NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

१६२ क्षेत्रको सबै मतगणना सकियो : कुन–कुन दल बन्ने भए राष्ट्रिय पार्टी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनको एक सय ६२ क्षेत्रको मतगणना सकिएको छ । दोलखा, स्याङ्जा २ र बाजुरामा भने मतगणना जारी छ ।

आयोगका अनुसार हालसम्म कुल सदर मतको तीन प्रतिशत थे्रसहोल्ड कटाएर सात पार्टी राष्ट्रिय दल बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको हो ।

एक सय ६२ क्षेत्रबाट दुई लाख ९४ हजार मात्रै मत प्राप्त गरेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दल बन्ने सम्भावना क्षीण देखिन्छ । राष्ट्रिय दल बन्न उसले हाल गणना भइरहेका तीन क्षेत्रका एक लाख ८० हजार मतबाट २३ हजार प्राप्त गर्न सके मात्रै थे्रसहोल्ड कटाउन सक्छ । आयोगका अनुसार थ्रेसहोल्ड कटाउन तीन लाख १७ हजार मत आवश्यक पर्छ ।

प्रत्यक्षतर्फ एक सय ६२ क्षेत्रको अन्तिम परिणाममा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, एकीकृत समाजवादीले १०, जसपाले सात, राप्रपाले सात र राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिट जितेका छन् । त्यस्तै, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, जनमोर्चाले एक, नेमकिपाले एक, जनमत पार्टीले एक र पाँचजना स्वतन्त्रले जितेका छन् । गणना भइरहेका स्याङ्जा २ र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी उम्मेदवारले अग्रता लिएका छन् । यी तीनवटै क्षेत्रको अन्तिम परिणाम २० मंसिरसम्म आउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

एक सय ६२ क्षेत्रको समानुपातिक मत गणना पनि सकिएको छ । समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार शुक्रबारसम्म एक करोड तीन लाख ९२ हजार मत गणना सकिँदा एमालेले २७ लाख ७९ हजार मत पाएको छ । थ्रेसहोल्ड कटाएका सात दलमा सिट बाँडफाँड हुँदा एमालेले ३३ सिट पाउने देखिन्छ ।

त्यस्तै, २६ लाख ४८ हजार मत पाएको कांग्रेसले ३१ देखि ३२ सिट तथा ११ लाख ६१ हजार मत पाएको माओवादीले १५ सिट पाउने देखिन्छ । ११ लाख २१ हजार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ देखि १४ सिट पाउँछ । त्यस्तै, पाँच लाख ८६ हजार मत पाएको राप्रपाले सातदेखि आठ सिट, चार लाख २० हजार मत पाएको जसपाले पाँच सिट तथा तीन लाख ९४ हजार मत पाएको जनमतले कम्तीमा चार सिट पाउने वाग्लेले बताए । तीन क्षेत्रको मतगणनाबाट एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएमा यो अंकगणित फेरिनेछ ।

एक सय ६२ क्षेत्रको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको सबै गणना सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘तीन क्षेत्रको गणना जारी छ । बाँकी सबै सकिएको छ । आयोगको सूचना प्रणालीमा अद्यावधिक भइरहेको छ । शनिबारसम्म सबै तथ्यांक अपडेट हुन्छ,’ उनले भने । मतपरिणाम आएपछि प्रतिवेदन लेखन कार्य जारी रहेको र २६ गते राष्ट्रपतिलाई बुझाइने आयोगले जनाएको छ ।