यस्तो छ शेखर र गगनको अबको रणनीति

काठमाडौं । नेता शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको इतर समूहले पछिल्लो सत्ता राजनीतिमा आएको नाटकीय परिवर्तनमा नेतृत्व जिम्मेवार रहेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब दिने रणनीति लिएको छ । नयाँ सरकार गठनपछि पहिलोपटक बसेको यो समूहका नेताहरूको बैठकले प्रारम्भिक समीक्षासहित सभापति देउवामाथि दबाब बनाउने रणनीति बनाएको हो । पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा गर्न २२ पुसमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।
इतर समूहका नेताहरूको बुधबारको बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार सभापति देउवाले संस्थागत निर्णय नगरी पार्टीका पदाधिकारीभन्दा सभापतिनिकट ‘सानो गिरोह’मार्फत डिल गर्दा कांग्रेस ठूलो दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष छ । उनले यसबारे समूहमा व्यापक छलफल गरेर केन्दीय समिति बैठकमा प्रस्तुत हुने बताए ।
थप रणनीति बनाउन केही दिनमा केन्द्रीय समिति सदस्य र पदाधिकारी , १४औँ महाधिवेशनमा केन्द्रीय समितिमा पराजित नेता, प्रदेश सभापति र सभापतिमा पराजित नेताको भेला बोलाउने निर्णय गरेको छ । ‘ठूलो पार्टीका हिसाबले सरकारमा दाबी गर्नु स्वाभाविक थियो, तर परिस्थितिको जटिलता हेरेर पार्टी पदाधिकारी, सम्भव भए केन्द्रीय समिति या कार्यसम्पादन समिति बोलाएर निष्कर्षमा पुग्नुपथ्र्यो । तर, सभापतिनिकट ‘सानो गिरोह’ले डिल गर्दा कांग्रेस ठूलो दुर्घटनामा पर्यो । यो नेतृत्वको असफलता होे,’ केसीले नयाँ पत्रिकासँग भने, ‘छिट्टै समूहको भेला बोलाएर समीक्षा र केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्छौँ । राजीनामा माग्ने, विशेष महाधिवेशन बोलाउने या के गर्ने भन्ने बैठकबाट टुंगो लगाउँछौँ ।’
केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बैठकमा गल्ती गर्नेलाई अनिवार्य रूपमा स्पष्टीकरण माग्ने विषयमा छलफल भएको बताए । ‘अनौपचारिक रूपमा छलफल भयो । गल्ती गर्नेलाई आत्मालोचना र स्पष्टीकरण माग्ने विषयमा पनि छलफल भयो,’ उनले भने । त्यस्तै, बैठकमा प्रदेश संसदीय दलको निर्वाचनमा आफ्नो समूहका उम्मेदवार खडा गर्ने र सम्बन्धित प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित गराउन भूमिका खेल्ने विषयमा समेत छलफल भएको थियो ।
सत्ता राजनीतिबाट बढारिनुपर्ने अवस्था आएपछि कांग्रेस सभापति देउवा रक्षात्मक अवस्थामा छन् । प्रधानमन्त्री नछाड्ने देउवाकै अडानले एमालेसहितका सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्को पहिलो दल प्रतिपक्षमा बस्ने परिस्थिति बनेको छ ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू मीनेन्द्र रिजाल, नेता केसीलगायत काठमाडौंमा उपलब्ध पदाधिकारीसहितका नेताको बैठक बसेको थियो । इतरले नीति– अधिवेशनका लागि समेत दबाब दिने तयारी गरेको छ ।
एक नेताका अनुसार इतरले सभापतिसँगै उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, आरजु राणा देउवालगायतलाई जिम्मेवार मानेको छ । तर, कांग्रेस प्रवक्ता तथा देउवानिकट नेता डा. महतले इतर समूहका जिम्मेवार पदाधिकारीसहितका नेताले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए ।
पार्टीको निर्णय कार्यान्वयन र निर्णायक भूमिका निभाउनुपर्ने पदाधिकारीले दोहोरो चरित्र देखाएको र यसबारे केन्द्रीय समितिमा छलफल हुने डा. महतको जिकिर छ । ‘आफूले केही भूमिका नखेल्ने र अरूलाई दोष लगाउनेभन्दा गैरजिम्मेवार के हुन्छ ? महामन्त्रीले कुरेर बसेँ भन्नुभयो । पार्टीको कामका लागि महामन्त्रीले पर्खिनुपर्छ ? केन्द्रीय कार्यसम्पादन समितिले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘यो नहुने अवस्थामा गठबन्धनको निरन्तरताका लागि विकल्प के भनेर कुरा राख्नुपथ्र्यो । उहाँहरूले जिम्मेवारी नै होइन भन्न मिल्छ ? प्रधानमन्त्री प्रचण्डलाई नै दिएको भए पनि पहिलो पार्टीले तेस्रो पार्टीलाई प्रधानमन्त्री दियो भनेर आलोचना हुने नै थियो । यो दोहोरो चरित्र भयो ।’
४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा पहिलो बनेको कांग्रेस देउवाको प्रधानमन्त्री बन्ने अडानका कारण अन्तिम अवस्थामा प्रमुख प्रतिपक्ष दल बन्नुपर्ने अवस्थापछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । यसको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आवाज पनि कांग्रेस असन्तुष्ट समूहले उठाएको छ ।
इतर समूहको बैठकमा देखिएनन् महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल
इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौेडेल भने उपस्थित भएनन् । संसदीय दलको निर्वाचनमा इतरको कित्तामा उभिएसँगै इतरको महŒवपूर्ण निर्णय प्रक्रियाका नेताद्वयको उपस्थिति चासोको विषय बनेको थियो । नेता केसीले सबैलाई जानकारी नगरिएको र काठमाडौंमा उपलब्ध नेताबीच सामान्य छलफल मात्रै भएकाले उपस्थित नभएको बताए । ‘यो सामान्य छलफल थियो, सबैलाई जानकारी थिएन । उहाँहरूलाई जानकारी नभएकाले आउनुभएन । अब बस्ने बैठकमा व्यापक छलफल र रणनीति तय हुन्छ । त्यो बैठकमा उहाँहरूको उपस्थिति रहनेछ,’ केसीले भने ।
नेता पौडेलले भने बैठकबारे आफूले जानकारी नपाएकाले बैठकमा उपस्थित नभएको बताए । ‘बैठकबारे जानकारी थिएन,’ पौडेलको प्रतिक्रिया छ । ६ पुसमा संसदीय दलको नेता चयनको प्रक्रियासँगै महामन्त्री शर्मा र पौडेल रूपान्तरणको पक्षमा भन्दै इतर समूहको पक्षमा उभिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया