NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

किन बढिरहेको छ नेपालमा शक्ति राष्ट्रको दौडधूप

काठमाडौं । पछिल्लो दुई महिनायता नेपालमा शक्तिराष्ट्रहरूबाट कूटनीतिक भ्रमण बाक्लिएका छन् । पुसयता अमेरिकाबाट तीनजना वरिष्ठ अधिकारीको भ्रमण भइसकेको छ भने चाँडै सुरक्षा मामिला हेर्ने अधिकारीको भ्रमण हुँदै छ । बेलायत, युरोपेली संघ र भारतबाट पनि भ्रमण भएको । छिमेकी चीनबाट भ्रमण भएको छैन । भ्रमणमा आउनेले उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् ।

१५–१६ माघमा राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले काठमाडौं भ्रमण गरिन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गरिन् । सञ्चारमाध्यमसँग उनले नेपालको चीनसँगको सम्बन्धबारे नरम धारणा राखिन् जब कि अमेरिकी अधिकारीहरू विगतमा नेपाल–चीन सहकार्यको विषयमा आलोचक थिए । अमेरिकाले पनि चीनसँग संवाद प्रक्रिया अघि बढाइरहेको उनको भनाइ थियो ।

राष्ट्रिय सुरक्षा परिषद्मा समेत रहेकी मन्त्रीस्तरीय हैसियतकी युएसएडकी प्रशासक समान्था पावरले २४–२५ माघमा नेपाल भ्रमण गरिन् । उनले नेपाललाई दिने सहयोगमा भूराजनीतिक एजेन्डा नहुने, तर लोकतन्त्र तथा पारदर्शिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् । पावरले १५ र १६ चैतमा भर्चुअल माध्यमबाट आयोजना हुने ग्लोबल डेमोक्रेसी समिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका तर्फबाट निमन्त्रणा दिइएको र प्रचण्डले स्वीकार गरेको जानकारी दिइन् ।

अमेरिकाबाट भ्रमणको सिलसिलामा दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर थपिइन् । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स हेर्ने निकायका अधिकारी रहेकी अख्तर सुरक्षा तथा अन्तर्राष्ट्रिय सीमापार मामिलासम्बन्धी निकायमा पनि कार्यरत छिन् । १–२ फागुनमा भ्रमण गरेकी उनले मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्रसचिव भरतराज पौड्याल र प्रधानसेनापति प्रभुराम शर्मासँग मात्रै भेटवार्ता गरिन् ।

अख्तरपछि अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा दक्षिण एसिया हेर्ने वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारको भ्रमण हुँदै छ । ‘भ्रमण चाँडै हुँदै छ, हामी केही दिनमै घोषणा गर्छौँ,’ एक कूटनीतिक अधिकारीले भने । उनी आगामी हप्ता काठमाडौं आउँदै छिन् ।

अमेरिकाबाट यस वर्ष विदेशमन्त्री एन्टोनी ब्लिंकेनको नेपाल भ्रमणका लागि पनि प्रयास भइरहेको छ । ‘यी सबै भ्रमण ब्लिंकेनको सम्भावित भ्रमणको गृहकार्य पनि हुन सक्छ । तर, अमेरिकाबाट स्पष्ट संकेतचाहिँ आइसकेको छैन,’ ति कूटनीतिक अधिकारीले भने ।

बेलायत, कोरिया, इयूबाट भ्रमण

अवकाशप्राप्त सैनिकहरूको मामिला हेर्ने बेलायतका रक्षामन्त्री डा. एन्ड्र्यु मोरिसनले २४ र २५ माघमा नेपालको भ्रमण गरे । उनले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग भेटवार्ता गरे । पूर्व गोर्खा सैनिकको सुविधालगायत दुई देशको सम्बन्धबारे छलफल भएको परराष्ट्रले जनाएको छ ।

कोरियाली राष्ट्रपतिका विशेष दूत सुन मिङ जाङले १ फागुनमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. पौड्याललगायतसँग भेटवार्ता गरे । अघिल्लो दिन २९ माघमा नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले परराष्ट्रमन्त्री पौड्याललाई भेटेर दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूतको भ्रमणप्रति असन्तुष्टि जनाएको परराष्ट्र स्रोतले बतायो । २९ माघमा काठमाडौं आएका उनी २ फागुनमा फर्केका थिए ।

युरोपियन युनियनका कमिस्नर जुट्टाले उर्पिलाइनेनले २५ माघमा नेपाल भ्रमण गरिन् । उनी मन्त्रीस्तरीय हैसियतकी हुन् । उनले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. पौड्याललगायतसँग भेटवार्ता गरिन् । नेपाल निम्न आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने सन्दर्भमा नेपाललाई दिने सहयोग निरन्तरताका विषयमा छलफल भएको थियो । यसअघि परराष्ट्रसचिव भरतराज पौड्यालले बसेल्समा युरोपेली युनियनका अधिकारीसँग छलफल गरेका थिए ।

भारतीय विदेशसचिवको म्याराथन

भारतीय विदेशसचिव विनयमोहन क्वात्राले १ र २ फागुनमा काठमाडौं बसाइमा एक दर्जनभन्दा बढी भेटवार्ता तथा नेपाली समकक्षी भरतराज पौड्यालसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा भएको उनको भ्रमणले कूटनीतिकभन्दा पनि राजनीतिक सन्देश दिएको जानकारहरूको भनाइ छ ।

‘भारतीय विदेशसचिवको यो समयको भ्रमण शासकीय बाध्यता हो । उनले नेपालमा दुई देशको एजेन्डामा भन्दा राजनीतिक विषयमा धेरै समय खर्च गरेका छन्,’ एक अनुभवी कूटनीतिज्ञले टिप्पणी गरे, ‘राजनीतिक उद्देश्यमूलक भ्रमणको परिणाम अहिले नै देखिँदैन, राष्ट्रपतीय निर्वाचनसमम कुर्नुपर्छ ।’ राष्ट्रपतिको निर्वाचनपछि नेपालबाट प्रधानमन्त्रीको भारत भ्रमण हुने पृष्ठभूमि तयार गर्न पनि क्वात्रा आएका थिए ।

छिमेकी चीनबाट भ्रमण मार्चपछि हुने कूटनीतिक स्रोतको भनाइ छ । चीनमा आगामी महिना प्रधानमन्त्रीसहित केही शासकीय नेतृत्वमा परिवर्तन हुँदै छ । त्यसपछि चीनबाट नेपालमा र नेपालबाट चीनमा भ्रमणको सिलसिला सुरु हुनेछ ।

नेपालबाट परराष्ट्रमन्त्री र रक्षामन्त्रीको भ्रमण

नेपालबाट द्विपक्षीय भ्रमण भएको छैन । एरो इन्डियाअन्तर्गत रक्षामन्त्रीहरूको सम्मेलनमा रक्षामन्त्री हरिप्रसाद उप्रेती १ फागुनदेखि ६ दिनका लागि भारतमा छन् । उनी शुक्रबार काठमाडौं फर्कंदै छन् । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको स्वतन्त्रता दिवसको अतिथिका रूपमा श्रीलंका भ्रमण (१९–२२ माघ) गरेर फर्किएकी छिन् । प्रचण्ड नेतृत्वको सरकारबाट विदेशमा उच्चस्तरीय भ्रमण भएको छैन । राष्ट्रपतिको निर्वाचनपछि हुने सत्ता समीकरणबाट मात्रै नेपालबाट बाह्य भ्रमण तय हुनेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष