NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

विश्वका यी ५ देशमा महिलालाई दिइन्छ महिनावारीमा विदा

काठमाडौं । महिनावारीका समयमा महिला कर्मचारीलाई विदा दिने कि नदिने भन्ने विषयमा विश्वभर बहस चलिरहेकाे छ । महिनावारी भएका समयमा महिलालाई पेट दुख्ने, हिँड्न गाह्रो हुने र ढाड दुख्ने समस्या देखिने भएकाले यस्तो अवस्थामा काम गर्न सहज नहुने भन्दै विदा दिनुपर्ने माग धेरै महिलाको छ ।

अहिलेसम्म विश्वका ५ देशमा मात्रै महिलालाई महिनावारी भएका बेलामा विदा दिइन्छ । सन् १९४७ मा दोस्रो विश्वयुद्धपछि जापानले नयाँ श्रम कानुनमा महिनावारी विदा पनि समावेश गरेको थियो । त्यस्तै, सन् १९२२ मा सोभियत संघले यसका लागि राष्ट्रिय नीति बनाएको थियो र त्यसयता केही क्षेत्रमा विदा दिइन्छ । साथै सन् १९४८ मा इन्डोनेसियामा पनि महिनावारी विदा सुरु भएको थियो ।

त्यसपछि धेरै देशले महिलालाई काममा हुने समस्यालाई ध्यान दिँदै उनीहरुलाई विदा दिने व्यवस्था गरे । अहिलेसम्म अष्ट्रेलिया, चीन, रुस, ताइवान, बेलायत, दक्षिण कोरियाजस्ता देशले महिनावारीका समयमा विदा दिइरहेका छन् ।

त्यस्तै, भारतको बिहार राज्यमा पनि महिला कर्मचारीलाई महिनावारीका समयमा २ दिन विदा दिन सन् १९९२ देखि नै सुरु गरिएको हो । त्यहाँ महिलाहरुले विदाका लागि हड्ताल गरेपछि उनीहरुले यो अधिकार पाएका थिए । त्यतिवेला लालुप्रसाद यादवको सरकार थियो । यसपछि सन् १९९७ मा मुम्बईमा रहेको कल्चर मेसिनले पनि १ दिन विदा दिन थाल्यो ।

सन् २०२० मा खाना वितरण गर्ने कम्पनी जोमाटोले पिरियड विदा दिने घोषणा गरेको थियो । हाल भारतमा ब्याजु, स्विगी, मातृभूमि, बैजु, वेट एन्ड ड्राई, मगजोर जस्ता १२ कम्पनीले महिलालाई पिरियड विदा दिइरहेका छन् ।

महिनावारी विदाका सम्बन्धमा अष्ट्रेलियाको मेलबर्नमा रहेको भिक्टोरियन वुमेन्स ट्रस्ट र सर्कल इनले सन् २०२१ मा एउटा सर्वेक्षण गरेको थियो । सात सय महिला सहभागी भएकाे उक्त सर्वेक्षणमा ७० प्रतिशत महिलाले महिनावारीको बारेमा आफ्ना प्रबन्धकसँग कुरा गर्न असहज महसुस गरेको पाइएको थियो । त्यसैगरी ८३ प्रतिशत महिलाले महिनावारी भएका वेला राम्राेसँग काम गर्न नसक्ने बताएका थिए ।

यसैबीच, सन् २०२१ मा बेलायतको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गरेको अध्ययनअनुसार रजोनिवृत्तिबाट गुज्रिरहेका महिला कामदारहरू जागिर छोड्न बाध्य भएकाे देखाएकाे थियाे । अध्ययनमा सहभागी २ हजार ४ सय महिलामध्ये २५ प्रतिशतले आफ्नो लक्षण, चेतनाको कमी र सहकर्मीको सहयोगको कमीले जागिर छोड्ने सम्भावना बढेको बताए ।