NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अनलाइन खाना अर्डर गर्नुहुन्छ ? सावधान ! हुन सक्छ फूड पोइजनिङ

हामीलाई अल्छि लागेको बेला होस् वा बाहिरको खाना खान मन लाग्दा, हिजोआज अधिकांशको रोजाइ अनलाइन अर्डर नै हुन्छ । हामी बाहिरको खाना घरको भन्दा धेरै रुचाउँछौं तर यसले स्वास्थ्यमा गम्भीर असर गरिरहेको हामीलाई थाहा हुन्न् ।

अनलाइन खाना अर्डरले नै भारतको केरलामा २० वर्षीया युवतीले ज्यान गुमाउनुपर्यो । उनले नजिकैको रेस्टुरेन्टबाट अनलाइन बिरयानी अर्डर गरेकी थिइन् । बिरयानी आएपछि उनालाई फूड पोइजनिङ भयो । एक सातासम्म चलेको उपचारपछि उनको अस्पतालमा मृत्यु भएको थियो । फूड पोइजनिङ दुषित भोजनको सेवनबाट हुने एक समस्या हो ।

चिकित्सकका अनुसार यसको मुख्य कारण नै बासी र सडेका खाना हो । जसले ब्याक्टेरिया तथा भाइरसलाई सक्रिय गराउँछ र हाम्रो शरीरमा पुर्याउँछ । फूड पोइजनिङ प्रायः एन्टाअमीबा, कैम्पिलोबैक्टर ब्याक्टेरिया, साल्मोनेला ब्याक्टेरिया, ई कोलाई ब्याक्टेरिया र नोरोभाइरसका कारण अधिक हुन्छ ।

फूड पोइजनिङले विकाराल रुप लिन पनि सक्छ । कुनै खाना खाएपछि पेट दुख्ने, पखाला लाग्ने तथा वाकवाक हुने जस्ता लक्षण देखिएमा फूड पोइजिङ भएको आशंका गर्नु पर्छ । त्यस्तै, फूड पोइजनिङ हुँदा ज्वरा आउने तथा शरीरमा डिहाइड्रेसन हुने हुन्छ ।

फूड पोइजनिङले कहिलेकाहीं गम्भीर झाडापखाला, जन्डिस जस्ता समस्या ल्याउन सक्छ । जसलाई समयमै नियन्त्रण गर्न जरुरी हुन्छ । मानिसहरु फूड पोइजिङलाई सामान्य मानेर अक्सर वेवास्ता गर्छन् । जसकारण यो नियन्त्रण बाहिर जान्छ ।

नियन्त्रणभन्दा बाहिर जाँदा यसले व्यक्तिलाई मृत्युको मुखसम्म पुर्याउन सक्छ । त्यसैले फूड पोइजनिङ हुँदा सावधान हुन अत्यावश्यक छ । यसले आन्द्राको अल्सरसमेत गराउँन सक्छ ।

कसरी बच्ने ?

खराब खाना खाँदा मात्र फूड पोइजनिङ हुन्छ। मनसुनको समयमा खानामा ब्याक्टेरिया धेरै छिटो बढ्छ । बाहिरबाट मात्रै होइन घरको खाना खाँदा पनि यो रोग लाग्न सक्छ । खानालाई लामो समय स्टोर गरेर राख्नाले यस्तो समस्या देखिन्छ जसले गर्दा उक्त खानामा ब्याक्टेरियाले प्रवेश गरिसक्छ । यसबाट बच्न ५ देखि ६ घण्टाभित्र पकाएको खाना खानुपर्छ ।

उक्त समयभन्दा बढि राखेको खानाले फूड पोइजनिङ गर्छ । त्यस्तै, प्रोटिनयुक्त खाना चाँडो बिग्रन्छ । दाल तथा अन्य प्रोटिन भएको खानेकुरालाई ३ देखि ४ घण्टामा खानु उचित मानिन्छ । खानामा अमिलोपन तथा सेतो क्रस्ट देखा पर्यो भने त्यस्तो खाना खाँदा फूड पोइजनिङ हुन्छ । खानामा रंग परिवर्तन भएको खानालाई टाढा राख्नाले यसबाट बच्न सकिन्छ ।

यसबाहेक अर्को बच्न उपाए भनेको तातो खाना हो । यसले ब्याक्टेरियालाई मार्छ र कम गर्छ । दुषित पानीको प्रयोगले पनि फूड पोइजनिङ हुन्छ । फूड पोइजनिङ विश्वकै एक सामान्य समस्या भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार १० जनामध्ये एक जना यसको शिकार हुन्छन् ।

त्यस्तै यसबाट ६० करोड मानिस प्रभावित हुने गरेका छन् । जसका कारण ४ लाख भन्दा बढिले ज्यानसमेत गुमाएका छन् । ५ वर्ष मुनिका ४० प्रतिशत बालबालिका दुषित खाना खाँदा बिरामी पर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

फूड पोइजनिङ भएमा के गर्ने ?

१)आराम लिनुहोेस् ।

२)शरीरमा पानीको स्तर कायम राख्न प्रशस्त पानी पिउनुहोस्।

३)खिचडी, केरा, गेडागुडी जस्ता हल्का खाना खानुहोस्।

४) चिकित्सको सल्लाह लिनुहोस् ।