NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

जारको पानीमा चरम कालोबजारी : ५० रूपैयाँको जारमा ३२ नाफा

काठमाडौं । अधिक मुनाफा खोज्ने बिचौलियाका कारण बजारमा पाइने सामान्य जार र बोतलको पानी दोब्बर महँगो भएको छ । पानी उद्योगले सप्लायर्सलाई सस्तोमा दिए पनि बिचौलियाले झन्डै तेब्बर कमिसन खाँदा बोतल र जारको पानीमा उपभोक्ता ठगिएका हुन् ।

पानी उद्योगबाट उपभोक्ताले सीधै पानी खरिद गर्न पाउँदैनन् । सरकारी तवरबाट जार र बोतलको पानी बिक्री–वितरण गरिँदैन । निजी कम्पनीको एकाधिकार हुँदा मूल्यमा पनि उनीहरूको मनोमानी छ । हाल उपत्यकामा एक सय ५० वटा पानी उद्योग छन् । यी उद्योगले उपत्यकाभर जार र बोतलको पानी सप्लाई गर्छन् ।

देशभर वितरण गरिने जार र बोतलको पानी सोझै उद्योगबाट उपझोक्ताकहाँ पुग्दैन । त्यहाँ दुईथरी बिचौलिया हाबी हुन्छन्, एउटा सप्लायर्स र अर्को पसले । उद्योगबाट कमिसन खाएर सप्लायर्सले पसल–पसलमा खानेपानी पुर्‍याउँछन् । उनीहरूले थप नाफा खाएर बल्ल उपभोक्तालाई बेच्छन् ।

उद्योगले प्रतिजार १८ रुपैयाँका दरले डिपो तथा सप्लायर्सलाई दिन्छन् । सप्लायर्सले पसलेलाई प्रतिजार २५–३० रुपैयाँले दिन्छन् । तर, पसलेले २० रुपैयाँ कमिसन खाएर प्रतिजार ५० रुपैयाँमा बेच्ने गरेका छन् ।

त्यस्तै, उद्योगले प्रतिबोतल ११ रुपैयाँमा दिने पानी उपभोक्तासम्म पुग्दा २० रुपैयाँ पर्छ । पानी उद्योगले १२ वटा बोतलसहितको पानीको कार्टुनलाई एक सय २० रुपैयाँमा बेच्छन् भने बिचौलियाले १५०–१७० भन्दा महँगो मूल्यमा बिक्री गर्दै आइरहेका छन् ।

उपत्यकामा दैनिक दुई लाख जार र २० देखि ३० हजारसम्म पानीका बोतलका प्याकेट बिक्री हुने गरेका छन् । यसलाई आधार मान्ने हो भने बिचौलिया र पसलेले जारमा दैनिक ६४ लाख र बोतलका प्याकेटमा दैनिक ३६ लाख मुनामा कमाउँछन् ।

जार र बोतलको पानी उद्योग, सप्लायर्स र पसलेलाई होसियार गराउने निकाय नेपाल वाटर उद्योग बोतल संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, सिडिओ कार्यालय हुन् । तर, यी निकायले जार र बोतलको खानेपानीमा बिचौलियाले गर्दै आइरहेको मनोमानीलाई निगरानी गरेको पाइन्न ।

उपभोक्ताकर्मी ज्योति बानियाँले पानीमाथि कालोबजारी भएको बताए । उनले खानेपानीमा हुँदै आएको बिचौलियाको हाबीलाई रोक्नुपर्ने बताए । ‘अहिले बोतल र जारको पानीमा भइरहेको कालोबजारी अन्त्य हुनुपर्छ,’ उनले भने, ‘उद्योगीहरूभन्दा पनि यसमा सप्लायर्स र पसलेले ठगी गरेका छन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।