NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

राष्ट्रपति निर्वाचनले नजिकिँदै ओली–नेपाल

काठमाडौं । पार्टी विभाजनपछि पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति निर्वाचनले नजिक्याउँदै लगेको छ । एमालेको प्रस्तावमा नेता नेपाललाई वाम पार्टीका तर्फबाट राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउनेदेखि पार्टी एकता गर्नेसम्मको छलफलमा उनीहरू जुटेका छन् ।

गत शनिबार पूर्वमन्त्री तथा समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)को महाराजगन्जस्थित निवासमा दुई नेताबीच भएको लामो छलफल मुख्यतः पार्टी एकता र राष्ट्रपति निर्वाचनको एजेन्डामा केन्द्रित थियो । दुवै एजेन्डालाई राष्ट्रपति निर्वाचनअगावै टुंगोमा पु-याउने उनीहरूको योजना छ ।

दुई नेताबीचको छलफलबारे जानकार एक एमाले नेताका अनुसार ओली र नेपालबीच यस्तो लामो र गम्भीर संवाद यसअघि २३ असार ०७८ मा भएको थियो, जतिखेर आन्तरिक विवादका कारण एमाले विभाजनको डिलमा थियो । नक्सालस्थित मेरियट होटेलमा झन्डै ५० मिनेट भएको दुई नेताबीचको वार्ता शक्ति बाँडफाँटमा केन्द्रित थियो । ओलीले दोस्रोपटक गरेको संसद् विघटनसम्बन्धी मुद्दाको फैसला आउने दिन नजिकिँदै थियो ।

‘निर्णायक’ भनिएको सो वार्तामा तत्कालीन प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि ‘निसर्त’ सहयोग गर्न नेता नेपालसँग प्रस्ताव गरेका थिए । तर, नेपालले सरकार र पार्टी संगठनमा ‘सम्मानजनक सहकार्य’ देखिने गरी शक्ति बाँडफाँट हुँदा मात्रै पार्टी एकतालाई बचाएर लैजान सकिने जवाफ दिए । दुवै नेताको पुरानै अडानका कारण वार्ता विनानिष्कर्ष सकिएको थियो । अन्ततः ८ भदौ ०७८ मा औपचारिक रूपमै एमाले विभाजन भयो । नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो ।

त्यसयता दुई नेताबीचको तिक्तता यति बढ्यो कि सार्वजनिक कार्यक्रममै एक–अर्कालाई व्यक्तिगत आक्षेप लगाउने तहसम्म उत्रिए । १८ वैशाखमा हेटौँडामा भएको चुनावी सभामा ओलीले भने, ‘माधव नेपालको नाम लिएर म एकछिनपछि मुख कुल्ला गर्छु । यस्ताको नाम किन लिने ? देशका कुलंघार हुन् ।

अन्तर्घाती, अन्तरध्वंशी हुन् । त्यस्ताको नाम किन लिने ?’ नेपालले पनि ओलीलाई ‘संविधान सखाप पार्ने नेपाली हिटलर, एक नम्बरको परपीडक र गफाडी’को संज्ञा दिए । ५ पुस ०७८ मा समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीमाथि उनको आरोप थियो, ‘गफमा ओलीलाई कसैले सक्दैन । गिनिज बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर १, केपी ओली । अरूलाई अपमान मात्रै गर्ने, तेजोबध मात्रै गर्ने, अरूलाई पीडा मात्रै दिने । परपीडक नम्बर १, केपी ओली भनिदिए हुन्छ ।’

पार्टी विभाजनपछि तिक्त सम्बन्धमा रहे पनि नयाँ गठबन्धन बनेसँगै ओली–नेपाल भेट हुँदा औपचारिकता निभाउँथे । गत ११ पुसमा प्रधानमन्त्री प्रचण्डको शपथग्रहण र ३ माघमा मन्त्रीहरूको शपथ समारोहमा राष्ट्रपति कार्यालयमा एउटै लहरमा रहेका दुवै नेताबीच सामान्य संवाद भएको थियो ।

२६ पुसमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदा ओली माओवादीप्रति सशंकित बनेका थिए । विश्वासको मतका नाममा कांग्रेसले गठबन्धन भत्काउन गरेको षड्यन्त्र भए असफल हुने भन्दै उनले संसद्मा सम्बोधन नै गरेका थिए । पछिल्लो समय एमालेभित्रैबाट राष्ट्रपति बन्ने अवस्था क्षीण बन्दै गएपछि गत शनिबार ओलीले पार्टी एकताको सर्तसहित नेता नेपाललाई राष्ट्रपतिको उम्मेदवार नै बन्न प्रस्ताव गरेका हुन् ।

‘दुवै नेताबीच छलफल चलिरहेको छ, उहाँहरूबीच हुने समझदारीअनुसार एमाले अगाडि बढ्छ,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नयाँ पत्रिकासँग भने, ‘अहिलेको गठबन्धनबाट राष्ट्रपति बन्न नदिने देशी–विदेशी शक्तिहरूको षड्यन्त्रको प्रतिवाद गर्दै असफल पार्न जुनसुकै विकल्पमा जाने गरी एमालेले हरसम्भव प्रयास गर्नेछ ।’

ओलीको प्रस्तावपछि नेता नेपालले प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल गरेका छन् । एमालेले उम्मेदवार बनाए पनि माओवादीको समर्थनविना उनी राष्ट्रपति बन्ने सम्भावना क्षीण छ । नेता नेपालसँग शनिबारको छलफलमा पृष्ठभूमि बाँध्दै एमाले विभाजित हुँदा कांग्रेस र माओवादीले फाइदा लिएको र त्यसले मुलुकको राजनीतिलाई नै अस्थिरतातर्फ धकेलेका कारण पार्टी एकता अपरिहार्य भएको भन्दै ओलीले छलफलको पहिलो एजेन्डा प्रस्तुत गरेका थिए । पार्टी एकतासँगै नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न पनि उनको प्रस्ताव थियो ।

‘पार्टी एकता गर्ने भएपछि राष्ट्रपति निर्वाचनमा पनि मिलेर अगाडि बढौँ । तपाईंको चाहना भए ठीकै छ, राम्रो भयो, छलफल गरेर अगाडि बढौँ,’ स्रोतका अनुसार ओलीको प्रस्ताव थियो । डेढ घन्टाभन्दा बढी समय ओली एक्लै बोलेका थिए ।ओलीले आफ्ना कुरा राखेपछि नेता नेपालले पार्टी एकताका लागि ठोस प्रस्ताव आउनुपर्ने धारणा राखेका थिए, नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष