NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

बलात्कार आरोपमा निलम्बित सन्दीपलाई अनुशासनमा सफाइ

नाबालिग बलात्कार आरोप लागेको आधारमा पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) ले फुकुवा गर्दा भने निर्णयमा अनुशासन उल्लंघनको विषय उल्लेख गरेको पाइएको छ । जसरी भए पनि लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा ल्याइछाड्न लागिपरेको क्यानले निलम्बन गर्दाको भन्दा भिन्दै आधारमा फुकुवाको निर्णय गरेको हो ।

नाबालिग बलात्कार आरोपमा लामिछानेमाथि गत भदौ २१ मा गौशाला प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दियो । दुई दिनपछि क्यानले लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको थियो । क्यानका तत्कालीन कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले भदौ २३ मा जारी गरेको विज्ञप्तिमा ‘सन्दीप लामिछानेउपर जबर्जस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ’ भनिएको थियो ।

नाबालिग बलात्कारको आरोप लाग्नेबित्तिकै लामिछानेलाई निलम्बन गर्ने क्यानको निर्णय उनीविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गर्नुअघि नै भएको थियो । जमैकामा सीपीएल खेल्न लागेका बखत उजुरी परेपछि उनलाई टिमले हटाएको थियो । त्यसपछि नेपाल फर्किएर अनुसन्धानमा सघाउने उल्लेख गरेका लामिछाने एकाएक सम्पर्कविहीन भएका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले असोज ७ मा ‘डिफ्युजन नोटिस’ जारी गरेपछि भने लामिछाने नेपाल आएका थिए । उनलाई असोज २० मा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।