NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

श्रीमान्, छोराछोरी, साला र भाइ–भतिजा स्वकीय सचिव बनाउने नेता चिन्नुहोस्

काठमाडौं । सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । तर, यति महत्त्वपूर्ण जिम्मेवारीका लागि कैयौं सांसदले परिवारका सदस्यलाई मात्र योग्य ठानेर नियुक्ति दिएका छन् । जबकि निर्वाचनका बेला भने नेताहरू कार्यकर्ताको भर पर्छन् ।

कान्तिपुरले प्राप्त गरेको दस्ताबेजअनुसार प्रतिनिधिसभाका कम्तीमा ४८ सांसदले श्रीमान्, श्रीमती, भाइ, बहिनी, भतिजा, साला, भान्जा, भान्जीलाई स्वकीय सचिव बनाएर अधिकृतस्तरको तलब खुवाइसकेका छन् । संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७३ अनुसार सांसदका स्वकीय सचिवले मासिक ४३ हजार ६ सय ८९ रुपैयाँ तलब पाउँछन् ।

स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा एमालेका २०, कांग्रेसका १६, माओवादीका ६, राप्रपाका २ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत र लोसपाका एक/एक सांसद छन् । आफन्तसहित सबै स्वकीय सचिवका नाममा संसद् सचिवालयबाट पहिलो महिनाको तलब गइसकेको छ ।

आफन्तलाई नियुक्त गर्नै नहुने भन्ने छैन, विषय विज्ञता, योग्यता र क्षमताका आधारमा जोकोही पनि सांसदको स्वकीय सचिव बन्न पाउँछ । कतिपयको नियुक्ति आवश्यकताले पनि निश्चित गर्छ । झापाका एमाले सांसद कालुराम राई आफन्त नै नियुक्त गर्नुपर्ने अवस्थामा देखिन्छन् । दृष्टिविहीन उनलाई संसद् भवनको बैठक कक्षमा रहेको कुर्सीसम्म समाएर लैजानुपर्छ, त्यसैले उनले सहयोगीका रूपमा श्रीमती शुभलक्ष्मी थुलुङ राईलाई स्वकीय सचिव राखेका छन् ।

‘बैठक कक्षमा सुरक्षाकर्मी र कर्मचारीले कुनै पनि सांसदलाई छुन नमिल्ने नियम रहेछ । स्वकीय सचिवमा श्रीमतीको विकल्प नै भएन,’ राईले भने । संसद् सचिवालयले शुभलक्ष्मीलाई स्वकीयको तलबबाहेक सहयोगी भत्ताबापत एक बैठकको ५ सय पनि उपलब्ध गराउँछ ।

कांग्रेस सांसद माया राईले पनि भदैनी सोनिया राईलाई स्वकीय सचिव राखेकी छन्, उनको पनि यो बाध्यता देखिन्छ । दुई महिनाको दूधे बच्चालाई संसद् परिसरमा छाडेर उनी बैठकमा जान्छिन् । भित्र मायाले बैठकमा ध्यान दिँदा बाहिर भदैनीले बच्चालाई स्याहार गर्छिन् ।

भित्र बैठक चलिरहेको बखत बाहिर बच्चा रोएको खबर पुगेपछि उनी हुर्रिएर आउँछिन् । ‘आमा बन्नु सजिलो छैन, बच्चालाई दूध खुवाउन संसद् हलबाट छिनछिनमा निस्कनुपर्ने, दूध खुवाउने ठाउँ नभेटेपछि गाडी पार्किङको छेउमा अडेस लागेर स्तनपान गराउनुपर्ने बाध्यता छ,’ उनी भन्छिन् ।

सबै सांसदका सन्तान मायाका जस्ता साना छैनन् । हुर्किएर आफ्नो व्यावसायिक काम गर्न सक्ने छोराछोरीलाई कतिपय सांसदले स्वकीय सचिव बनाएर तलब खुवाएका छन् । एमालेकी समानुपातिक सांसद नैनकला थापाले छोरा प्रवेशलाई स्वकीय सचिव नियुक्त गरेकी छन् । त्यस्तै कास्कीका एमाले सांसदद्वय दामोदर पौडेलले स्वकीय सचिवका लागि छोरा सुवास र मनबहादुर गुरुङले छोरी अशिलालाई योग्य ठानेका छन् ।

एमाले सांसदहरूमा कपिलवस्तुकी अमृतादेवी अग्रहरीले छोरा पवन, सिरहाका रामशंकर यादवले छोरा विजय, कपिलवस्तुका सराज अहमद फारुकीले छोरा फौसाफ अहमद खाँ र दैलेखकी सूर्यकुमारी श्रेष्ठले छोरा संगमलाई स्वकीय सचिवको नियुक्ति दिएका छन् ।

कांग्रेस सांसदहरूमा ताप्लेजुङकी लीलादेवी बोखिमले छोरी कोपिला, नवलपुरकी बिनाकुमारी थनैतले छोरा युवराज, बर्दियाकी जाबेदा खातुनले छोरी हिना, जाजरकोटकी मैना कार्कीले छोरी ऋद्धिकालाई अधिकृतस्तरको स्वकीय सचिव बनाएका छन् ।

माओवादी सांसदहरूमा नुवाकोटका हितबहादुर तामाङले छोरा रूपक, गोरखाका हितराज पाण्डेले छोरा किरण र लमजुङकी उर्मिला माझीले छोरी सामनालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । पाण्डे माओवादी संसदीय दलका प्रमुख सचेतकसमेत हुन् । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सचिवालयमा छोरी गंगालाई राखेका छन् । तर, दाहाल प्रधानमन्त्री रहेकाले उनको सचिवालयका कर्मचारीको तलब संसद्बाट होइन, सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जान्छ ।

श्रीमती सांसद बनेपछि स्वकीय सचिवको नियुक्ति लिने पुरुषहरू पनि छन् । एमालेबाट समानुपातिक सांसद बनेकी शोभा ज्ञवालीले श्रीमान् कृष्णप्रसाद खनाललाई स्वकीय सचिव बनाएकी छन् । पार्टीको सिफारिसमै खनाललाई स्वकीय सचिव नियुक्त गरेको सांसद ज्ञवालीले बताइन् । भनिन्, ‘पैसाकै लागि मैले श्रीमान्लाई नियुक्ति दिएको होइन, पार्टीको निर्णयअनुसार उहाँले जिम्मेवारी पाउनुभएको हो ।’

जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी मोरङकी सोनु मुर्मुले श्रीमान् सुमन हेम्ब्रोमलाई स्वकीय सचिव नियुक्त गरेकी छन् । ‘छोरा ५ वर्षको मात्रै भएकाले दुवैले जिल्ला छाडेकै कारण श्रीमान्लाई नै स्वकीय नियुक्त गर्नुपरेको हो, फेरि उहाँ पहिलादेखि नै पार्टीमा लाग्नुभएको हो,’ उनले भनिन् ।

स्वकीय सचिवमा भाइ, बहिनी, सालोलाई राख्ने सांसद ९ जना छन् । सप्तरीका कांग्रेस सांसद दिनेशकुमार यादवले सालो अनिलकुमार यादव, दोलखाका एमाले सांसद ईश्वरबहादुर रिजालले सालो कुमार विश्वकर्मा र सिन्धुलीका कांग्रेस सांसद श्यामकुमार घिमिरेले सालो दिवाकर पौडेललाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

त्यस्तै सल्यानकी राप्रपा सांसद अनिशा नेपालीले बहिनी पवित्रा नेपाली र जुम्लाकी कांग्रेस सांसद कान्तिका सेजुवालले बहिनी राधिका मल्ललाई स्वकीय सचिव बनाएका छन् । बाँकेकी एमाले सांसद दीपा शर्माले बहिनी दिप्ती शर्मा, कपिलवस्तुकी कांग्रेस सांसद रूपा विकले भाइ सन्तोष विक र नुवाकोटकी सांसद सीता मिजारले भाइ बुद्धिमान मिजारलाई नियुक्ति दिएका छन् ।

भान्जा, भतिजा, भदै, भदैनी, भदाहा, नन्द, बहिनी ज्वाइँ, दिदीको छोरा नियुक्ति गर्ने सांसद १९ जना छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले भतिज भानु, नुवाकोटका कांग्रेस सांसद अजुर्ननरसिंह केसीले भतिज सरोज, सल्यानका एस सांसद प्रकाश ज्वालाले भतिज सन्तोष बीसी, दैलेखका कांग्रेस सांसद दिक्पालकुमार शाहीले भतिज मिलन, भोजपुरका एमाले सांसद हेमराज राईले भतिज चन्द्रविक्रम, बागलुङका माओवादी सांसद देवेन्द्र पौडेलले भतिज राजन, सर्लाहीका लोसपा सांसद रामप्रकाश चौधरीले भतिज आशिष चौधरी र कपिलवस्तुका एमाले सांसद मंगलप्रसाद गुप्ताले भतिज वृजेशकुमारलाई स्वकीय सचिवमा नियुक्ति दिएका छन् । सर्लाहीका माओवादी सांसद महिन्द्र राय यादवले भान्जा सत्यप्रकाश यादवलाई स्वकीय सचिव बनाएका छन् ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले कार्यालय सहयोगीका रूपमा नातिनी प्रिजा मगरलाई नियुक्ति दिएकी छन् । तर उनले घरपरिवारका सदस्य र आफन्त नियुक्ति गर्नु गलत भएको बताइन् । ‘भ्रष्टाचार सिंहदरबारमै छ, यसलाई सच्याउनुपर्छ, खाना पकाउने र आफूसँग सुत्नलाई मैले सुविधामा पाउने कार्यालय सहयोगीमा नातिनी नाता पर्ने नानीलाई राखेको हुँ, स्वकीय सचिव होइन,’ उनले भनिन् ।

संसद्को कामकारबाहीका क्रममा आवश्यक पर्ने सूचना खोजी गर्न सहयोग गर्ने उद्देश्यले अधिकृतस्तरको स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएकाले यसलाई दुरुपयोग गर्न नहुने बताउँछन्, संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्मा । ‘अधिकृतस्तरको सुविधा दिने भएपछि कम्तीमा स्नातक तह उत्तीर्ण व्यक्ति राख्नुपर्ने हुन्छ, योग्य व्यक्ति नियुक्ति गरेमा सांसदको आफ्नै भूमिका प्रभावकारी हुने हो,’ उनी भन्छन् ।

सांसदले स्वकीय सचिवका रूपमा कार्यकर्ताको नाम टिपाएर तलब आफैं लग्न थालेपछि स्वकीय सचिवको बैंक खातामै जम्मा हुने व्यवस्था गरिएको हो । त्यसपछि पनि बेथिति हटेको छैन । ‘अरूलाई राख्दा तलब उसकै खातामा जाने भएपछि आफैंले लिन घरपरिवारकै सदस्यलाई स्वकीय सचिव राख्ने गरेको देखिन्छ,’ सचिवालयका एक अधिकारी भन्छन्, ‘कार्यकर्ता राख्ने केही सांसदले पनि स्वकीयको बैंक एटीएम आफैं राखेर तलब चलाउने गरेका छन्, तर कार्यकर्ताले गुनासो नगरेकाले कारबाही गर्न मिलेन ।’

आफन्तलाई स्वकीय सचिवमा आर्थिक बेथिति हुने मात्र होइन, सहयोगीको प्रभावकारी साथबाट सांसद आफैं पनि वञ्चित हुन सक्ने बताउँछिन्, कांग्रेस सांसद तेजुलाल चौधरीकी स्वकीय सचिव रञ्जना प्रधान । ‘संसद्मा के बोल्ने, कुन कानुनमा के संशोधन हाल्ने भन्ने स्वकीय सचिवले सहयोग गर्नुपर्ने हुन्छ,’ तीन पटक स्वकीय सचिव भइसकेकी उनले भनिन्, ‘सकेसम्म आफन्तभन्दा योग्य व्यक्तिलाई राख्नु राम्रो हुन्छ ।’ रञ्जना आफैं पनि सांसद चौधरी सञ्चालक रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल हुन् । संसद् सचिवालयले उपलब्ध गराउने तलब निर्वाचन क्षेत्रका विपन्न कार्यकर्ताका लागि खर्च गर्ने गरेको उनले बताइन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भने सांसदको स्वकीय सचिव नियुक्तिमा संसद् सचिवालयको कुनै भूमिका नभएको बताउँछन् , कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष