NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

फेरि खुला भयो विलासिताका यी वस्तुको आयात

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढाउन चार महिनाअघि विलासिताका १० वस्तुको आयात बन्देज गरेको सरकारले व्यापारीसँगको सौदाबाजीमा अनावश्यक केही सामग्रीको आयात खुलाएको छ । सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हिराको आयात खुलाउने निर्णय मंगलबार गरेको हो ।

सबै प्रकारका तयारी मदिरा, जिप, कार र भ्यान, मोटरसाइकल (१५० सीसीमाथिका), स्मार्ट फोनको आयात बन्देज भने यथावत् राखिएको छ ।

सरकारले तास आयात खुलाउनु कानुनविपरीत समेत छ । जुवा ऐन २०२२ ले नै जुवातास आयातमा निरुत्साहित गरेको छ । ऐनले जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाउनसमेत भनेको छ । ऐनको दफा ४ (क) ले कुनै व्यक्तिले जुवा खेलेमा पहिलो पटकलाई २ सय जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि तीन महिना कैद र तेस्रो पटकदेखिलाई १ वर्ष कैदको व्यवस्था गरेको छ । ‘तास प्रहरीले खेल्न दिँदैन, चुरोट–सुर्ती आवश्यकता होइन,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भने, ‘यी वस्तुको आयात खोल्नुपर्ने जरुरी नै थिएन । दसैं–तिहार आएरै व्यापारीको दबाबमा आयात खुला भयो ।’ विलासिताका केही वस्तु खुलाउने र अरू बन्द गर्ने निर्णय सरकार स्वयंले पुष्टि गर्न नसक्ने उनले बताए ।

अर्थतन्त्र नाजुक बन्दै गएपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना निकालेर विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसलाई कसिलो बनाउँदै गत असार ३१ देखि भदौ १४ सम्म बन्देजलाई निरन्तरता दिइएको थियो । राजपत्रमा भदौ १३ मा प्रकाशित सूचनामा चार वस्तु (सबै प्रकारका तयारी मदिरा, स्मार्ट फोन, जिप, कार र भ्यान, मोटरसाइकल १५० सीसीमाथिका) को आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याइएको उल्लेख छ ।

पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले विलासिताका रूपमा रहेका ६ वस्तुको आयात खुला र ४ वस्तुको बन्देजको निर्णयले जटिलता थपिने बताए । ‘विदेशी मुद्रा सञ्चितिलाई असर गरेपछि सञ्चिति बढाउन विलासिताका वस्तु बन्देज गरिएको थियो । अहिले बन्देज खोलिएका र बन्द गरिएका वस्तुको अन्तर के त ?’ उनले भने, ‘विलासिता भनिसकेपछि केहीलाई खुला र केहीलाई बन्द गर्नुको औचित्य देखिएन, यसमा ठूलै प्रश्न छ । कि सबै बन्द गर्नुपर्थ्यो कि सबै खुलाउनुपर्थ्यो ।’

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले चाडबाडको मुखमा आयातकर्ता/व्यापारीसँग सौदाबाजी गरेर सरकारले अनावश्यक सामग्रीको आयात खुलाएको टिप्पणी गरे ।

‘मोलतौलमा केही वस्तुको आयात खुलाउनु अनैतिक हो,’ उनले भने, ‘कि सबै खुला गर्नुपर्थ्यो, कि सबै बन्द हुनुपर्थ्यो । सरकारको यो निर्णय नागरिकमाथि बेइमानी हो ।’

सरकारी तथ्यांकअनुसार विलासिताका वस्तुमा बन्देज लगाएपछि आयात केही घटेको छ । अघिल्लो वर्षको साउनभन्दा यो साउनमा कुल आयात १९ अर्ब ४५ करोड रुपैयाँ बराबरले घटेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार २०७८/७९ को साउनमा कुल आयात १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको थियो भने गत साउनमा १ खर्ब ३१ अर्ब २८ करोडमा आयात झर्‍यो । विदेशी विनिमय सञ्चितिमा क्रमिक सुधार देखिन्छ । राष्ट्र बैंकका अनुसार गत जेठसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड थियो । तर असारमा यस्तो सञ्चिति ३८ अर्ब ९६ करोड रुपैयाँ थपिएर १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ ।

अर्थविज्ञ केशव आचार्यले नेपाली मुद्रामा केही सुधार देखिए पनि विदेशी मुद्रामा सुधारको अवस्था आइनसकेको दाबी गरे । तर सरकारले अर्थतन्त्रभन्दा आफ्नो स्वार्थअनुकूल निर्णय गरिरहेको उनको आरोप छ । ‘आयात खुला गरिएका वस्तु तत्काललाई आवश्यक छैन । केही वस्तुको विकल्प स्वदेशमै पनि उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘तर, दसैंको मुखमा व्यवसायीको चलखेलमा सरकार फस्यो । विदेशी मुद्रा सञ्चिति भनेको राष्ट्रको बल हो, विदेशी लगानीकर्ता त्यही विश्लेषण गरेर लगानी गर्छन् । तर सरकारले विदेशी मुद्राको सञ्चितिमा पूर्ण सुधार नआउँदै केही वस्तु खुला गर्‍यो ।’ उनले नेपाललाई हिरा नचाहिएको पनि बताए । ‘सुन र चाँदीका गहना केही परिमाणमा निर्यात भए पनि हिरा हुँदैन,’ आचार्यले थपे, ‘हिरा भारतमा तस्करी नभए पनि धनी वर्गले कर नतिरेको पैसा लुकाउन खरिद गर्छन् ।’