NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

श्रमिकको शवमा पनि ठगी

काठमाडौं । रोजगारीका लागि कुवेत गएका दाङको घोराही उपमहानगरपालिका– १३ सेवारका २६ वर्षीय गंगाबहादुर घर्तीमगर गत साउनमा कम्पनीले दिएको छुट्टीमा घर आएका थिए । २७ साउनको राति खाना खाएर सुतेका उनी बिहान उठेनन् । नौ महिनाको छोरा र २१ वर्षीया श्रीमती रविनालाई छाडेर उनी सधैँका लागि बिदा भए ।

श्रीमानकाे अन्तिम संस्कारको काम सकेपछि रविना संघर्षका पहाड सम्झिएर सुस्ताउँदै थिइन् । असोजको अन्तिमतिर दुई अपरिचित उनको घरमै पुगे । उनीहरूले रविनालाई गंगाबहादुरले सरकारबाट सहायता रकम पाउने सुनाए । कमाइ गरेर पाल्ने श्रीमान्को देहावसान भए पनि उनकै नाममा सरकारबाट आर्थिक सहयोग पाउने सुनेर रविनालाई केही राहत महसुस भयो । ती व्यक्तिले सहायता प्राप्त गर्न काठमाडौं जानुपर्ने पनि बताए । रविना दुई दाइ र जेठानीसमेत साथमा लिएर काठमाडौं आइन् । काठमाडौं आएपछि ती दुई व्यक्तिले ‘वैदेशिक रोजगार बोर्डले दिने सात लाख रुपैयाँबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख आफूहरूलाई दिनुपर्ने’ प्रस्ताव राखेको रविनाले बताइन् ।

भोलिपल्ट दलालहरूसँगै रविना वैदेशिक रोजगार बोर्ड पुगिन् । बोर्डले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न पठायो, नयाँ बानेश्वरस्थित बैंकको शाखामा पुगिन् । त्यही वेला उनलाई ‘सामी कार्यक्रम’ दाङकी संयोजक बसान्ता पुनको फोन आयो । रविनालाई दलालहरूले फसाउन लागेको सूचना पाएकी बसान्ताले त्यसबारे जानकारी गराउँदै तुरुन्त दाङ फर्किन सल्लाह दिइन् ।

‘बसान्ताको फोनपछि छाँगाबाट खसेझैँ भएँ । कतै दलालले ज्यान नै लिने पो हो कि भन्ने पनि डर लाग्यो,’ रविनाले भनिन्, ‘तर, उनीहरूसँग तत्काल कुनै प्रतिक्रिया नजनाई उम्किने सोच बनाएँ ।’ त्यसपछि उनले खाता खोल्न आनाकानी गरिन् । होटेलमा कागजपत्र छोडिएको बहाना बनाएर होटेल फर्किने निधो गरिन् । तर, उनी चढेको गाडीमा दलालहरू पनि चढे । ‘होटेलसम्म पुग्दा उनीहरूले पिछा गरे । होटेलको आफ्नो कोठामा छिरेपछि बाहिर निस्किनँ । उनीहरूलाई विभिन्न बहाना बनाउँदै आलटाल गरेँ,’ रविनाले घटनाबारे सुनाइन्, ‘भोलिपल्ट दाङ फर्किएँ ।’

दलालको पन्जाबाट उम्किएकी रविनाले ‘सामी कार्यक्रम’को सहयोगमा वैदेशिक रोजगार बोर्डबाट सात लाख पाइसकेकी छिन् । नेसनल लाइफ इन्स्योरेन्सबाट पाउनुपर्ने १४ लाखका लागि भने दाबीसहित कागजपत्र पेस गरेकी छिन् । ‘विमाको लागि कात्तिकमै कागजपत्र बुझाएको हो, तर अहिलेसम्म पैसा पाएको छैन,’ उनले भनिन् ।

पतीवियोगमा पर्नुभन्दा नौ महिनाअघि नै ससुरा गुमाएकी रविनाले श्रीमान्को मृत्युको चार महिनापछि सासु पनि गुमाइन् । उनीसँग केबल काखे छोरो मात्रै छन् । माटो र ढुंगाको गारो भएको भत्किन लागेको घरमा उनीहरू बस्दै आएका छन् ।

वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको परिवारले वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति रकममा दलालहरूले कसरी ठगी गर्छन् वा प्रयास गर्छन् भन्ने रविना एक उदाहरण मात्रै हुन् । यस्ता दर्जनौँ पीडित छन् । मृत्यु भएकाको परिवारले पाउने क्षतिपूर्तिमा बाह्य दलाल मात्रै होइन, बिमा कम्पनीकै पनि दलाली चलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २३ बिन्धीका ३५ वर्षीय मोस्तकिम नदाफ कतार गएको दुई महिनामै गत १३ असोजमा सडक दुर्घटनामा ज्यान गुमाए । वैदेशिक रोजगार बोर्डले उनको शव एक साताभित्रै परिवारलाई बुझायो । बोर्डबाट पाउने सहायता रकम पनि परिवारले पायो । तर, नदाफले म्यादी जीवन बिमा गरेको सूर्या–ज्योति लाइफ इन्स्योरेन्सले भने रकम भुक्तानीका लागि कमिसन मागेर निकै दुःख दियो ।