NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बालुवाटारभित्रै निवास खोजेका सभामुख महिना दिनदेखि आफन्तको घरमा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा खलबलिएको प्रतिनिधिसभा सभामुख र उपसभामुख तथा राष्ट्रिय सभा उपाध्यक्षको सरकारी निवासको व्यवस्थापन अझै सहज हुन सकेको छैन । सभामुखको बालुवाटारस्थित सरकारी निवासमा हाल राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बसिरहेको, तर सभामुख देवराज घिमिरेले बालुवाटारमै निवास खोजेपछि व्यवस्थापन जटिल बनेको हो ।

अघिल्ला सभामुख अग्नि सापकोटा बसेको लैनचौरस्थित निवासमा जान अस्वीकार गरेका घिमिरे हाल आफन्तको घरमा बसिरहेका छन् । उनी सभामुख बनेको महिना दिन कटिसकेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सभामुखको सरकारी निवास सरेका थिए । तिमिल्सिना बसेको निवास भने तत्कालीन प्रधानमन्त्री ओलीले प्रयोग गरेपछि बालुवाटारमा ठाउँ अभावले महरापछिका सभामुख अग्नि सापकोटा लैनचौरस्थित सरकारी निवास सरेका थिए । सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष बसेपछि अध्यक्षको निवास रहेको भवन हाल मन्त्रिपरिषद् बैठक बस्ने हलका रूपमा प्रयोग भइरहेको छ । सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि महिना दिन बित्दासमेत निवास व्यवस्थापनमा आलटाल गरिरहेको गुनासो सभामुखको सचिवालयको छ । तर, सहरी विकास मन्त्रालयले भने सभामुख, उपसभामुख र उपाध्यक्षको निवास व्यवस्थापनका लागि आवश्यक गृहकार्य भइरहेको जनाएको छ ।

विगतमा प्रतिनिधिसभा उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सरकारी निवास मन्त्री क्वार्टर पुल्चोकमै थियो । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फे र तत्कालीन उपाध्यक्ष शशिकला दाहाललाई पुल्चोकमै निवास व्यवस्थापन गरिएको थियो । तुम्बाहाङ्फेपछि दुई महिनाका लागि उपसभामुख भएकी पुष्पा भुसाल सरकारी निवास पाउन झमेला भएपछि बुढानीलकण्ठस्थित आफ्नै घरमा बसेकी थिइन् । यता दाहालको कार्यकाल सकिएपछि लामो समयसम्म उपाध्यक्ष चयन भएन । सभामुख घिमिरेले लिन नमानेको लैनचौर निवास आफूलाई दिन उपसभामुख इन्दिरा रानाले अनुरोध गरिरहेकी छिन् । हाल उनी बसिरहेको घरमा बालबालिका धेरै भएकाले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवास मिलाउन सकस भएको छ । ‘कि पुल्चोकमा मिलाइदिनुस्, कि लैनचौरको दिनुस् भनेर पटक–पटक भनेकी छु,’ उपसभामुख रानाले भनिन्, ‘कर्मचारी तहबाट भवन खाली छैन भनेर आलटाल गरिएको छ ।’ सहरी विकासका कर्मचारीले निवास दिन नसकिने र त्यसबापतको भाडा लैजान भनिरहेको उनले बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष