अनधिकृत संरचना हटाएको देख्ने सञ्चारमाध्यमले भूकम्पले भत्काएको ३८०० टहरा देखेनन् : बालेन
डोटीका भूकम्पपीडितका लागि सहयोग गर्न सबै पक्षलाई अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले डोटीका भूकम्पपीडितको विषय सञ्चारमाध्यमको प्राथमिकतामा नपरेको भन्दै गुनासो गरेका छन् ।
डोटीमा कात्तिक २३ मा गएको ६.६ रेक्टर स्केलको भूकम्पले ३ हजार ८०० घरटहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ । बसोबास गरेको थातबास भूकम्पले भत्काएपछि त्यहाँका भूकम्पपीडित यतिबेला कष्टकर जीवन बाँचिरहेका छन् । तर संघीय सरकारले अहिलेसम्म कुनै ठोस राहत प्याकेज उपलब्ध गराएको छैन । बालेनले यही घटनासँग जोडेर सञ्चारमाध्यमको भूमिकाप्रति असन्तुष्टि जाहेर गरेका हुन् । काठमाडौं महानगरपालिकाले अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बनाउने सञ्चारमाध्यमले डोटीका भूकम्पपीडितले कष्टकर दिन बिताइरहे पनि अनदेखा गरेको बालेनको आरोप छ ।
‘नेपालका दूरदराजमा नागरिकहरूले दुःख पाइरहदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भूकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय पनि मानिँदैन ।’
उनले अगाडि थपेका छन्–परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ । चितुवाको डर छँदैछ, त्यसमाथि पुस महिना सुरु भइसक्यो । जाडो बढेको छ । हिउँ पर्न सुरु हुन्छ । अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन । ती पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रूपमा चासोसम्म देखिँदैन । पीडितहरूको पीडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ ।’
यसैबीच, काठमाडौं महानगरपालिकाले डोटीका भूकम्पपीडितलाई १० लाख रूपैयाँ आर्थिक सहायता गरेको छ । महानगरपालिकाले विपद व्यवस्थापनअन्तर्गतको बजेटबाट डोटीका भूकम्पपीडितको राहतका लागि १० लाख रूपैयाँ सहयोग उपलब्ध गराएको हो । योभन्दा धेरै सहयोग गर्ने मन भए पनि महानगरका आफ्नै सीमाहरूले रोकेको बालेनले बताए ।
उनले डोटीका भूकम्पपीडितलाई सहयोग गर्न राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद, सरकारी तथा गैरसरकारी संघसंस्थालाई पनि आग्रह गरेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया