NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

देउवा बेचैन, उठ्न थाल्यो राजीनामा दिनुपर्ने माग

काठमाडौं । पाँच वर्षसम्म सत्ता राजनीतिको केन्द्रमा रहने अवसर कांग्रेसले गुमाएपछि सभापति शेरबहादुर देउवालाई पार्टीको कामकारबाहीमा फर्कन चुनौती बढेको छ । प्रधानमन्त्री पदमा हठ राख्दा ‘पार्टीको हातमा केही बाँकी नरहेको’ भन्दै कांग्रेसका नेता तथा कार्यकर्ताले देउवाको राजीनामा माग्न थालिसकेका छन् भने विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज पनि उठ्न सुरु भएको छ ।

देउवाले छैटौं पटक प्रधानमन्त्री भइहाल्ने अडान नछाड्दा पाँचदलीय गठबन्धन मात्र टुटेको छैन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका दलहरूसँग नयाँ समीकरण बनाएर प्रधानमन्त्री भएका छन् । कांग्रेस भने प्रतिनिधिसभा र सबै प्रदेशसभामा प्रतिपक्षमा बस्नुपर्ने अवस्था बनेको छ । प्रधानमन्त्री पद दाहाललाई दिन देउवा तयार भएको भए कांग्रेस राष्ट्रपति र सभामुखसहितका पदमा हकदार हुन्थ्यो । चार प्रदेशका मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी तयार भइसकेको थियो ।

देउवाको व्यक्तिगत हठले सबै अवसर गुमेको कांग्रेसका नेता–कार्यकर्ता बताउँछन् । समय छँदै निर्णय लिन नसक्दा राजनीति कति महँगो पर्छ भन्ने कुरा अहिले सावित भएको कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए । कांग्रेस महामन्त्री गगन थापा पार्टी महाधिवेशन र संसदीय दल नेताको चुनावमा प्रहरी परिचालन गर्ने गृह प्रशासन र प्रधानमन्त्री कार्यालयले बालकोट (ओली निवास) मा के भइरहेको छ भनेर थाहा नपाउँदा यो स्थिति आएको प्रतिक्रिया दिए । ‘नेतृत्व न स्मार्ट प्लेयर देखियो, न त ऊसँग सूचना रह्यो । निर्वाचनमा लोकप्रिय मत पनि ल्याउन सकेनौं, उल्टै ७/८ लाख मत गुमायौं । लोकप्रिय मत गुमाएर पनि चतुर्‍याइँपूर्ण रणनीति अपनाएर राजनीति जित्न सकेनौं । शनिबार बिहान एक पटक मात्रै हामीलाई बोलाइएको भए यो दुर्घटना हुँदैनथ्यो,’ उनले भने ।

पार्टी नेतृत्वले आफूको सामान्य आवश्यकता पनि महसुस नगरेको महामन्त्री थापाको गुनासो छ । ‘हामीलाई राष्ट्रपति, सभामुख, मन्त्री केही बन्नु थिएन । शक्तिको अपेक्षाबाट मुक्त भएकाले आफ्नो मत र विवेकको मत राख्ने ठाउँमा हामी दुवै महामन्त्री थियौं,’ उनले भने, ‘हामीसँग सूचना पनि थियो । पार्टी र मुलुकको हित सोचेर निर्णय लिनका लागि मत राख्ने र तत्कालको परिस्थितिको विश्लेषण गर्ने क्षमता पनि थियो ।’ अर्का नेता चन्द्र भण्डारीले नेतृत्व वरिपरिको समूहको स्वार्थका कारण यो परिणाम निम्तिएको बताए । ‘जसरी नेतृत्व र उनको वरिपरिका मान्छे चले, त्यो आफूकेन्द्रित थियो, पार्टी र मुलुककेन्द्रित थिएन । एउटा व्यक्तिको महत्त्वाकांक्षाका कारण एकै पटक पार्टीले ठूलो क्षति बेहोर्नुपर्‍यो, मुलुक निर्माणको संरचना बनाउने ठूलो अवसर थियो, त्यसबाट विमुख बन्नुपर्‍यो,’ उनले भने, ‘यसको निर्मम समीक्षा पार्टीमा हुनुपर्छ ।’

भण्डारी नेतृत्वले सक्रिय राजनीतिबाट अवकाश लिने बेला आइसकेको बताउँछन् । ‘स्वविवेकले नेतृत्व छाडेर युवा सुम्पनु राम्रो हो । असफल भएका बेला अपमानपूर्ण तरिकाले छाड्दिन भन्ने हो भने केही व्यवस्था गरेर छाड्दा राम्रो हुन्छ । अब यही नेतृत्वबाट पार्टीमा आकर्षण बढाउन सकिन्न, युवा नै आउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले तत्काल केन्द्रीय कार्यसमिति बैठक बसेर पार्टीको नीति अधिवेशन डाक्नुपर्नेमा जोड दिन्छन् । पार्टीभित्रका दाग र बेथिति हटाएर शुद्धीकरण गर्ने र नवजागरणको अभियान लिएर जाने कार्यक्रम पनि थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले बनाएका छन् ।

पार्टी स्थापना गरेको ६ महिनामै राज्य सत्ताको केन्द्रीय मुख्य भूमिकामा आउन सफल रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीका कारण पनि पुराना पार्टीमा चुनौती थपिएको कांग्रेस नेताहरू बताउँछन् । ‘६ महिनाको अवधिमै रवि लामिछाने गृह मन्त्रालयसहित उपप्रधामन्त्रीको महत्त्वपूर्ण भूमिकामा आए । हामी लामो समयदेखि पार्टीभित्र अन्तरसंघर्ष गरिरहेका छौं, जिम्मेवारी दिने कुरा छँदै छैन । पार्टीले निर्णय गर्दा पनि थाहा हुन्न,’ भण्डारीले भने, ‘अब पार्टीको नेतृत्व र संसद्को भूमिकामा युवाको प्रभावकारी हस्तक्षेप हुनुपर्छ । जनताको मुद्दालाई छुने गरी उठाउनुपर्छ ।’

अर्का युवा नेता प्रदीप पौडेल र नैनसिंह महर समीक्षा गर्न तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने बताउँछन् । कांग्रेसले एकसाथ सबै अवसर गुमाउनुका पछि नेतृत्वको गम्भीर त्रुटि नै जिम्मेवार रहेको पौडेलको ठम्याइ छ । ‘सरकार बनाउने जनमत कांग्रेसलाई प्राप्त हो । तर नेतृत्वको कुशल रणनीति नहुँदा सत्ताका सबै अवसरबाट हामी बाहिरिनुपरेको हो,’ उनले भने, ‘निर्वाचनमा सँगै गठबन्धनमा जाने तर निर्वाचनपछि गठबन्धन नै भत्काउने गरी नेतृत्वले लिएको बाटो गलत थियो । अर्कातर्फ माओवादीमा पनि चरम सत्ता लिप्सा झल्कियो । ओलीको प्रतिगमनविरुद्ध लडेको भनेर निर्वाचनमा गएका माओवादी अध्यक्ष दाहाल अन्ततः मुद्दालाई विसर्जन गर्दै ओलीको समर्थनमा प्रधानमन्त्री बन्नु नीति, दर्शन र विचार कुनैसँग पनि मेल खाँदैन ।’

नेता महर पार्टीका सबै पदाधिकारी नै अहिलेको घटनाका जिम्मेवार रहेको बताउँछन् । ‘पदाधिकारीहरूले जानकारी थिएन भने हस्तक्षेप गर्न सक्नुपर्थ्यो, त्यस्तो प्रयास गरेको देखिएन,’ उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीले यसको जिम्मेवारी लिनुपर्छ । तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाएर समीक्षा गरिनुपर्छ ।’

सानो कोटरी चलाएर उनीहरूकै उक्साहटमा अघि बढ्दा नेतृत्व पटक–पटक बुमर्‍याङ हुने गरेको बुझाइ कांग्रेस नेताहरूमा छ । ०७२ मा संविधान जारीपछि एमालेलाई सरकारको नेतृत्व दिने सहमतिविपरीत तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर नेतृत्व ‘फसेको’ थियो । त्यतिबेला पनि भारतको विश्वासमा पर्दा कांग्रेस फसेको नेताहरू बताउँछन् । त्यस्तै ०७४ को निर्वाचनमा कांग्रेससँगै रहेको माओवादी एमालेसँग गठबन्धन बनाएर चुनाव लड्यो ।

संविधान जारी गर्दा आफ्नो सरोकार पूरा नभएको भनेर भारतले नाकाबन्दी लगाउँदा कांग्रेस केन्द्रीय कार्यसमितिले नाकाबन्दीसम्म भन्न नसक्दा ०७४ को निर्वाचनमा क्षति पुगेको कांग्रेस नेताहरू नै बताउँछन् । ‘तत्कालीन नेकपा नेतृत्वको सरकारले कालापानी र लिम्पियाधुरा समेटेर नक्सा जारी गर्दा पनि कांग्रेस नेतृत्वलाई विपक्षमा बस्न भारतको ठूलो दबाब थियो । गगन थापा, विश्वप्रकाश शर्मा र मीनेन्द्र रिजालसहित केही युवा नेताको दबाबले मात्रै कांग्रेस त्यतिबेला नक्साको समर्थनमा गएको हो,’ कांग्रेसका एक नेताले भने, ‘पटकपटक भारतको विश्वासमा पर्दा कांग्रेसले ठूलो क्षति बेहोर्नुपरेको छ । अहिलेको घटना पनि त्यसैको पछिल्लो शृंखला हो ।

देउवा आमनिर्वाचनलगत्तै कहिल्यै प्रधानमन्त्री भएका छैनन् । बीचमा विकसित राजनीतिक घटनाक्रमका कारण मात्रै उनले सत्तारोहण गरेको इतिहास छ । देउवा २०५२, २०५८, २०६१ २०७४ र ०७८ मा प्रधानमन्त्री बनेका हुन् । उनी पछिल्लो पटक प्रधानमन्त्री हुँदा पनि जनादेश कांग्रेसको पक्षमा थिएन । प्रतिनिधिसभामा एमाले र माओवादीको वाम गठबन्धन (पछि नेकपा) को करिब दुई तिहाइ सिट थियो भने कांग्रेस प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी ६३ सिटमा सीमित थियो । तत्कालीन नेकपाको विवादले पार्टी एकतापूर्वको अवस्थामा फर्केपछि माओवादी र एमालेबाटै फुटेको एकीकृत समाजवादीको सहयोगमा देउवा प्रधानमन्त्री बनेका थिए । मंसिर ४ को चुनावमा प्रत्यक्षमा ५७ सहित कुल सिट संख्या ८९ पुर्‍याएर पहिलो दल बन्दा भने कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको जसरी पनि प्रधानमन्त्री बन्ने आकांक्षा र राष्ट्रपति तथा प्रधानमन्त्री दुवै पद अर्को दललाई नदिने देउवाको अडानका कारण कांग्रेस सत्ता राजनीतिको किनारामा पुगेको हो । ‘यो घटनाले सभापति देउवाको प्रधानमन्त्री भइरहने महत्त्वाकांक्षा मात्रै भत्किएन, लाखौं कार्यकर्ताको मनोबल र आत्मविश्वास भत्कियो । पार्टीका थुप्रै नेताका सपना र सम्भावना भत्किए, कांग्रेसलाई मत दिने मतदाताको मन भत्कियो,’ कांग्रेसका एक नेताले भने, ‘एउटा नेताले समयमा निर्णय लिन नसक्दा राजनीतिले कस्तो मोड समात्छ भन्ने भेउ पाँच पटक प्रधानमन्त्री भएकाले पाउन नसक्नु दुर्भाग्य हो ।’

देउवाले अन्तिमसम्म हठ राख्नुका पछि पत्नी आरजु राणामार्फत भारतले दिएको आड र भरोसा मुख्य कारण रहेको कांग्रेस नेताहरू बताउँछन् । त्यसपछि उनको सानो समूहका सहयोगीहरू मुख्य जिम्मेवार रहेको उनीहरूको भनाइ छ । देउवाको कोर समूहमा उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की, पार्टी प्रवक्ता प्रकाशशरण महत थिए । पछिल्लो समय नेता विमलेन्द्र निधि पनि जोडिएका थिए । देउवाले खड्का र कार्कीलाई पूर्ण विश्वासमा राखेका थिए । देउवालाई दबाबमा राख्न सक्ने सबैभन्दा बलशाली भने पत्नी आरजु नै थिइन् । अहिले देउवा समूहभित्रै पनि यो घटनाको दोष एकअर्कालाई दिन सुरु भएको छ ।

प्रधानमन्त्री छाडेर भए पनि अरू पद गुमाउन हुन्न भन्ने अडानमा खड्का रहेको स्रोतको भनाइ छ । उनीहरूका अनुसार माओवादीलाई सुरुमा सरकारको नेतृत्व दिन महत र कार्की सबैभन्दा बढी अनुदार थिए । तर, महतले गठबन्धनमा आफ्नो भूमिका नै नभएको बताए । ‘शनिबार बालुवाटारबाट प्रचण्डजी बाहिरिएपछि गठबन्धन टुट्यो भन्ने खबर आएपछि म पुगेको हुँ । बालुवाटारमा पूर्णजी, ज्ञानेन्द्रजी हुनुहुन्थ्यो । पछि शंकर भण्डारी आउनुभयो । मुख्यसचिव पनि हुनुहुन्थ्यो । म त कार्यदलमा पनि छैन । गठबन्धनको बैठकमा कहिल्यै सहभागी छैन । तर, सभापतिलाई भेटेका बेला प्रधानमन्त्री दिएर पनि गठबन्धन कायम राख्नुपर्छ भन्ने सुझाव दिएको हो । मेरो कुरा भित्र र बाहिर यही हो,’ महतले भने । कान्तिपुर दैनिकमा खबर छ

 

ताजा अपडेट

नेपालवाच विशेष