NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विद्यासुन्दरबाट अपहरित सपनाहरू

काठमाडौँ । ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा शक्तिशाली स्थानीय तह हो, काठमाडौ महानगरपालिका । अधिकार, स्रोत साधन र सामथ्र्य, सबै हिसाबले काठमाडौं सबल छ ।

काठमाडौ महानगरको नेतृत्वमा पुग्न अघिल्लो निर्वाचनमा उम्मेदवारहरुले अनेकौँ आकर्षक योजनाहरु अघि सारेका थिए ।

खुल्ला क्षेत्रलाई व्यवस्थित गरेर बालबालिकाको खेल मैदान बनाउने देखि मेट्रो रेल, स्मार्ट यातायात, मोनो रेल र मेट्रो रेलसम्मका कुरा भए । त्यसमध्ये काठमाडौँमा केबुलकार, मेट्रो रेल, मोनो रेलको सपना बाँड्ने उम्मेदवार विजयी भए ।

तर पाँच बर्षमा न मेट्रो रेल आयो, न त मोनो रेल नै । हेरौँ अघिल्लो स्थानीय निर्वाचनमा विजयी भएका एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यका एजेण्डाहरु ।

मेट्रो रेल, मोनो रेल र स्मार्ट यातायात

महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना शाक्यले महानगरबासीसमक्ष प्रस्तुत गरेका थिए । आफूले जितेमा ३ वर्षभित्र महानगरको चक्रपथभित्र मोनो रेल सञ्चालन गर्ने योजना सुनाएका थिए ।

राजधानीमा मेट्रो रेल सञ्चालनका लागि आफूले जित्नेवित्तिकै डीपीआर तयार पार्ने र दुई वर्षभित्र मेट्रो रेल निर्माण गरिसक्ने महत्वाकांक्षी योजना अघि सारेका थिए ।

तर, विश्वका बिभिन्न देशको भ्रमण गरिसकेका उनले यो योजना महत्वाकांक्षी नभएको बताएका थिए । हामीले गर्न सक्ने योजना हो । गरेर देखाउँछौं, नत्र महानगरबासीले ५ वर्षपछि हामीलाई दण्डित गरे हुन्छ ।

शहरभित्र दिनको २० घण्टा सार्वजनिक यातायात सञ्चालन गर्ने र कुनै पनि स्थानमा ५ मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी सार्वजनिक यातायात व्यवस्था मिलाउने उनको दाबी थियो । साइकल लेन, अपांग मैत्री फुटपाथ र स्मार्ट पार्किङ प्रणालीको भिजन उनले अघि सारेका थिए । ।

सिस्नेरीको पानीः क्लिन द सिटी अभियान

काठमाडौंको खानेपानी समस्या समाधान गर्न उनले मेलम्ची बाहेक सिस्नेरी खानेपानी आयोजना सञ्चालन गर्ने र अन्य स्रोतहरुको व्यवस्थापन गर्ने वृहत्तर योजना सुनाएका थिए । त्यस्तै अहिलेको भवन निर्माण मापदण्ड परिवर्तन गरी उचित क्षतिपूर्तिसहित हाउस पुलिङ एकीकृत बस्ती विकास गर्ने उनको योजना थियो ।

काठमाडौंलाई कसरी स्मार्ट सिटी बनाउने भन्ने योजना उनले लिखितरुपमा नक्सासहित प्रस्तुत गरेका थिए। महानगरको नागरिक भएकोमा गर्व महशुस गराउन महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गरिने उनको घोषणा थियो ।

काठमाडौंको धुँवाधुलो र प्रदुषणबाट पीडित भएका महानगरबासीलाई विद्यासुन्दर शाक्यले आफ्नो योजना यसरी अघि सारेका थिए कि ‘क्लीन द सिटी’ अभियानको थालनी गर्ने घोषणा गरेका थिए ।

नयाँ योजना र कार्यक्रमसहित काठमाडौँलाई धूलो र धुँवामुक्त सुन्दर र व्यवस्थित हरियाली शहर निर्माण गरिनेछ ।

८० वर्ष माथिकालाई १२ हजार भत्ता

एमालेका उम्मेदवार शाक्यले ८० वर्षमाथिका जेष्ठ नागरिकलाई वाषिर्क १२ हजार रुपैयाँ महानगरपालिकाको तर्फबाट अलग्गै जेष्ठ नागरिक भत्ता उपलव्ध गराउने योजना अघि सारेका थिए । त्यस्तै जेष्ठ नागरिक, अपांग र बालवालिकालाई सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न विशेष कार्डको व्यवस्था गर्ने घोषणा गरेका थिए ।

यी सबै सपनाहरु हरण गर्दै विद्या सुन्दर शाक्य मेयरबाट विदा भएका छन् ।