NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सडक व्यापारीका दुःख : बालबच्चाको पेट पाल्न सडकमा छौं, गरिखाने ठाउँ देउ [भिडियोसहित]

काठमाडौं । काठमाडौं महानगरपालिका जति सुविधासम्पन्न छ, त्यति अव्यस्थित र फोहर पनि । यहाँ बेलाबेला महिनौसम्म फोहर नउठ्दा सहर नै दुर्गन्धित हुन्छ ।

सडक वरिपरी थुप्रिएको फोहर, भत्केका, भत्काइएका सडक, सवारी जाम काठमाडौं वरिपरी बस्ने र यात्रा गर्ने सबैको टाउको दुखाइको विषय बन्दै आएको छ । काठमाडौंलाई सुन्दर सहर भनिन्छ तर मानवीय अव्यवस्थाले सहरको शोभा नै गुमाउँदै लगेको छ ।

काठमाडौं महानगरको अर्को समस्या, सडक छेउमा अव्यस्थित पसल । सडक छेउमा पसल राखेर व्यापार गर्नेहरुले सडक नै ओगट्दा बाटो हिड्ने पैदलयात्रीलाई ले समस्या भोग्नुपर्छ । यसले गर्दा सडक जाम हुने, भीडभाड हुने भएको भन्दै महानगरले नाँग्ले व्यापारीलाई सडकमा व्यापार नगर्न अनुरोध गर्दै आएको छ ।

महानगरको आदेशलाई उल्लघंन गर्नेलाई महानगरले बेलाबेला अमानवीय व्यवहार पनि प्रर्दशन गर्ने गर्छ । जस्तो कि केही दिन अगाडि महानगर प्रहरीले बाटोमा हरियो मकै व्यापार गर्दै गरेका एक व्यापारीको मकै नै उठाएर लग्यो । यसको अहिले चौतर्फी विरोध भइरहेको छ । महानगरको यो व्यवहारप्रति धेरैले आपत्ति जनाएका छन् ।

सडक छेउमा व्यापार गर्ने साना व्यापारीमाथि महानगरले गर्ने यो व्यवहार पहिलो चोटि पक्कै हैन । केरा व्यापार गर्ने व्यापारीको केरा नै नष्ट गरिदिने, कपडा व्यापारीको कपडा नै जफत गरिदिने, पानीपूरी व्यापरीको गाडा नै उठाएर लगिदिने जस्ता कार्य महानगरले नियमित गर्दै आएको छ ।

झट्ट हेर्दा यो अमानवीय व्यवहार नै हो । महानगरले साना व्यापारीमाथि गर्ने यस्तो व्यवहारप्रति कतिले समर्थन र कतिले विरोध गर्दै आएका छन् । अमानवीय व्यवहारप्रति आम मानिसले विरोध जनाउँदै आएका छन् । धेरैले महानगरको आलोचना गर्दै आएका पनि छन् । एकातिर महानगरको सफा, फराकिलो र व्यवस्थित बनाउने योजना, अर्कोतिर सडकमै पसल राखेर व्यापार गर्नुपर्ने साना व्यापारीको बाध्यता । यसले महानगरलाई अस्तव्यस्त बनाएको भने छ ।

दोलखा शैलुङ स्थायी घर भएका डिल्लीबहादुर कार्की रहरले नभई बाध्यताले सडकमा व्यापार गर्नुपरेको दुखेसो पोख्छन् । उनी अपांगता भएका व्यक्ति पनि हुन् । काठमाडौं आउनुपूर्व उनी गाउँमै खेतीकिसानी गर्थे । गाउँमा घाँसदाउरा गर्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएपछि अहिले उनको आधा शरिर चल्दैन ।

कमजोर स्वास्थ्य अवस्थाकाबीच डिल्लीबहादुरलाई सडकमै व्यापार गरेर चार जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । उनले भने, ‘दिनभर धुलो र धुवा खाएर सडकमा व्यापार गर्न कसलाई रहर हुन्छ ? दुई चार पैसा कमाएर बालबच्चा पाल्न सकिन्छ कि भनेर त आउने हो नि ।’ महानगरले सडक व्यापारीलाई लखेट्नुभन्दा व्यापार गर्ने व्यवस्थित ठाउँ बनाइदिनुपर्ने उनको माग छ ।

‘न जागिर छ, न पेन्सिन छ, खाना त खानुपर्यो नि । उहाँहरुले दिनकै पेलिरहनुभएको छ । ठाउँको व्यवस्था गरिदिए भने केही गरेर ज्यान पाल्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘फाटफुट्टे व्यापारी करोडौं छ नेपालमा, सडकमै व्यापार नगरेर के खाने ? कि ठाउँको व्यवस्था गर्दिनुप¥यो, कि व्यापार गर्ने समय तोकिदिनुपर्यो ।’

जुन सरकार आएपनि केही फरक नपर्ने तर अपांगता भएका लगायत साना व्यापारीमाथि महानगरले व्यापार गर्ने वातावावरण बनाइदिनुपर्ने उनको माग छ ।

त्यस्तै सडकछेउमै नाँग्ले व्यापार गर्दै आएकी कुमारी कार्कीको पीडा पनि डिल्लीबहादुरको जस्तै छ । स्थायी घर झापा बताएकी उनले सडक छेउमा व्यापार गर्दै आएको बताइन् ।

सडकमा व्यापार गर्न आउनुअघि उनी ज्यामी काम गर्थिन् । ज्यामी गरेर घरव्यवहार चलाउन गा¥हो भएपछि भने उनी दुधे बालकलाई काखी च्यापेर सडकमा नाँग्ले व्यापार गर्न आइन् । बच्चालाई कोक्रोमा सुताएर उनी व्यापार गर्थिन् । अहिले त्यही व्यापारबाटै ४ जनाको परिवार पाल्दै आएकी छिन् ।

कुमारीका श्रीमान केही समयदेखि जन्डिसबाट गुज्रिदै आएको उनले बताइन् । घरमा बिरामी श्रीमानको उपचार र घर खर्चको लागि उनले दिनको दुईदेखि तीन हजार ३ हजार खर्च जुटाउनुपर्ने हुन्छ । घर खर्च, औषधीसहित महिनाको ३५ हजार खर्च लाग्ने उनले सुनाइन् । त्यो खर्च त्यही सडकमा पसल राखेर पुर्याउने गर्छिन् कुमारी । महानगरले अहिलेसम्म पसल नउठाएपनि बेलाबेला अरु व्यापारीमाथि गर्ने व्यवहारप्रति उनले दुख व्यक्त गरिन् ।

सरकारले सडक व्यापारीलाई केही व्यवस्था गरिदिनुपर्ने, हत्तपत्त आएर सामान उठाएर लान नहुने उनको भनाइ छ ।
निश्चित ठाउँ तोकेर व्यापार गर्न दिनुपर्ने अर्का एक मोटरसाइकल चालक बताउँछन् । ‘निश्चित ठाउँमा हाटबजार तोकिदियो भने त्यही सामान लिन जाने र आउने गर्छन् । त्यो भएपछि उनीहरुलाई पनि गरिखाने खाने बाटो हुन्छ । बाटोमा राखिदिनुभएन ।’

सहर व्यवस्थित बनाउने भन्दै एकैचोटि व्यापारीले गर्दै आएको काम खोस्नु महानगरको ‘एक्सन’ सही पैदययात्री नै बताउँछन् । महागरले सडक व्यापारीलाई व्यापार गर्ने वातावारण बनाइदिनुपर्ने, व्यापारको लागि निश्चित ठाउँ तोकिदिनुपर्नेमा धेरैले आवाज उठाउँदै आएका छन् । यसमा महानगरले ध्यान पुर्याउनु जरुरी देखिन्छ ।

भिडियाे

तस्बिर/भिडियाे  : अमरदीप श्रेष्ठ/नेपालवाच

सफा हुन थाल्यो महानगर