NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रुपन्देही २ मा चुनाव नहुँदै कसरी जितनजिक पुगे विष्णु पौडेल ?

काठमाडौं । सत्ता गठबन्धन दलले अयोग्य व्यक्तिलाई उम्मेदवार बनाउँदा रुपन्देही २ मा एमालेका उपाध्यक्षसमेत रहेका विष्णुप्रसाद पौडेललाई हाइसन्चो भएको छ । गठबन्धन दलहरुबीच सिट बाँडफाँट हुँदा रुपन्देही २ एकीकृत समाजवादीको भागमा परेको थियो । एकीकृत समाजवादीले गठबन्धनको तर्फबाट राजु गुरुङलाई उम्मेदवार बनाएको थियो ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले ८ वटा चेक बाउन्स गराएको र कालोसूचीमा परेको व्यहोराको उजुरी परेको थियो । इन्फा प्रालिले तिर्नुपर्ने रु दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा ०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका छ जनालाई विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) बमोजिम जनही रु दुई हजार जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने फैसला गरेको थियो ।

आयोगले गुरुङको उम्मेदवारी रद्द गरेपछि पौडेल बलिया प्रतिस्पिर्धीबिना नै अब चुनावी मैदानमा उत्रिने भएका छन् । यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचन जितेका पौडल योपटक ह्याट्रिक गर्ने पक्षमा छन् । उनको मुख्य प्रतिस्पर्धा गठबन्धनका उम्मेदवारसँग हुने ठानिएको थियो । तर गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि पौडेललाई हाइसन्चो भएको छ । आसन्न निर्वाचनमा पौडेलसहित १८ जनाले उम्मेदवारी दिएका थिए । आयोगले तीन जनाको उम्मेदवारी रद्द गरेको छ । १५ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमा ९ जना स्वतन्त्रबाट छन् । सत्ता गठबन्धनसँग यिनै स्वतन्त्रमध्येबाट एकलाई उम्मेदवार घाेषणा गरेर जानसक्ने विकल्प भने टरिसकेकाे छैन । यस्ताेमा स्वतन्त्रका उम्मेदवार बलियाे नहुन सक्छन् ।

यस्तो छ चुनावी क्षेत्रको अवस्था

रूपन्देही–२ मा १३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल छन् । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका १, २, ३, ४, ५ र ६ वडा पर्छन् । सैनामैना नगरपालिकाका १, २, ३ र ४ यो क्षेत्रमा पर्छन् । यहाँ एक लाख २६ हजार ८०७ मतदाता छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा कसको अवस्था कस्तो छ ?

स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । यो क्षेत्रमा पर्ने १३ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो । एमालेले २, नेकपा एसले १ र स्वतन्त्रले १ वटामा विजयी भएको थियो । सैनामैना नगरपालिकामा मेयर कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । ४ वडामध्ये २ वडामा एमाले, कांग्रेस र माओवादी केन्द्रले एक÷एक वडा जितेको थियो ।
तिलोत्तमा नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । यो क्षेत्रमा पर्ने ६ वडामध्ये ४ वटामा कांग्रेस र २ वटामा एमाले उम्मेदवार विजयी भएको थियो ।

वडाध्यक्षले पाएको मतको आधारमा रूपन्देही २ मा कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समाजवादीको १ हजार ३८२ र जसपाको १८३ मत रहेको थियो । यहाँ गठबन्धनको जम्मा मत ३९ हजार ५२९ रहेको छ । एमाले ६ हजार ३४२ मतले पछाडि रहेको थियो । गठबन्धनले उम्मेदवार छनोट गर्दा उचित ध्यान नदिँदा कि त अन्य उम्मेदवारलाई मतदान गर्नुपर्ने कि त मत खेर जाने भएको छ ।

को हुन् पौडेल ?

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पौडेल ४४ हजार ९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । उनको मतान्तर २२ हजार ६३ रहेको थियो । २०७० को निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पराजित गरेका थिए । पूर्व प्रधानमन्त्री रहिसकेका भट्टराई तेस्रो स्थानमा आएका थिए ।

अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धनबाट निर्वाचनमा होमिएका उनी योपटक एक्लै गठबन्धनविरुद्ध मैदानमा उत्रिएका थिए । उनी एमालेका प्रभावशाली नेता रहेका छन् । २०७५ मा एमाले र माओवादीबीच पार्टी एकता हुँदा उनी तत्कालीन नेकपाका महासचिवसमते भएका थिए ।

बुटवल स्थायी घर भएका पौडले १८ वर्षको उमेरमा वामपन्थी राजनीतिमा होमिएका थिए । उनी एमालेको पूर्णकालीन सदस्य, केन्द्रीय सदस्य, स्थायी समिति सदस्यहुँदै २०६८ मा बुटवलमा भएको आठौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । काठमाडौंमा भएको नवौं महाधिवेशनमा उपमहासचिव भए । गतवर्ष चितवनमा भएको १० औं महाधिवेशनमा उपाध्यक्ष भए । उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट जलस्रोतमन्त्री भएका थिए । ओली नेतृत्वको सरकारमा उनी उप्रधानसहित अर्थमन्त्री भएका थिए ।