कांग्रेस–माओवादी सहमतिनजिक, माधवलाई एक वर्ष प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार छनोटका विषयमा कांग्रेस र माओवादी सहमतिनजिक पुगेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका बालुवाटारमा भएको वार्ताअनुसार लिखित सहमति गर्ने तयारी छ ।
बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘पहिले राष्ट्रपतिका विषयमा सम्झौता गर्ने र पछि सत्ता सहकार्यसमेत गर्ने समझदारी भएको छ,’ ती नेताले भने ।
बालुवाटार वार्ताबाट कांग्रेस र माओवादी सहमतिनजिक पुगेलगत्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीले पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने बताए । ‘उम्मेदवार उठाउँछौं । अझै दुई दिन बाँकी छ । यसबीचमा घनीभूत वार्ता होला,’ उनले भने । राष्ट्रपतिमा कांग्रेस र माओवादीबीच सहमति भए गठबन्धनबारे पार्टीले आवश्यक निर्णय लिने पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
उपमहासचिव विष्णु रिमालले पनि पदाधिकारी बैठकबाट निर्णय गरेर शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने बताए । ‘तर, माओवादीसँग पुस १० मा भएको सहमति कार्यान्वयनका लागि निर्वाचनको दिनसम्म कुर्छौं,’ उनले भने ।
राष्ट्रपति निर्वाचित गराउन कांग्रेस र माओवादीको मात्र मतभार पर्याप्त छैन । त्यसैले राष्ट्रपतिमा दाबी गरिरहेको एकीकृत समाजवादीलाई मनाउन दुवै दलले कसरत गरिरहेका छन् । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले माओवादीले कांग्रेसलाई समर्थन गरेको अवस्थामा आफूहरूले पनि सघाउने संकेत गरे । ‘माओवादीले कांग्रेसलाई समर्थन गर्यो भने हामीले उम्मेदवार किन उठाउने ?’ उनले भने ।
एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल नै राष्ट्रपतिका आकांक्षी हुन् । एमालेबाट राष्ट्रपतिमा सुनिश्चित नदेखिएपछि अध्यक्ष केपी शर्मा ओलीले नै नेता नेपाललाई अघि सर्न प्रस्ताव राखेका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले नेपाललाई एक वर्ष भए पनि सरकारको नेतृत्व दिने गरी मनाउन खोजिरहेका छन् । यो विषयमा बिहीबार नेता नेपालसँग वार्ता गर्ने तयारी छ । गत पुस १० मा तत्कालीन पाँचदलीय गठबन्धन टुट्नुअघि पनि देउवा नेता नेपाललाई एक वर्ष भए पनि प्रधानमन्त्री दिनुपर्छ भन्ने भावप्रति सकारात्मक थिए । पार्टी नै विभाजन गर्ने जोखिम लिएर आफूलाई प्रधानमन्त्री बनाएकाले देउवा पाँचदलीय गठबन्धन बनेदेखि नै नेपालप्रति सकारात्मक थिए । सरकारको नेतृत्व गरेका बखत पनि देउवाले नेपालका चासोलाई सम्बोधन गर्थे ।
संसद्का दुई ठूला दल कांग्रेस र एमाले राष्ट्रपति आफ्नो पक्षमा पार्ने अन्तिम कोशिसमा छन् । बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङमध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । अपराह्न ५ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपाल नेताहरूसहितका देउवा निवास धुम्बाराही पुगेका थिए । त्यसको साढे एक घण्टापछि कांग्रेस सभापति देउवा दाहाललाई भेट्न बालुवाटार पुगे । यही वार्ताले माओवादी कांग्रेसबीच अनौपचारिक समझदारी बनाएको हो ।
राष्ट्रपति लिन कांग्रेस र एमालेबीच मुख्य रस्साकसी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको ‘इन्ट्री’ भएपछि राजनीति थप तरंगित बनेको थियो । माओवादी कांग्रेसतिर ढल्किँदा प्रदेश र संघको सत्तासमेत गुम्ने खतरा देखेपछि एमाले अध्यक्ष ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तत्कालीन नेकपाभित्रको शक्ति संघर्ष र पार्टी विभाजनपछि एकअर्कालाई दुश्मनकै शैलीमा व्यवहार गर्दै आएका ओली र नेपालबीच राष्ट्रपति निर्वाचनलाई नै लिएर गत शनिबार करिब चार घण्टा भेटवार्ता भएको थियो । एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको घरमा भएको वार्तालापमा ओलीले पार्टी समाहित गरेर राष्ट्रपतिमा उम्मेदवार बन्न नेपालसँग प्रस्ताव राखेका थिए । ओलीले नेपाललाई अघि सार्न प्रधानमन्त्री दाहालसँग बुधबार औपचारिक प्रस्ताव राखेका थिए ।
ओली र नेपालबीच राष्ट्रपतिको विषय मात्रै नभएर पार्टी एकीकरणका विषयमा समेत छलफल भएकाले कांग्रेस र माओवादी सशंकित बनेका थिए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासमा लिन र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मनाउन बुधबार छलफल गरेका थिए । राष्ट्रपतिमा नेपाललाई समर्थन गर्ने सम्भावना कम भएकाले सत्तामा संलग्न गराउने नीति प्रधानमन्त्री दाहालले लिएको माओवादीका एक नेताले बताए । ‘माधव नेपाल राष्ट्रपति हुनुभएन भने कुनै न कुनै रूपमा पावर सेयरिङमा सहभागी गराउने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने ।
एमाले अध्यक्ष ओली जसरी पनि कांग्रेसलाई राष्ट्रपतिमा रोक्ने प्रयासमा रहेको कांग्रेसका एक नेताले बताए । ‘आफ्नो पार्टीभित्र नहुने भएपछि नै उहाँले नेपालजीलाई अघि सार्नुभएको हो । नेपालजी तयार हुनुभएन भने लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि समर्थन गर्न सक्नुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘नेपालजीलाई अघि सार्नुका पछि पार्टी एकीकरणको स्वार्थ पनि छ । पार्टी एकीकरण भयो भने ठूलो दलको नेता हुन सकिने र सत्ताको छिर्के दाउमा कुनै पनि बेला प्रधानमन्त्री बन्न सकिने आस हुन सक्छ ।’
ओलीले औपचारिक रूपमै प्रस्ताव गरेका बेला नेपाललाई राष्ट्रपतिमा समर्थन गर्दा १० सिट रहेको एकीकृत समाजवादी एमालेमा समाहित हुने बुझाइ कांग्रेस नेताहरूमा छ । तर, अहिलेको संसद्मा सत्ता समीकरणका लागि १० सिट रहेको दलको पनि विशेष भूमिका हुने भएकाले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा एकीकृत समाजवादीलाई एमालेको कित्तामा पुर्याउनु हुन्न भन्नेमा देखिन्छन् ।कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया