जमानतसम्म जोगाउन नसक्ने नेताहरू

यसपटकको निर्वाचनमा पूर्वमन्त्री र पटक–पटक चुनाव जितेका नेताले जमानतसमेत जोगाउन सकेनन् । यसरी जमानत जोगाउन नसक्नेमा पूर्वमन्त्रीहरू राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र रामवीर मानन्धर छन् ।
एक महिनाअघिसम्म मन्त्री रहेका जनता समाजवादी पार्टीका श्रेष्ठको जमानत जफत भएको छ । उनी प्रतिनिधिसभामा काठमाडौं ७ बाट उम्मेदवार बनेका थिए । न्यूनतम १० प्रतिशत मत कटाउन नसक्दा उनको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत कटाउन नसक्नेको जमानत जफत हुने व्यवस्था छ ।
काठमाडौं ७ मा कुल ३६ हजार ६१ सदर मत रहेकामा श्रेष्ठले दुई हजार ४६१ मत पाएका छन् । कुल सदर मतको अनुपातमा उनले ६.८ प्रतिशत मात्र मत पाएका छन् । श्रेष्ठ मध्यावधि निर्वाचन ०५१ मा प्रत्यक्ष सांसद चुनिएका थिए भने ०७४ मा संघीय समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद थिए । उनी दुईपटक मन्त्री भइसकेका छन् । ०५५ मा आवास तथा भौतिक योजनामन्त्री र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । उनको दल जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि श्रेष्ठसहित जसपाका चार मन्त्रीलाई देउवाले गत २७ असोजमा बर्खास्त गरेका थिए ।
जमानत जफत भएका अर्का उम्मेदवार हुन्, रामवीर मानन्धर । एमालेबाट टिकट नपाएपछि काठमाडौं ७ बाटै स्वतन्त्र चुनाव लडेका मानन्धर एक हजार २१५ मतमा सीमित भए । यो कुल सदर मतको ३.३ प्रतिशत हो । मानन्धर यही क्षेत्रबाट ०७० र ०७४ मा गरी दुईपटक सांसद जितेका नेता हुन् । केपी ओली नेतृत्वको सरकारमा ०७६ मा उनी सहरी विकास राज्यमन्त्री भएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि यसपटक जमानत जोगाउन सकेनन् । पर्सा १ बाट उम्मेदवारी दिएका उनले एक हजार ११७ मत पाए । ४८ हजार ५२६ सदर मतमा उनले पाएको मतको हिस्सा २.३ प्रतिशत मात्र हो । ०६४ र ०७० मा समानुपातिक सांसद बनेका उनी ०७४ मा पर्सा ४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा उनी विनाविभागीय मन्त्रीसमेत बनेका थिए ।
प्रतिक्रिया