NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

चार मन्त्री जसले चुनाव हारे

काठमाडौं । प्रधानमन्त्रीसहित १४ मन्त्री चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रधानमन्त्रीसहित पाँचजना निर्वाचित भएका छन् । चारजना पराजित भएका छन् । तीनजनाले अग्रता कायम गरेका छन् भने दुईजना पछाडि छन् । प्रधानमन्त्री देउवासहित उद्योगमन्त्री दिलेन्द्र बडू, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री मेटमणि चौधरी र श्रममन्त्री शेरबहादुर कुँवर विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायम राखेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र खानेपानीमन्त्री उमाकान्त चौधरी पछाडि छन् ।

प्रतिनिधिसभा निर्वाचनमा बहालवाला कतिपय मन्त्रीहरू नै हारेका छन् । पटक–पटक चुनाव जित्दै आएका संघीय मन्त्रीहरू पराजित भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पनि प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकी छिन् । ललितपुर ३ बाट उम्मेदवार बनेकी भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग भारी मतान्तरले पराजित भइन् । कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भइन् । एमाले उम्मेदवार अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो भए । भुसालले आठ हजार ७६९ मत ल्याइन् । उनी ०६४ र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि पराजित भएका छन् । माओवादी उम्मेदवार गहतराज बाँके १ बाट प्रतिस्पर्धी थिए । त्यहाँ एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २५ हजार २६ र गहतराजले १९ हजार ६३२ मत पाए । राष्ट्रिय उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत पाए । गहतराज ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

चुनाव हार्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि छन् । उनी काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भए । श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका मन्त्री श्रेष्ठ चार हजार ८७७ मतसहित तेस्रो स्थानमा खुम्चिए । श्रेष्ठ ०७४ को निर्वाचनमा यसै क्षेत्रमा एमालेबाट निर्वाचित भएका थिए ।

राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन् । कांग्रेसका उम्मेदवार उनलाई चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३४ हजार २८१ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत पाए । एमालेका कृष्णभक्त पोख्रेल १४ हजार ६४७ मत ल्याएर तेस्रोमा सीमित भए । श्रेष्ठ ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।