NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन [अन्तर्वार्ता]

काठमाडौं । प्रा डा. रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छन् । उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु-याएका छन् ।

विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा पनि त्यसलाई छाडेर मुलुकको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना राखेर स्वदेश फर्किएका उनले जहिले पनि आम जनतामा कसरी स्वास्थ्यको आधारभूत पहुँच पु-याउन सकिन्छ भन्नेमा नै आफूलाई क्रियाशील राख्दै आएका छन् । प्रस्तुत छ, नेपालको चिकित्सा क्षेत्रमा भएका विकसित विसङ्गति र राज्यको गैरजिम्मेवारपन तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गरिएका प्रयासका बारेमा प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहसँग गरिएको कुराकानी :

नेपालमा मेडिकल शिक्षाको अवस्था कस्तो देख्नुहुन्छ ?

विसं २०२९ तिर एमबिबिएस अध्ययनका लागि जनकपुरबाट भारत गएको थिए । नेपालमा मेडिकल कलेज नभएका कारण उच्च शिक्षाका लागि छिमेकी देश भारत मेरो रोजाइमा पर्यो । कलेजका एक भारतीय मुलकै साथीले आश्र्चय हुदै प्रश्न गर्नुभयो, ‘नेपालमा एउटा पनि मेडिकल कलेज छैन ’ मैले उहाँलाई प्रतिप्रश्न गरे, ‘किन ?’ जवाफमा उहाँले भन्नुभयो, ‘यहाँ (भारत) को उत्तर प्रदेशमा मात्रै आठ वटा मेडिकल कलेज छन् ।’

आज ५० वर्षसम्म त्यो प्रश्नले मलाई असहज महसुस गराइरहेको छ । भारतमा अध्ययन सकेर नेपाल फर्किंदा हाडजोर्नीका आठ जना चिकित्सक थियौँ । त्यसयता, सरकारी लगानीमा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयअन्र्तगत चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापना भयो । अहिलेसम्म सरकारका दुई वटा र निजीतर्फ १८ वटा मेडिकल कलेज सञ्चालनमा छन् ।

नेपाली विद्यार्थीलाई एमबिबिएस अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यता कम छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा एमबिबिएस उत्तीण हुनेको सङ्ख्या २७ हजार आठ सय पाँच पुगेको छ । बिडिएसमा चार हजार चार सय १३, एमडीएस र एमडी/एमएसका १० हजार ८० जना दर्ता भएका छन् ।

हाडजोर्नीको क्षेत्रमा चिकित्सकको संख्यालाई के भन्नुहुन्छ ?

भारतबाट एमबिबिएसको पढाइ सकेर स्वदेश फर्केपछि नेपाल फर्किएर वीर अस्पतालमा काम सुरु गरेँ । हामीले सुरु गर्दा हाडजोर्नीका आठ जना मात्र चिकित्सक थियौँ । सिमित स्रोतका बाबजुत सबै उपचार र सर्जरी हुन्थ्यो । त्यस समयमा हाडजोर्नीका सर्जनको अभावमा मुटु सर्जनले पनि हाडजोर्र्नीको सर्जरी गर्नुहुन्थ्यो । अहिले हाडजोर्नीका करिब चार सय चिकित्सक छन् ।

जबकी पालिकास्तरका अस्पताल र स्वास्थ्य केन्द्रहरुमा हाडजोर्नीका चिकित्सक राख्नुपर्ने हुन्छ । विगतमा सिमित स्रोत साधनको चुनौती अहिले पनि छन् । चिकित्सा शिक्षण संस्थाको सङ्ख्या थपिएका छन् । तर गुणस्तरका कुरामा प्रश्नचिन्ह लाग्ने गरेको छ । काठमाडौँ बाहिरका विश्वविद्यालयमा अध्यापनका लागि आवश्यक व्यवस्थापकीय पक्षमा ध्यान दिन आवश्यक छ ।

बेलायतमा उच्च शिक्ष अध्ययन गरी उतै नबसेर नेपाल फर्केर काम गर्न कुन कुराले प्रेरित ग-यो ?

वीर अस्पतालमा केहि समय काम गरेपछि जनकपुर अञ्चल अस्पतालमा (सन् १९८३/८४) सरुवा भए । त्यतिबेला जनकपुर अञ्चल अस्पतालमा १५ शैय्या थियो । अस्पतालको दुरावस्था देखेपछि आफ्नै खर्चमा पट्ना गएर केही स्वास्थ्य उपचार उपकरण किनेर ल्याए । त्यसपछि अस्पतालको एउटा सानो कोठाबाट उपचार सुरु गयौं ।

सन् १९९० मा उच्च शिक्षाका लागि बेलायत पुगेँ । अध्ययनसँगै छ वर्ष काम गरे र लिभरपुल विश्वविद्यालयबाट विद्यावारिधि गरे । मसँगै जानुभएका केही साथीहरु बेलायतमै बस्नु भयो तर मलाई बेलायतको आर्कषणले धेरै समय त्यहाँ टिकाउन सकेन । किनकि मैले बेलायतमा त्यो सम्भावना देखिन जुन नेपालमा मेरा लागि थियो । मेरो अध्ययन र अभ्यासको सिर्जनात्मक प्रयोगका लागि नेपाल फर्किनु उपयुक्त ठानेँ ।

अहिले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा रहँदा के कति कामहरु गर्न सक्नुभएको छ ?

बेलायतबाट नेपाल फर्किएपछिको विगत २५ वर्ष मेरो समय अध्यापनमा बित्यो । तर काम गर्ने थप उत्साह कोभिड–१९ को महामारीको समयमा अझ थपियो । जागिरबाट निवृत्त भएपछि जनकपुर गएर बसें ।

यसैक्रममा कोभिड महामारी फैलियो र त्यो बेला एउटा चिकित्सकको नाताले म प्रदेशका प्रायः सबै ठाउँमा पुगेर सेवा गर्ने र स्वास्थ्यमा नागरिकको पहुँच र अवस्थाबारे बुझने अवसर मिल्यो । त्यसक्रममा बटुलेका अनुभवले मलाई स्वास्थ्यमा हरेक नागरिकको सरह र सरल पहुँचका लागि काम गर्नैपर्छ भन्ने बोध भयो ।

यसै क्रममा सरकारले २०७७ सालमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना ग-यो र त्यसको जिम्मेवारी मलाई दियो । प्रतिष्ठानले अहिले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पु-याउन जोड दिएको छ । प्रतिष्ठानले डेढ वर्षको अवधिमा स्वास्थ्यसम्बन्धी चारवटा विषयमा शिक्षण प्रशिक्षणका कोर्ष सञ्चालन गर्न सफल भएको छ ।

प्रतिष्ठानले बिएसी नर्सिंङ्ग, बिपीएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्न सफल भएको हो । शिक्षण प्रशिक्षण कोर्ष सञ्चालनको सफलतासँगै चाँडै मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडीएमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडीएमएस कक्षा सञ्चालनमा केही कठिनाइ भएकाले अस्पताल स्वामित्वको लागि पहल गरिरहेका छौँ ।

मधेस प्रदेशको स्वास्थ्य स्थिति त्यति सन्तोषजनक छैन । यसमा सुधार ल्याउन तपाइँको कस्तो सोचाइ रहेको छ ?

मधेस प्रदेश र कर्णाली प्रदेशको स्वास्थ्य अवस्था अन्य प्रदेशको तुलनामा राम्रो छैन । देशभर नै सरकारी अस्पतालको अवस्था दयनीय जस्तो छ । जनकपुर मधेस प्रदेशको राजधानी भएर पनि स्वास्थ्य दृष्टिकोणले निकै पछि परेको छ । सबैभन्दा धेरै समस्या यहाँ व्यवस्थापनमा छ ।

जनकपुरमा अहिले १० श्ययाको आकस्मिक कक्ष छ, त्यसमा २० जना आवश्यक हुनेमा चार जनाले काम गर्दै आएका छन् । जनशक्तिको अभावले सेवा प्रवाहमा चुनौती छ । बाँकी जनसङ्ख्याको लेखाजोखा छैन ।

संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा लिएको छ तर जनताले आधारभूत स्वास्थ्यको पहुँच राख्न सकेका छैनन्, यसमा तपाईंको के भनाइ छ ?

संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा राखेपनि जनताले आधारभूत स्वास्थ्य सेवा नपाउने अवस्था छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ भने पनि ९० प्रतिशत स्थानीय तहले आधारभूत स्वास्थ्य संस्था सञ्चालन गरेका छैनन् ।

अहिले स्वास्थ्यमा मुख्यगरी दुईवटा चुनौती छन् । पहिलो जनताको आवश्यकता कसरी सम्बोधन गर्ने ? र दोस्रो स्वास्थ्य संस्थाको स्तरीयता कसरी बढाउने ? जेनेभाको बैठकमा १० प्रतिशत स्वास्थ्यमा बजेट छुट्याउने भनी हस्ताक्षर गरेर आएको सरकारले अहिले चार प्रतिशतभन्दा धेरै बजेट छुट्याएको छैन ।

अधिकतम् लगानी स्वास्थ्य संस्थाको भौतिक संरचना र उपकरणमै खर्चिएको छ । जनशक्ति व्यवस्थापन प्राथमिकतामा पर्न सकेको छैन । सेवा प्रवाहमा ६० प्रतिशत लगानी पु-याउन आवश्यक छ । अहिले न चिकित्सकलाई प्रोत्साहित गर्ने खालको पारिश्रमिक छ न सेवाग्राहीले सुलभ शुल्कमा उपचार पाउन सकेका छन् । स्वास्थ्य सेवामा चित्त नबुझेपछि सेवाग्राही र चिकित्सकबीचको दूरी बढ्दो छ । स्वास्थ्य राष्ट्रिय प्राथमिकतामा पर्न आवश्यक छ ।

सरकारी अस्पतालमा लगानी पुगेको छैन । तर ठूला लगानीमा सञ्चालित निजी अस्पतालको सेवा पनि सन्तोषजनक छैन । चिकित्सक र स्वास्थ्यकर्मीको अभाव त्यहाँ पनि छ ।

यसो हुनुको मुख्य कारण के देख्नु हुन्छ ?

आफ्नो व्यक्तिगत फाइदा बढी खोज्ने प्रवृतिले नै मुलुक आज पछि परेको हो । नियत ठीक छ भने हरेक योजना सफल र सम्भव हुन्छ । तर बिना स्वार्थ न कर्मचारी काम गर्न तयार हुन्छन् न राजनैतिक नेतृत्व । स्वास्थ्य क्षेत्रको सुधारमा ठूलो चुनौती भनेको सही नियत नै हो ।

मिसनका गएका चिकित्सकहरुले अहिले पनि देशका दूरदराज विकट स्थानमा गएर उपचारमा गरिरहेका छन् तर सरकारी अस्पतालमा सेवा प्रवाह सन्तोषजनक देखिदैन । यसका लागि सरकारले स्पष्ट नीति लिनु आवश्यक छ । आज बिरामीले चिकित्सकसँग यसको क्षमतामाथि प्रश्न गरिरहेको छ र उपचारमा कति खर्च लाग्ने हो भन्ने कुराले सशंङ्कति बनिरहेको छ ।

बिरामी आएपछि चिकित्सकले उसको उपचार गर्नु मेरो धर्म भन्ने भावनाबाट भन्दा पैसा असुल्ने मौका यही हो भन्ने भावनाले काम गर्दा कहिलेकाहीँ अनेक समस्या पनि आउने गरेको छ । अहिले चिकित्सकले एउटा सिटामोलको ठाउँमा दश प्रकारका औषधिहरु सिफारिस गरिरहेका हुन्छन्, चिकित्सकले पेशागत धर्म बिसिर्दै छन् । शिक्षाले व्यापारीकरण बढी भएको छ ।

अहिलेको स्वास्थ्य शिक्षाले व्यापारीकरण गराइरहेको छ । विद्यार्थीको गुणस्तर कायम राख्न सकेको छैन । मेडिकल शिक्षामा गुणस्तर कायम राख्न संरचनात्मक हुन आवश्यक छ । अहिले स्वास्थ्य संस्थादेखि प्रतिष्ठानमा राजनितिक हस्तक्षेप बढी छ । पदाधिकारी नियुक्ति राजनीतिक आस्थाका आधारमा हैन, गुणस्तर राख्न हुनुप-यो ।

नेपालमा हाडजोर्नीको समस्या आउनुमा एउटा मुख्य कारण दुर्घटना पनि हो । यसलाई न्यूनीकरण गर्न के गर्नु पर्ला ?

नेपालमा सडक दुर्घटना ‘साइलेन्ट प्यान्डेमिक’ को रुपमा खडा भएको छ । एक जना मृत्यु हुँदा १० जना गम्भीर घाइते भइरेहको अवस्था छ । सडक दुर्घटनाका विषयमा दुर्घटना हुनपूर्व र दुर्घटनापछिका काम हुन्छ । सबैभन्दा पहिले व्यवस्थित सडक निर्माण हुनुपर्छ । प्रविधिसँगै त्यसको असर कम गर्ने उपाय र योजनाहरु अपनाउनुपर्छ ।

सवारी गति नियन्त्रणदेखि ट्राफिक अनुशासन कायम गर्नेपर्छ । मादकपदार्थ सेवन निषेधको नियम लागू गरेपछि मोटरसाइकलको दुर्घटना केही कमी भएको छ । सवारी दुर्घटनामा तत्काल मृत्यु हुन नदिन तत्काल उद्धार र उपचारका लागि व्यवस्थापन हुनुपर्छ । एम्बुलेन्स आई नपुग्दै धेरै मान्छेको सड्कमै मृत्यु भैसकेको हुन्छ, । घाइतेको उद्धार गर्दा सामान्य विधि अपनाउँदा पनि धेरैलाई बचाउन सकिन्छ ।

सबै नागरिकलाई प्राथमिक उपचारसम्बन्धी जानकारी गराउन आवश्यक छ । सवारी दुर्घटना भएमा प्रत्येक सवारी साधन एम्बुलेन्स र प्रत्येक व्यक्ति उद्धारकर्ता बन्न सक्छन् । दुर्घटनामा परेका व्यक्तिलाई कोल्टो राखेर अस्पतालसम्म पु-याउन सक्छ । पछिल्लो समय दुर्घटनामा परेकालाई उद्धार गर्न भन्दा पनि सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेको छ । सड्क सुरक्षाका लागि सरकारका सबै निकायको समन्वय आवश्यक छ ।