NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

समानुपातिकमा दलका त्रुटि नै त्रुटि, कसले के गरे ?

काठमाडौं ।पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका छन् । ती दललाई नाम सच्याएर पेस गर्न आयोगले आइतबार पत्र लेखेको छ । आयोगको तथ्यांकअनुसार कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका हुन् । यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले बताए । दलहरूलाई त्रुटि सच्याउने समय सोमबार अपराह्न ४ बजेसम्म छ ।

एक सय १० सिट भएको प्रतिनिधिसभामा भने दलहरूले छनोट गरेर बुझाएको नामावली पूर्ण रूपमा मिलेकाले सच्याउन नपर्ने आयोगले जनाएको छ । समानुपातिकतर्फ पाएको मतका आधारमा निर्धारण भएको सिट संख्यामा उम्मेदवार निर्वाचित गर्न आयोगले शनिबारसम्म समय दिएर दलहरूबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि नामावली मागेको थियो । अन्य दलले समयभित्रै नाम पठाए पनि कांग्रेसले आइतबार बिहान सवा १ बजे मात्रै बुझाएको थियो ।

कांग्रेसले मधेस प्रदेश सभामा न्यूनतम दुईजना अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउनुपर्नेमा चारजनाको गराउन खोजेको र यसका लागि क्लस्टरसमेत मिचेको आयोगले जनाएको छ । ‘अल्पसंख्यक समूहबाट न्यूनतम दुईजनाको नाम सिफारिस हुनुपर्नेमा दलित र मधेसी समूहको क्रमबमोजिम सिफारिस भएका उम्मेदवारबाट नै दुईजनाभन्दा बढी अल्पसंख्यक समूहको प्रतिनिधित्व भइसकेको अवस्थामा मधेसी समूहबाट प्राथमिकता क्रमबमोजिम उम्मेदवार सिफारिस नगरी तल्लो क्रमको उम्मेदवार सिफारिस गरेको देखिएकाले मधेसी समूहको प्राथमिकता क्रम नम्बरबमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस हुनुपर्ने,’ आयोगले भनेको छ ।

आयोगका अनुसार कांग्रेसबाट दलिततर्फ नीलमकुमारी रजक (धोबी), मधेसीतर्फ इन्दुकुमारी साह (सुढी) र अञ्जना पण्डित (कम्हार) समावेशी समूह र क्रमअनुसार स्वतः अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गरिसकेका छन् । तर, कांग्रेसले मधेसी पुरुषको दोस्रो क्रम संख्यामा रहेका राकेशकुमार सिंह (राजपुत)लाई अल्पसंख्यक भन्दै प्राथमिकता क्रम मिचेर सूचीमा समावेश गरेको छ । समावेशी समूह र क्रमअनुसार नै अल्पसंख्यक प्रतिनिधित्व भइसकेकाले कांग्रेसले राकेश कुमारको नाम हटाएर मधेसी पुरुषतर्फ एक नम्बरमा रहेका कुमरकान्त झाको नाम समावेश गर्नुपर्छ ।

एमालेले बुझाएको नामावलीमा दुई प्रदेशमा त्रुटि पाइएको छ । प्रदेश १ मा एमालेले तीन अल्संख्यक उम्मेदवार छनोटमा त्रुटि गरेको हो । तीनैजना अल्पसंख्यक आदिवासी जनजाति समूहबाट छनोट गरेको एमालेले रोल क्रम मिचेको छ । आदिवासीबाट पुरुषतर्फ अल्पसंख्यकको पहिलो नम्बरमै रहेको नम्बरलाल धिमालको नाम सिफारिस गरेको एमालेले महिलातर्फ भने दोस्रोलाई पन्छाएर तेस्रो उम्मेदवार राखेपछि आयोगले सच्याउन भनेको हो ।

एमालेले आदिवासी महिलातर्फ अल्पसंख्यकको पहिलो नम्बरमा रहेकी सिर्जना दनुवारको नाम राखेको छ । तर, २ नम्बरमा रहेकी यशोदा कायस्थको ठाउँमा तीन नम्बरमा रहेकी लहरूमाया जिसी (याक्खा)को नाम समानुपातिक सांसदमा सिफारिस गरेको छ । आयोगका अनुसार प्राथमिकता क्रम मिचेर त्रुटि गरेकाले एमालेले जिसीको नाम हटाएर बन्दसूचीको माथिल्लो क्रममा रहेकी कायस्थको राख्नुपर्नेछ ।

आयोगका अनुसार मधेस प्रदेशमा एमालेले अल्पसंख्यक कोटा र क्लस्टर प्राथमिकता क्रम मिचेको छ । मधेसमा समानुपातिकबाट एमालेले दुई अल्पसंख्यकको नाम सिफारिस गर्नुपर्छ । आयोगमा बुझाएको बन्दसूचीअनुसार एमालेले मधेसीतर्फ अल्पसंख्यकमा विनादेवी शर्मा (मारवाडी)को नाम मात्र सिफारिस गरेको छ । साथै, शर्माभन्दा तल रहेकी शिला यादवको नाम सिफारिस गरेको छ । मधेसी प्राथमिकता क्रमअनुसार शिलाको नाम मिले पनि अल्पसंख्यक दुईजना पु¥याउन एमालेले मधेसी महिलाको अल्पसंख्यकको दोस्रो नम्बरमा रहेकी राजपतीदेवी जैसवाल (मारवाडी)को नाम सिफारिस गर्नुपर्छ ।

अर्थात् आठ सिटमा एक दलित छान्नुपर्ने एमालेले अहिले महिला छानेको पलेटीदेवी महराको ठाउँमा अल्पसंख्यकसमेत रहेका दलित पुरुष हरिन्दर हजरा दुसादलाई सिफारिस गर्नुपर्छ । यसो गर्दा अर्काे क्लस्टरबाट एकजना महिला थप्नुपर्छ ।

मधेस प्रदेशमै एमालेले मुस्लिम क्लस्टरमा प्राथमिकता क्रम मिचेको छ । मुस्लिम महिलाको एक नम्बरमा रहेकी जैनव खातुनको नाम काटेर दुई नम्बरमा रहेकी नजिमा खातुनको नाम राखेको छ । जैनवलाई एमालेको शनिबार बसेको केन्द्रीय समितिले चुनावमा अन्तर्घात गरेको भन्दै अनुशासनको कारबाही गरी पार्टीबाट निष्कासनसमेत गरिसकेको छ । प्रभु साहनिकट जैनवलाई कारबाही गरेर बन्दसूचीबाट दोस्रो नम्बरको नाजिमालाई पठाए पनि निर्वाचन कानुनअनुसार निर्वाचन परिणाम नआएसम्म बन्दसूची हेरफेर गर्न पाइँदैन । त्यसैले आयोगले जैनवकै नाम सिफारिस गर्न एमालेलाई भनेको हो । बन्दसूचीअनुसार जैनव समानुपातिक सांसद निर्वाचित भइसकेपछि एमालेले सांसद पद खोस्न सक्छ । त्यसपछि मात्रै रोल क्रममा दोस्रो नम्बरमा रहेकी नाजिमाको पालो आउनेछ ।

माओवादीले आयोगमा बुझाएको नाममा दुइटा प्रदेशमा त्रुटि देखिएको भन्दै आयोगले सच्याउन पत्राचार गरेको छ । बागमती प्रदेशमा माओवादीले अल्पसंख्यक उम्मेदवार वृद्धि गर्ने नाममा प्राथमिकता क्रम मिचेको छ । सिट बाँडफाँडअनुसार माओवादीले एकजना मात्र अल्पसंख्यक प्रतिनिधित्व गराउनुपर्छ । आदिवासी जनजाति क्लस्टरबाट तीनजना महिला छान्दा अल्पंख्यक सुष्पा भुजेल पनि सिफारिस भएकी छिन् । बन्दसूचीमा एक नम्बरमा उर्मिलाकुमारी लामा, दुई नम्बरमा भुवनकेशरी श्रेष्ठ र तीन नम्बरमा भुजेल छन् । तर, माओवादीले दुई नम्बरमा रहेकी भुवनकेशरीको ठाउँमा कोटा नै नभएको अल्पसंख्यक बढाउने भनेर सात नम्बरमा रहेकी डोल्मा थामीको नाम सिफारिस गरेको छ । आयोगका अनुसार माओवादीले थामीको ठाउँमा भुवनकेशरीको नाम सिफारिस गर्नुपर्छ ।

लुम्बिनी प्रदेशमा पनि माओवादीले प्राथमिकता क्रम मिचेको छ । खस–आर्यको एकजना पठाउनुपर्ने माओवादीले प्राथमिकता क्रमअनुसार पहिलो नम्बरको उम्मेदवार निमकान्त पाण्डेको नाम पठाउनुपर्नेमा दुई नम्बरमा रहेका भक्तिप्रसाद आचार्यको नाम पठाएको छ । अब माओवादीले आचार्यको ठाउँमा पाण्डेको नाम पठाउनुपर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।