आठदलीय गठबन्धनको अबको रणनीति

काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतभार सुरक्षित गर्न आठदलीय गठबन्धनले रणनीतिक योजनाका साथ अघि बढ्ने तयारी थालेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनको बैठकले मतभार सुरक्षित गर्न सम्पूर्ण शक्ति परिचालित गर्ने निर्णय गरेको हो ।
सांसदहरूलाई अभिमुखीकरणका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आठ सदस्यीय कार्यदल नै गठन गरिएको छ । गठबन्धनको मतभार सुरक्षित गरेर बाहिरका दल तथा स्वतन्त्र सांसदलाई समेत विश्वासमा लिने रणनीति बैठकको छ । २५ फागुनमा हुने निर्वाचनमा गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएको छ ।
‘राष्ट्रपति निर्वाचनमा कसरी अगाडि बढ्ने, गठबन्धनलाई कसरी मजबुत पार्ने, मतदातालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो,’ बैठकमा सहभागी जनमत पार्टीका नेता तथा खानेपानीमन्त्री अब्दुल खानले भने, ‘मतदाताका लागि अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय भएको छ । आवश्यक तयारी र मतभार सुरक्षित गर्न गठबन्धनका आठै दल सम्मिलित कार्यदल गठन गरिएको छ ।’
आठदलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादीका महासचिव देव गुरुङ, शक्ति बस्नेत, एकीकृत समाजवादीबाट महासचिव डा. बेदुराम भुसाल, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र शरत्सिंह भण्डारी, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र एलिजा गौतमलगायत उपस्थित थिए ।
बैठकको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले आठदलीय गठबन्धनलाई मजबुत बनाएर लानुपर्ने बताएका थिए । प्रचण्डले विपक्षी चलखेल बढेको भन्दै विशेष सतर्कताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘यो गठबन्धनलाई मजबुत बनाएर जानुपर्ने आवश्यकता छ । मतभार कसरी सुरक्षित गर्ने, मतदाताका लागि प्रदेशहरूमै कार्यक्रम राख्ने कि काठमाडौं बोलाउने हो ?’ प्रचण्डको भनाइ उद्धृत गर्दै खानेपानीमन्त्री अब्दुल खानले भने, ‘विपक्षी दल र नेता साह्रै सक्रिय भएका छन् । गठबन्धनलाई यताउता गर्न धेरै प्रयत्न भइरहेको छ । चलखेल गर्न नदिन हामी एकजुट भएर लाग्नुपर्छ । यसका लागि म आफैँ सक्रिय भएको छु । सबै नेता साथीहरूले आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्छ ।’
प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएका छन् । उनले भनेका छन्, ‘यो गठबन्धन बलियो साथ गएन भने हाम्रो लोकतन्त्रमाथि खतरा उत्पन्न हुन्छ । गणतन्त्रमाथि धावा बोल्नेहरू सक्रिय हुन थालेका छन् । त्यसकारण हामी एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’ प्रचण्डले गठबन्धनबाहिर रहेको लोकतान्त्रिक शक्तिलाई पनि साथमा लिएर जानुपर्नेसमेत बताएका थिए ।
प्रचण्डको भनाइमा अन्य नेताहरूले समर्थन जनाएका थिए । संक्षिप्त धारणा राखेका कांग्रेस सभापति शेरबहादुर देउवाले सबैको मिहिनेत आवश्यक रहेको बताए । उनले गठबन्धनबाहिरका दलहरूलाई पनि जोड्ने प्रयत्न गर्नुपर्ने बताएका छन् । ‘ठीक छ । हामी सबै जुटौँ, मिहिनेत गरौँ । गठबन्धन एकजुट आएर अगाडि बढ्नुपर्छ । गठबन्धनमा नभएका दलहरूलाई पनि जोड्ने प्रयत्न गरौँ,’ उनले बैठकमा भनेका थिए । देउवाले विगतमा संविधानमाथि प्रहार हुँदा दलहरूले मिलेरै प्रतिवाद गरेको स्मरणसमेत गराएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षमा गठबन्धनबाहिरका सांसदहरूसमेत सकारात्मक रहेको बताएका छन् । गठबन्धनबाहिरका धेरै नेताहरूसँग भेट गरेको र आफूप्रति सकारात्मक धारणा पाएको उनको भनाइ थियो । ‘मैले आफैँ पनि गठबन्धनबाहिरका धेरै नेताहरूसँग भेट गरिसकेको छु । मप्रति सबै पजिटिभ नै हुनुहुन्छ । यो गठबन्धन आजको आवश्यकता हो । गठबन्धन दलका सबै साथी एकजुट भएर अगाडि बढौँ,’ उनले बैठकमा भने ।
एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले संविधान र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर जानुपर्ने धारणा राखेका छन् । ‘एकजुट भएर राष्ट्रपति निर्वाचन सम्पन्न गर्नुपर्छ । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि यो गठबन्धनलाई सशक्त रूपमा अगाडि लानुपर्छ,’ भुसालले भने । उनले राष्ट्रपति निर्वाचनको सवालमा आठै दलको समान धारणा रहेको बताए ।
जसपा नेता राजेन्द्र श्रेष्ठले राष्ट्रपति निर्वाचन कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्न कार्यदल गठन भएको बताए । राष्ट्रपति निर्वाचनको समीकरणमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिता तथा संविधानको रक्षालाई आधार मानिएको उनले बताए ।
लोसपा नेता शरत्सिंह भण्डारीले मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । दलीय सहकार्यबाटै परिवर्तन सम्भव भएको भन्दै उनले राष्ट्रपति निर्वाचनबाट मजबुत एकताको सन्देश दिने बताए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताइन् । आठ दल मिलेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालिएको उनले बताइन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनको खतरा अझै रहेकाले गणतान्त्रिक शक्ति एकजुट भएर जानुपर्ने बताए । लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेहरू सल्बलाएको भन्दै उनले सतर्क रहेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए, नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया