NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चुनावी नतिजालाई लिएर कति उत्साही छ कांग्रेस ?

गठबन्धनप्रति झन् भरोसा र विश्वास बढेको दाबी

काठमाडौं । कांग्रेसले स्थानीय तहको निर्वाचन २०७९ को परिणामलाई उत्साहजनक भनेको छ । २०७४ सालको भन्दा स्थानीयतहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा थप जितेको र प्रभावशाली ठाउँ पनि हात पारेपछि कांग्रेसले नतिजालाई उत्साहजनक भनेको हो ।

२०७४ सालको चुनावमा कांग्रेसले देशभर २६६ प्रमुख\अध्यक्ष, २२३ उपप्रमुख\उपाध्यक्ष, २२८६ वडाध्यक्ष र ८६७९ वडा सदस्य जितेको थियो । तर यसपटक अहिलेसम्म घोषणा भएका ७३० स्थानीय तहमा कांग्रेसले ३२० प्रमुख, २९२ उपप्रमुख जितेको छ । मतगणना जारी नै हुँदा वडाध्यक्ष २५९९ र १० हजार बढी वडा सदस्य जितिसकेको छ । जुन अघिल्लोपटकको निर्वाचनमा भन्दा सबैमा बढी हो ।

२०७४ मा कांग्रेस एमालेभन्दा २८ स्थान कम तहको नेतृत्वमा विजयी भएको थियो । तर यसपटक एमालेले जितेको भन्दा १२० तह बढी कांग्रेसले जितेको छ । एमालेकाे यसपटक दुई सय हाराहारीमा हुने देखिएको छ । प्रतिस्पर्धी एमालेभन्दा निक्कै अघि रहेपछि कांग्रेसले नतिजामा सन्तुष्टि व्यक्त गरेको हो ।

६ महानगरमा एमालेलाई नील बनाएको, ११ उपमहानगरपालिकामा धेरै रोक्न सकिएको, एमालेका महत्वपूर्ण गढहरू भत्काउन सक्नुलाई कांग्रेसले यसपटक सफलता मानेको छ । काभ्रे, धादिङ, इलाम, कास्की जस्ता बलियो पडक भएकै ठाउँमा यसपटक गठबन्धनले एमालेलाई नमिठो झट्का दिएका छन् ।

‘स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक आएको छ । अझ हाम्रो भित्रै अन्तर्घात नभएको भए जित अझै चार सय पालिकाको नेतृत्वसम्म पुग्न सक्थ्यो’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेपालवाचसँग भने, ‘तालमेल धैरै ठाउँमा भएको थिएन । तर पनि समग्रमा नतिजा लयमा गएको छ । चुनावी तयारीमा अझै समय भएको भए नतिजा थप गुणात्मक हुने थियो । अन्तर थप बढ्ने थियो । तर, यो नतिजाबाट हामी उत्साही र सन्तुष्ट छौं ।’

कांग्रेस एक्लैको मात्र नभई सत्ता गठबन्धनकै नतिजा राम्रो आएको महत बताउँछन् । ‘कांग्रेसले मात्रै जितेको छैन । सत्ता गठबन्धनमा आवद्ध दलले पनि राम्रो संख्यामा जितेका छन्’ महतले भने, ‘हामी एमालेभन्दा देशैभर अगाडि रह्यौं । गठबन्धन पनि समग्रमा धेरै अगाडि छ । यसलाई उत्साहजनक मान्नुपर्छ’ महत भन्छन्, ‘केही ठाउँमा गरिएका तालमेल प्रभावकारी नहुँदा अझै राम्रो नतिजा आउनबाट चुकेका छौं । हामी यस्तो पक्षलाई अब सुधार गर्छौ ।’

प्रवक्ता महतले आज दिउसो पत्रकार सम्मेलन गर्दै चुनावी परिणामलाई लिएर कांग्रेस उत्साही भएको घोषणा गर्दैछन् । साथै, स्थानीय तहको निर्वाचन गठबन्धन कायमै राखेर अघि बढ्ने भन्दै मिलेर जाने अवस्था बनेको घोषणा गर्ने तयारी गरेका छन् ।

गठबन्धनलाई सहज

नेता महतका अनुसार स्थानीय तहको चुनावले सत्ता गठबन्धनलाई पनि सहजता थपेको छ ।

‘हामीले गठबन्धनप्रति इमान्दारिता देखाएका थियौं । गठबन्धनले पनि सहयोग गरेको हो’ महत भन्छन्, ‘हामी अब लगत्तै अर्को चुनावी तयारीमा लाग्नुपर्ने अवस्था छ । चुनावी तालमेलका समझदारी अनुसार गठबन्धनको विश्वास कमजोर भएको छैन । हामीले पनि गरेका छैनौं । बरु विश्वासलाई बढाएको छ । आउने निर्वाचननमा पनि तालमेल गरेर जाने वातावरण निर्वाचनले बनाएको छ ।’

गठबन्धनमा आवद्ध माओवादी केन्द्रले पनि १२० सिट बढाएको जुन अघिल्लो निर्वाचनको भन्दा १५ सिटले बढी हो । त्यसैले गठबन्धन दल मिलेर चुनाव लड्दा आफूलाई पनि फाइदा भएको बुझाई माओवादीको छ ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अपेक्षा गरेको जति नतिजा ल्याएको छैन । तर पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिको नेतृत्व हत्याएपछि उसका लागि पनि सन्तुष्टि व्यक्त गर्ने ठाउँ रहेको भन्दै समाजवादीलाई गठबन्धनले मनाउने प्रयास गर्दैछ । नयाँ जन्मेको पार्टीले १७ स्थानीय तह जितिसकेको छ । पोखरा महानगरपालिकामा जिततर्फ अघि बढेको छ । जनता समाजवादी पार्टीले पनि ३० हाराहारी पालिका जितेको छ । यसैले कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीबीच फेरि पनि चुनावी तालमेल हुन सक्ने देखिन्छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यो गठबन्धनलाई संघ र प्रदेशको चुनावसम्मै लान खोजेका छन् । यसैले ६ महानगरमा कांग्रेसले ३ महानगर लिएर, भरतपुर, पोखरा र वीरगञ्ज माओवादी, नेकपा एस र जसपालाई दिएको थियो । यीमध्ये काठमाडौंको मेयर मात्रै गठबन्धनले गुमाउँदैछ । यसले पनि गठबन्धनबीच भराेसा र विश्वास दिलाउने बताइन्छ ।

इपिसेन्टर मानिएको भरतपुर माओवादीले जित्ने र पोखरा नेकपा एसले जित्ने अवस्था आउँदा गठबन्धनलाई अर्को चुनावमा पनि मिलेर जान दबाब पुग्ने बताइन्छ । अघिल्लोपटक एमालेले जितेका पोखरा यसपटक फिर्ता गराउन सक्दा गठबन्धनले यसलाई सफलताको रुपमा लिंदैछ । काठमाडौंमा जित्ने हिसाब निकाले पनि गठबन्धन र एमाले दुवैले धक्का खाएपछि स्वतन्त्रका बालेन शाह जिततर्फ अघि बढेका छन् । तर अन्यत्र गठबन्धन भएका ठाउँमा मेयर र अध्यक्षमा धेरै जित निस्किएकाे छ । उपप्रमुख  र उपाध्यक्षमा कांग्रेसबाहेक नेकपा एस र माओवादीका उम्मेदवार जिताउन नसक्दा भने कांग्रेसमाथि प्रश्न उठेकाे छ ।

के गर्लान् माओवादी र समाजवादी ?

चुनावी नतिजालाई लिएर तेस्रो स्थानको माओवादी र नेकपा एसले मुख खोलिसकेका छैनन् । तर कांग्रेसले मात्रै धेरै ठाउँ जितेको भन्ने आरोप माओवादी र समाजवादीले लगाउन थालिसकेका छन् यस्तो स्वर माओवादीको अलि कम छ तर समाजवादीको ज्यादा छ । ३० भन्दा बढी तहमा जित्ने अपेक्षा गरे पनि २० हाराहारी मात्रै जितेकाे छ । नेकपा एसले नतिजालाई लिएर सन्तुष्टि व्यक्त गरिरहेको छैन । तर खुलेर असन्तुष्टि पनि पोखेको छैन ।

यही गठबन्धनलाई निरन्तरता दिने हो भने संघीय चुनावमा आफूलाई उल्लेख्य सिटमा उम्मेदवार दिनुपर्ने बार्गेनिङमा समाजवादी लाग्ने देखिएको छ । किनकी एमालेको कमजोर नतिजा आएपछि उसको रोजाइमा अब माओवादी र समाजवादी पर्न सक्ने देखिएको छ ।

यसैले आगामी निर्वाचनमा माओवादी र समाजवादी कांग्रेस र एमालेको तानातानमा पर्ने देखिन्छ । यस्तोमा कांग्रेस र एमालेमध्ये जसले राम्रो हैसियत दिने र विश्वास दिलाउने काम गर्छन् माओवादी र नेकपा एस पनि उतै लाग्ने सम्भावना प्रबल छ ।