ता गठबन्धनका सामु एमालेलाई साख जोगाउन मुस्किल छ ।

एमालेले गठबन्धन गर्न खोजेको राप्रपासँग करिब ९ सय ७ मतमात्र छ । माओवादी केन्द्रसँग ३ हजार २ सय ३८ मत छ । थपिएका नयाँ मतदाताको रोजाई, एमाले विभाजन अबको निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिकाको मुख्य निर्णयक कारण बन्नेछ । पुरानो अंक गणितका आधारमा गठबन्धन दलका उम्मेदवार विजयी हुने हिसाब देखिएपनि यहाँ एमाले विजयी हुने सम्भावना भएको स्थानीय तह हो ।

थाँक्रे गाउँपालिका

धादिङको दक्षिण भाग एमालेको पकड क्षेत्र हो । अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले एमाले विरुद्ध गठबन्धन गरेका थिए । तर झण्डै दुई हजार मत अन्तरले एमालेका उम्मेदवार विजयी भएका थिए ।

यसपटक पनि सत्ता गठबन्धनविरुद्ध एमालेले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अघिल्लो अंक गणितमा एमालेको पक्षमा बलियो जनमत देखिएपछि पार्टी विभाजनको असरले यो स्थानीय तहमा एमालेको भविष्य निर्धारण गर्छ ।

धादिङका प्रभावशाली जिल्ला नेताहरु पार्टी विभाजनपछि नेकपा एसमा आवद्ध भएका छन् । त्यसको प्रभाव यस स्थानीय तहमा नपरेको एमालेको दावी छ । पार्टी विभाजनको मनोविज्ञान कार्यकर्ता तहमा पुगे एमालेले विरासत जोगाउन मुस्किल पर्न सक्छ । अन्यथा गठबन्धन मिल्दा पनि एमाले विजयी हुने सम्भावना भएको स्थानीय तह हो ।

गल्छी गाउँपालिका

०७४ मा एमालेले बाजी मारेको गल्छी गाउँपालिकामा यसपटक चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले एमालेविरुद्ध मोर्चाबन्दी गरेका थिए । तर कांग्रेस कार्यकर्ताले माओवादीका उम्मेदवारलाई धोका दिए ।

चुनावी नतिजा हेर्दा अध्यक्षमा माओवादी कार्यकर्ताले कांग्रेसका उम्मेदवारलाई मत दिएका थिए । माओवादीतर्फ परेको उपाध्यक्षलाई कांग्रेसका मतदाताले मत दिएनन् । कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारवीचको मत अन्तर झण्डै दुई हजार भन्दा बढी थियो । अघिल्लो पटक धोका दिएका कांग्रेस कार्यकर्ताले फेरि पनि माओवादी उम्मेदवारलाई धोका दिने सम्भावना उत्तिकै रहन्छ ।

विभाजित कार्यकर्ताको मनोविज्ञाको आधारमा गल्छिमा एमाले र गठबन्धनको उम्मेदवारको जितको टुंगो लाग्नेछ । यस्तै थपिएका नयाँ मतदाताले कुन दल रोज्छ भन्ने कुराले पनि परिणाम फरक पार्छ ।

गजुरी गाउँपालिका

गजुरी गाउँपालिकामा गत निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रले संयुक्त गठबन्धन गरे । तर एमालेका उम्मेदवार विजयी भए । यस पटक एमालेबाट विभाजित भएको एकीकृत समाजवादीका कार्यकर्ताहरू पनि सत्ता गठबन्धनका रूपमा संगै हुनेछन् ।

यदि एकीकृत समाजवादीले एमालेको साविकको मत टुक्याउन सके गठबन्धनका उम्मेदवार गजुरीमा विजयी हुने सम्भावना रहन्छ । अन्यथा गजुरीमा गठबन्धनका बाबजुद पनि नेकपा एमाले नै बलियो देखिन्छ ।

रुबीभ्याली गाउँपालिका

धादिङको दुर्गम स्थानीय तह रुबीभ्याली गाउँपालिका यसअघि राप्रपा एक्लै विजयी भएको स्थानीय तह हो । त्यहाँ राप्रपा भन्दा कांग्रेस, एमाले र माओवादी केन्द्रको उपस्थिती कमजोर छ । राप्रपाका उम्मेदवार एक हजार ४ सय ८७ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवारले ९ सय ५३ मत पाएका थिए ।

सत्ता गठबन्धनका साझा उम्मेदवारवीच प्रतिस्पर्धा हुँदा पनि रुवीभ्यालीमा राप्रपा नै बलियो देखिन्छ । यस्तै सत्ता गठबन्धनविरुद्ध एमालेले राप्रपाको साथ खोजिरहेको छ । यी दुई पार्टीवीच गठबन्धन भए रुबी भ्यालीमा सत्ता गठबन्धन विजयी हुन असम्भव छ ।

सिद्धलेक गाउँपालिका

अघिल्लो निर्वाचनमा यो गाउँपालिकाबाट एमालेका उम्मेदवार निकटम प्रतिस्पर्धी भन्दा दुई हजार बढी मत ल्याएर विजयी भएका थिए । एमाले विरुद्ध कांग्रेस र माओवादी केन्द्र एक्ला–एक्लै प्रतिस्पर्धामा थिए ।

यसपटक सत्ता गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र सँगै छन् । त्यसमा एमालेबाट विभाजित नेकपा एससमेत सामेल छ । तर पनि अघिल्लो अंक गणितका आधारमा हेर्दा एमाले नै बलियो देखिन्छ ।

कांग्रेस र माओवादी केन्द्रले पाएको भोट जोड्दा पनि एमालेले एक्लै प्राप्त गरेको मत बढी छ । एकीकृत समाजवादीले एमालेको प्रयाप्त मत काट्न नसकेमा सिद्धलेकमा फेरि पनि एमालेले बाजी मार्ने सम्भावना छ ।

बेनीघाट रोराङ गाउँपालिका

अघिल्लो निर्वाचनमा कांग्रेसको साथमा माओवादी केन्द्र विजयी भएको एक मात्र स्थानीय तह हो, बेनीघाट रोराङ गाउँपालिका । गठबन्धन गर्दा एक हजार मतान्तरले गठबन्धन उम्मेदवार विजयी भएको थियो । यसपटक पनि एमाले एकातिर र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धन अर्कोतर्फ चुनावमा होमिदै छन् ।

यो गाउँपालिका अध्यक्ष हरी डल्लाकोटी आफैँ माओवादी केन्द्रसँग सन्तुष्ट छैनन् । त्यसको असर निर्वाचन परिणाममा पर्न सक्छ । तर एमाले विभाजित भएकाले त्यसको फाइदा कांग्रेसलाई जान सक्छ ।

गंगाजमुना गाउँपालिका

गत निर्वाचनमा विजयी बनेको एमालेलाई यसपाली गंगा जमुनामा आफ्नो विरासत जोगाउन मुस्किल छ । किनभने अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्ला–एक्लै मैदानमा थिए ।

यसपटक कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी एमालेविरुद्धको मोर्चामा एकजुट भएका छन् । यसअघि एक्ला–एक्लै हुँदा जितेको एमालेलाई गठबन्धनका उम्मेदवार हजार फलामको चिउरा सरह हुनेछ ।

नेत्रावती गाउँपालिका

गत निर्वाचनमा यस गाउँपालिकामा एमाले, कांग्रेस र माओवादी एक्ला–एक्लै भिडेका थिए । अध्यक्षमा एमाले विजयी भएका थिए । उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । एमालेका उम्मेदवारले १६ सय ४६ मत ल्याउँदा कांग्रेस र माओवादी केन्द्रले हाराहारीमा मत ल्याएका थिए ।

यो गाउँपालिकामा एमालेले थोरै मातान्तरले जितेको थियो । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रले १५ सय ४२ मत ल्याएर विजयी भएको थियो । एमाले तेस्रो स्थानमा पुगेको थियो । यसपटक गठबन्धन भएकाले एमालेले जित्न सक्ने अवस्था छैन ।