NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बालेनको इजलास कक्ष रहेको बागदरबार ढल्ने अवस्थामा

छानामा लामा–लामा घाँस उम्रिएका छन् । झ्यालका सिसा र काठ बाहिर निस्किन थालेका छन् । सामानहरू यत्रतत्र छरिएका छन् । शौचालय फोहोरपानीले टिलपिल भएको छ । गाह्रो जुनसुकै वेला ढल्ने अवस्थामा छ । यो पुरातात्वि भवन बागदरबार जहाँ काठमाडौं महानगरका मेयर र उपमेयरको इजलास कक्षदेखि न्यायिक समिति, कानुन तथा मुद्रण विभाग र नगर प्रहरी बलको कार्यालयसमेत छ । यी शाखाले दैनिक कामकाज यहीँबाट गर्दै छन् । तर, १२ वैशाख ०७२ को भूकम्प र त्यसपछिका परकम्पले थिलथिलो बनेको बागदरबार पुनर्निर्माणमा महानगरले बेवास्ता गरेको छ ।

आफ्नै कार्यालय भवन जीर्ण अवस्थामा रहे पनि महानगरले भवन रेक्ट्रोफिटिङ (प्रबलीकरण) वा मर्मतमा कुनै चासो नदेखाएको हो । काठमाडौं महानगरको मेयर निर्वाचित भएर आएसँगै बालेन्द्र साहले विभिन्न जोखिमपूर्ण भवन निर्माणसहितका अभियान सुरु गरेका छन् । तर, महानगरकै दैनिक कामकाज हुने जीर्ण भवन मर्मत र पुनर्निर्माणमा बेवास्ता गरेको आरोप छ । दैनिक सयौँ सेवाग्राही पुग्ने कार्यालय भवनको ‘रेक्ट्रोफिटङ’बारे उनी मौन छन् ।

महानगरका अनुसार उक्त भवन ‘रेक्ट्रोफिटिङ’का लागि पहल सुरु भएको छैन । ‘यो भवनबारेको निर्णय अबको नगरसभाले गर्छ । हालसम्म भवनको रेक्ट्रोफिटिङबारे कुनै पनि छलफल भएको छैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘नीति तथा कार्यक्रममा पनि बागदरबार ‘रेक्ट्रोफिटिङ’को विषय उल्लेख छ । मेयरसाबको प्राथमिकतामा पर्‍यो भने कार्यान्वयनमा जाने हो, होइन भन्ने समय त लाग्छ ।’ प्रवक्ता मानन्धरका अनुसार कार्यालय भवन प्रयोजनका लागि टेकुमा भवन निर्माणको चरणमा छ । अन्य ठाउँमा समेत भवन निर्माणबारे प्रस्ताव भएका कारण बागदरबार ‘रेक्ट्रोफिटिङ’ हुने–नहुने आगामी नगरसभाले निर्णय गर्ने उनले बताए ।

नीति तथा कार्यक्रममै उल्लेख भएको बागदरबारको विषयमा अहिलेसम्म थप छलफल भएको छैन । महानगरले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा साबिकको महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको ११ नम्बर वडास्थित हरिभवन अर्थात् बागदरबारको प्रबलीकरण गर्न आवश्यक प्रबन्ध मिलाइने उल्लेख छ । कार्यालय सञ्चालनका लागि सोही परिसरमा थप संरचना निर्माण गरिने पनि उल्लेख गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष