नौ वर्षअघि मृत्यु दर्ता गराएको नाम पनि मतदाता सूचीमा !

काठमाडौं । सिरहाको लहान नगरपालिका–७ कि निर्मलादेवी श्रेष्ठको ६७ वर्षको उमेरमा ८ वैशाख ०७० मा मृत्यु भयो । कान्छो छोरा रवीन्द्रकुमारले २४ वैशाखमा मृत्यु दर्ता गरे । तर नौ वर्ष बित्दा पनि निर्मलादेवीका नाम मतदाता सूचीमै छ ।
‘नौ वर्षअघि निधन हुनुभएकी मेरी आमाको नाम ०७४ को स्थानीय, प्रदेश र संघको निर्वाचनमा पनि मतदाताको सूचीमा थियो,’ रवीन्द्रकुमारले भने, ‘आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन आयोगले जारी गरेको मतदाता सूचीमा पनि नाम रहेछ ।’
निर्मलादेवीको नाम लहान नगरपालिका–७, पशुपति आदर्श माध्यमिक विद्यालयमा मतदान केन्द्रको सि.नं. ५२० मा छ । उनको मतदाता नम्बर १८६०५०२ हो ।
निर्मलाका पति शेरबहादुरको पनि ७ मंसिसरमा मृत्यु भयो । परिवारले ६ फागुनमा मृत्यु दर्ता प्रमाणपत्र लियो । साढे ६ वर्ष बितिसक्दा पनि उनको नाम मतदाता सूचीबाट हटाइएको छैन । पशुपति आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रको सि.नं. १५२३ मा शेरबहादुरको नाम देखिन्छ ।
नयाँ पत्रिका दैनिकका अनुसार, स्थानीय तह र निर्वाचन आयोगको लापरबाहीले मृत्यु दर्ता भएकासहित करिब अढाइ लाख गैरमतदाता पनि सूचीमा समेटिएको पाइएको छ । यसले मत दुरूपयोगको जोखिम बढाएको छ ।
प्रतिक्रिया