भारत जाँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको छ । फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन भएलगत्तै फागुन अन्तिम सातादेखि चैत पहिलो साताबीच प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने तयारी छ । भ्रमणको निमन्त्रणा लिएर भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने गरी दिल्लीमा तयारी भएको छ ।
प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए । प्रचण्डले दिल्लीस्थित नेपाली दूतावासले भ्रमणको तयारीमा काम गरिरहेको बताएका थिए ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमण तयारीबारे सञ्चारमाध्यममा भन्न मिल्ने विषय अहिले नभएको बताइन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पनि भ्रमणका विषयमा प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले पठाएको बधाई सन्देश १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए ।
कूटनीतिक स्रोतका अनुसार मोदीको चिठीमा बधाई सन्देश मात्रै उल्लेख छ, निमन्त्रणा छैन । ‘पछिल्लोपटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्रीबाट बधाई सन्देश मात्रै आएको छ, उहाँहरूभन्दा पहिला बधाई सन्देशमा निमन्त्रणा पनि आउँथ्यो, यसपटक बधाई मात्रै आएको छ,’ कूटनीतिक स्रोतले भन्यो । प्रधानमन्त्री प्रचण्डलाई विदेशबाट आएका बधाई सन्देशमध्ये बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको सन्देशमा मात्रै भ्रमणको निमन्त्रणा दिइएको छ ।
कूटनीतिक स्रोतका अनुसार माघ अन्तिम सातादेखि फागुन पहिलो साताबीचमा विदेशसचिव क्वात्रा नेपाल आउने तयारी छ । ‘भारतीय विदेशसचिवको भ्रमण पनि हुन्छ, प्रधानमन्त्री प्रचण्डको पनि भारत भ्रमण हुन्छ । तर, मिति तय हुने क्रममा छ,’ कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो । यसअघि परराष्ट्रसचिव भरतराज पौड्यालले २८ देखि ३० भदौसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय विदेशसचिव क्वात्रालाई पौड्यालले त्यसवेला नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका थिए । पौड्यालको निमन्त्रणामा क्वात्राले नेपालको भ्रमण गर्ने तयारी भएको हो । भारतीय विदेशसचिव क्वात्राले ४ देखि ६ माघमा भुटानको भ्रमण गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठ ०७९ मा लुम्बिनी भ्रमणमा आउँदा उनले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । त्यसवेला प्रधानमन्त्री देउवालाई मोदीले निमन्त्रणा दिएका थिए । ‘अहिले प्रधानमन्त्री देउवा नभए पनि नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीका तर्फबाट दिइएको निमन्त्रणा हो । त्यो निमन्त्रणा बहालवाला प्रधानमन्त्रीको हकमा लागू हुन्छ,’ एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीज्यू भारतीय पक्षसँग सम्पर्कमा हुनुहुन्छ, कूटनीतिक च्यानलबाट भ्रमणको तयारी भइरहेको छ ।’ नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया