‘खेताला कैदी’को जेलमै मृत्यु, वास्तविक कैदी विदेशमा

काठमाडौं । बुधबार राति रोल्पा कारागारमा एकजना कैदीले आत्महत्या गरे । घटनाबारे परिवारलाई जानकारी गराउँदा आत्महत्या गरिएका भनिएका विजयविक्रम शाह जेलबाट छुटेर विदेश गइसकेको खुलेपछि प्रहरी अधिकारी रनभुल्लमा परे । थप बुझ्दा पत्ता लाग्यो– कारागारमा विजयविक्रम शाहको नाममा अर्कै व्यक्ति बस्दै आएका थिए । शाहले आफू छुटेर ‘खेताला कैदी’का रूपमा बाँकेका सुन्दर हरिजनलाई आफ्नो सट्टा जेलमा राखेका थिए ।
हरिजनले बुधबार जेलभित्र आत्महत्या गरेपछि घटना उजागर भएको हो । आपराधिक लाभ मुद्दामा जेल परेका सुर्खेत बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय शाह दुई वर्षअघि नै जेलमुक्त भइसकेका थिए भने उनको कैद भुक्तानी भने हरिजनले गर्दै आएका थिए । कारागार प्रशासन र प्रहरीकै मिलेमतोमा यस्तो घटना भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा हरिजनको शव भेटिएको हो । कारागारमा कैदीको संख्या गन्दा नपुगेको र शौचालयको ढोका लामो समयसम्म बन्द रहेको जानकारी पाएपछि ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । ‘घटनाको हामीले अनुसन्धान अघि बढाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले भने, ‘बाँकी विषयमा कारागारले छानबिन गरिरहेको छ ।’
शाहका नाममा जेल सजाय भुक्तान गरिरहेका हरिजनले आत्महत्या गरेपछि कारागार व्यवस्थापन विभागले शुक्रबार छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा कारागार स्थानान्तरणका क्रममा दुई कैदी एक–अर्काको नाममा बस्न थालेका हुन् । हरिजनलाई थोरै कैद सजाय भएकाले उनको नाममा बसेका शाह भने दुई वर्षअघि नै छुटेका थिए । गृह मन्त्रालयले पाएको सूचनाअनुसार शाह पछि भारत पुगेकामा त्यहाँ पनि अपराध गरेर उनी जेलमै छन् ।
घटनाको विषयमा सत्य–तथ्य पत्ता लगाउन निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरिएको विभागका महानिर्देशक वासुदेव घिमिरेले बाए । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
हरिजनको कैद सजाय सकिन तीन महिना बाँकी हुँदा रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । जसले घटना योजनाबद्ध देखिन्छ । ८ मंसिर ०७७ मा बाँकेबाट दुवैजनालाई एकैपटक रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । ‘एक महिनापछि छुट्नुपर्नेलाई किन रोल्पा स्थानान्तरण गरियो, रहस्यमय छ । यसमा जेल प्रशासनको मिलेमतो हुन सक्छ,’ स्रोत भन्छ । सरुवालगत्तै बाँकेको कारागार प्रशासन प्रमुख पनि फेरिएका थिए । नयाँ पत्रिका दैनिकमा सुवास भट्टले खबर लेखेका छन् ।
प्रतिक्रिया