गगन बन्लान् त कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं । निर्वाचन परिणाम नआउँदै कांग्रेस महमन्त्री गगन थापाले संसदीय दलको नेतामा ‘फाइट’ गर्दै प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । तर, कांग्रेस सांसदहरूको गुटगत अंकगणितमा भने उनी कमजोर देखिन्छन् । कुनै ‘मिराकल’ भएन भने प्रधानमन्त्रीका दाबेदार रहेका पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने निश्चित देखिन्छ ।
कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी आधा दर्जन छन् । उनीहरूले पार्टीभित्र र बाहिरसमेत आफ्नो पक्षमा माहोल बनाउन औपचारिक तथा अनौपचारिक भेटघाटलाई तीव्रता दिएका छन् । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइरालाको दाबी छ । त्यस्तै, इतर समूहबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापाले दाबी गर्दै आएका छन् ।
संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने कांग्रेस विधानको व्यवस्था छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेको अवस्थामा संसदीय दलमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति दलको नेता हुनेछ । ६ जना प्रधानमन्त्री बन्ने रेसमा रहेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिन्छ । जसले दलको निर्वाचनमा बहुमत जुटाउन सक्छ उही संसदीय दलको नेता बन्नेछ ।
कांग्रेसले प्रत्यक्षमा अहिलेसम्म ५६ स्थानमा जित निकाल्ने सम्भावना छ । आइतबार मध्यरातिसम्मको मतगणनाअनुसार उसले ५३ स्थानमा जित निकालिसकेको छ भने तीन स्थानमा अग्रता लिइरहेको छ । यसमध्ये संस्थापन समूह अर्थात् सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट भनेर चिनिएका ३२ सांसद छन् । त्यस्तै, शेखर–गगन समूह भनेर चिनिएका २१ जना छन् । यस हिसाबले हेर्दा गगन कमजोर देखिन्छन् ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामार्फत निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । महामन्त्री थापाले औपचारिक–अनौपचारिक रूपमा भेटघाटलाई तीव्रता दिएका छन् । गगननिकट स्रोतका अनुसार थापाले निर्वाचित सांसद र कांग्रेसबाहेकका दलका नेतासँग पनि छलफल गरेका छन् । ‘निर्वाचित भएलगत्तै उहाँले दल र दलबाहिरका नेताहरूसँग औपचारिक र अनौपचारिक रूपमा छलफल गरिरहनुभएको छ,’ स्रोतले भन्यो ।
महामन्त्री थापाले निर्वाचित भएलगत्तै संसदीय दलको नेताको तयारीमा लागेको घोषणा गरेका थिए । उनले निर्वाचनबाट प्रधानमन्त्रीका लागि म्यान्डेट पाएको र संस्थापनसँग विद्रोह गरेर परिणाम निकाल्न आफूलाई जिताएर पठाएको दाबी गर्दै आएका छन् । यद्यपि, उनलाई नेता शेखर कोइरालाको साथ रहेको–नरहेको स्पष्ट भइसकेको छैन ।
नेता शेखर कोइरालाले निर्वाचित भएलगत्तै आफ्नो दाबी रहने स्पष्ट पार्दै सभापतिसहितका नेताहरूसँग छलफल गर्ने प्रतिक्रिया दिएका थिए । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला निर्वाचन क्षेत्रमै रहेकाले पार्टीमा थप छलफल गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । ‘उहाँ निर्वाचन क्षेत्रमा नै हुनुहुन्छ । प्रधानमन्त्री बन्छु नै भनेर दाबी गरिसक्नुभएको छैन । कांग्रेसमा प्रधानमन्त्री बन्ने प्रक्रिया छ । काठमाडौं फर्किएपछि पार्टीमा छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ थपलियाले भने, ‘संसदीय दलको नेताको तयारीमा लागिसक्नुभएको छैन ।’ निवर्तमान महामन्त्री शशांक कोइरालाले पनि निर्वाचित भएलगत्तै आफ्नो दाबी रहने प्रतिक्रिया दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया