NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

जजिरा काठमाडौं फर्कियो, भैरहवाको उडान ठप्प

काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं कम भएको छ । त्यसमाथि खराब मौसममा अवतरण गराउने प्रणाली सञ्चालनमा भारतले असहयोग गर्दा हिउँदका लागि उडान नहुने स्थिति छ ।

जहाजलाई अवतरण गराउँदा सटीक मानिने उपकरणमा आधारित अत्याधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिए पनि सञ्चालनमा भारतले असहमति राखेको छ । यो प्रणाली सञ्चालन नभएकाले खराब मौसमको सामना गर्न नसक्ने भन्दै कुवेतको जजिरा एयरवेजको जहाज सिधै काठमाडौं आउन थालेको छ । भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेको जजिरा काठमाडौं फर्किएसँगै अरू अन्तर्राष्ट्रिय वायुसेवा पनि हच्किएका छन् ।

खराब मौसम, हिमपात र अँध्यारोमा जहाजलाई सुरक्षित अवतरण गराउन मार्गदर्शन गर्ने आईएलएस विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । यसकै आधारमा एरोथाईको विशेष विमानले परीक्षण उडान गरेको थियो ।

कुनै पनि विमानस्थलको विवरण विश्वभरका वायुसेवाका लागि एयर र्‍याकमा प्रकाशन गर्नुर्पर्छ । तर गौतम बुद्ध विमानस्थलको ‘बफर–एरिया’ भारतीय वायु क्षेत्रमा पसेको भन्दै भारतले आईएलएस सञ्चालनमा सहमति दिएको छैन । त्यसैले नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थललाई एयर र्‍याकमा प्रकाशन गर्न नसक्दा व्यावसायिक उडान प्रभावित भएका छन् ।

‘भैरहवा विमानस्थलमा अवतरण हुने विमान भारततर्फ जाने होइनन्, आईएलएस प्रणालीको बफर (प्रोटेक्सन) एरिया भारतको वायु क्षेत्रमा पसेको हो । यो भनेको सीमा क्षेत्रमा रहेका रेडियो वा मोबाइलको सिग्नल पारिपट्टि अर्को देशमा गएजस्तो हो, जहाजै प्रवेश गरेको अवस्था होइन,’ प्राधिकरणमा रहेका यस विषयका एक जानकारले भने, ‘हामी कुनै पनि समयमा आईएलएस सञ्चालन गरेर सेवा दिन सक्छौं तर त्यसका लागि भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिइसकेका छन् । उताको सहमति मात्रै कुरेका हौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।