गृहको कार्यसम्पादनमा तीन वटा जिल्ला प्रशासन अनुत्तीर्ण

काठमाडौं । गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा तीन वटा जिल्ला प्रशासन कार्यालय अनुत्तीर्ण भएका छन् ।
अर्धन्यायिक अधिकारको समेत प्रयोग गरिरहेका जिल्ला प्रशासन कार्यालयहरूमध्ये जाजरकोट, चितवन र बझाङ ६ महिने कार्यसम्पादनमा कमजोर देखिएका हुन् । पश्चिम रुकुम भने कार्यसम्पादनमा उत्कृष्ट ठहरिएको छ ।
११.५० अंकसहित कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएका जाजरकोटमा गत असोज १२ यता उपसचिव अञ्जन न्यौपाने प्रमुख जिल्ला अधिकारी छन् । त्यसअघि उपसचिव रामबहादुर शाही प्रजिअ थिए । दुवै प्रजिअको पालामा कार्यसम्पादन कमजोर रहेको हो । १२.१९ अंक पाएको चितवनमा गत असोज १ सम्म प्रेमलाल लामिछाने, त्यसपछि असमान तामाङ प्रजिअ थिए । माघ १६ देखि सुरेन्द्र पौडेलले जिल्ला प्रशासनको नेतृत्व गरिरहेका छन् ।
१४.१० अंक पाएको बझाङमा गत माघसम्म बाबुराम अर्याल प्रजिअ थिए । उनको इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवापछि माघ ११ मा नारायण पाण्डे प्रजिअ भएर बझाङ गएका छन् ।
कार्यसम्पादनमा सर्वोत्कृष्ट पश्चिम रुकुमले ४१ पूर्णांकमा ४०.८८ अंक पाएको छ । कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पश्चिम रुकुमसहित पूर्वी रुकुम, प्यूठान, रूपन्देही, पर्वत, पूर्वी नवलपरासी, डडेल्धुरा, दाङ र काठमाडौं छन् । उत्कृष्ट १० जिल्लाले ३९.४४ भन्दा माथि अंक पाएका छन् । ४० प्रतिशतभन्दा कम अंक ल्याउने जिल्ला कार्यसम्पादनमा अनुत्तीर्ण सूचीमा समेटिन्छन् । कमजोर कार्यसम्पादन सूचीका १० जिल्लामा जाजरकोट, चितवन, बझाङपछि क्रमशः सिरहा, दोलखा, पाँचथर, ताप्लेजुङ , पर्सा, सोलुखुम्बु र सर्लाही छन् ।
प्रशासनको कार्यसम्पादन मूल्यांकनमा ९० प्रतिशत वा त्यसमाथि अंक ल्याउने अति उत्तममा ३१ जिल्ला परेका छन् । ७५ देखि ८९ प्रतिशत अंक ल्याएका २२ जिल्लालाई उत्तम कार्यसम्पादन सूचीमा राखिएको छ । ६० देखि ७४ प्रतिशतसम्म ल्याउने मध्यम सूचीमा १३ जिल्ला छन् । ४० देखि ५९ प्रतिशत अंक ल्याउनेमा ८ जिल्ला छन् । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले कार्यसम्पादन मूल्यांकन वृत्ति विकास र जिम्मेवारी दिने मामिलामा महत्त्वपूर्ण सूचक रहेको बताए, कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया