NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

झलनाथलाई प्रश्न– गठबन्धनको भविष्य अब के हुन्छ ?

काठमाडौं ।नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । यो निर्वाचनमा पूर्वप्रधानमन्त्रीमध्येबाट पराजित हुने उनी एक मात्र हुन् ।

खनालले आफ्नो हारको कारण गठबन्धन दलको बेइमानी रहेको बताउँदै आएका छन् ।

सत्तारूढ गठबन्धन दलमध्ये सबैभन्दा पहिला एकीकृत समाजवादीले संस्थागत समीक्षा गर्‍यो । निष्कर्ष के निकाल्नुभयो ?

हामीले सचिवालय बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गर्‍यौँ । कतिपय क्षेत्रमा गठबन्धनले पूरै काम गरेको छ । कतिपय क्षेत्रमा केही प्रतिशतले काम गरेको छ । केही क्षेत्रको कमी–कमजोरीबाहेक गठबन्धन सफल भएको प्रारम्भिक निष्कर्ष निकालेका छौँ । विस्तृत समीक्षा निर्वाचनको सबै परिणाम आइसकेपछि हुनेछ ।

बैठक इलाम र उदयपुरको समीक्षामा केन्द्रित भएछ । तपाईंले के विषय उठाउनुभयो ?

२५ वटा मतपेटिका गनेर त्यसको मतपरिणाम निकाल्दा खसेको मतभन्दा चार सय ३७ मत कम आयो । मतगणना गर्दा चार सय ३७ मत गायब भएका छन् । यो मत कसले, किन, कहाँ गायब गरेको हो ? यसले षड्यन्त्रमा गणना गरिएको स्पष्ट देखिन्छ । जनताले दिएको मतमाथि कसैले पनि कुठाराघात गर्न पाइँदैन । जनतालाई निर्वाचन आयोगले जवाफ दिनुपर्छ । यी मत कहाँ गए भनेर स्पष्ट रूपमा जवाफ दिए हार तथा जित स्विकार्छु । जनताले दिएको मत सम्मानपूर्वक स्पष्ट रूपमा गणना हुनुपर्छ ।

निर्वाचन आयोगले अहिलेसम्म जवाफ दिएको छैन ?

प्रमुख निर्वाचन आयुक्तसँग पनि कुराकानी गरेँ । उहाँले जिम्मेवारीपूर्ण जवाफ दिनुभएन । मतपेटिकामा जति मत खसेका छन् त्यसलाई कायम गर्ने बताउनुभयो । र, मतगणना जारी गर्नुभयो । उसो भए चार सय ३७ मत कहाँ गयो त ? व्यापक धाँधली भएको पाइयो । पटक–पटक गल्ती हुँदा पनि निर्वाचन अधिकृतले वास्ता गरेनन् । निर्वाचन परिणाम पारदर्शी हुनुपर्छ, म हार स्वीकार गर्न तयार छु ।

गठबन्धनमा पावर सेयरिङ कसरी मिल्छ त ?

हामी अहिलेसम्म पावर सेयरिङको विषयमा प्रवेश गरेका छैनौँ । निर्वाचनको सबै नतिजा आउन बाँकी नै छ । पार्टीहरूले आन्तरिक समीक्षा गर्न पनि बाँकी छ । गठबन्धनको बैठक बसेकै छैन । अब, पार्टीहरूले समीक्षा गर्छन् । गठबन्धनले समीक्षा गर्छ । त्यसपछि पावर सेयरिङको कुरा स्वाभाविक रूपमा हुन्छ ।

वाम गठबन्धनको विषय पनि विभिन्न रूपमा उठेको देखिन्छ । गठबन्धन यही रहन्छ कि विकल्प खोज्नुहुन्छ ?

स्थिरता, विकास र समृद्धिको नारा लिएर सत्तारूढ गठबन्धन निर्वाचनमा गएको हो । अपेक्षित नतिजा नआए पनि गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको छ । त्यसकारण अब पनि गठबन्धन यही रहन्छ । अर्को गठबन्धनको धरातल बनेको छैन ।

नयाँ पत्रिकाबाट