NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

एक लाख तलबको आश्वासनमा मलेसिया पुगेका ५६ नेपाली अढाइ महिनादेखि अलपत्र

काठमाडौं ।विमानस्थलको कार्गाेमा मासिक एक लाख तलब पाउने गरी काम लगाइदिने भन्दै काठमाडौंको भण्डारी ओभरसिजले मलेसिया पठाएका ५६ नेपाली साढे दुई महिनादेखि अलपत्र छन् । उनीहरूले उद्धारका लागि गुहार मागेका छन् ।

अलपत्र परेकामा सप्तरीका ४३ र रौतहटका १३ जना छन् । उनीहरूले सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएका एजेन्ट रामचन्द्र साह, सप्तरीकै राजगढ गाउँपालिकाका शत्रुधन मण्डल र रौतहटका परमानन्द पण्डितमार्फत भण्डारी ओभरसिजलाई प्रतिव्यक्ति तीन लाख ९५ हजारका दरले पैसा बुझाएका थिए । ओभरसिजले उनीहरूलाई गत २२ पुसमा मलेसिया उडाएको थियो ।

अलपत्र परेका सप्तरीको राजगढ गाउँपालिका– ३ का २९ वर्षीय उमेश मण्डलका अनुसार म्यानपावरले मलेसियाको एडिके कम्पनीमार्फत विमानस्थलको कार्गोमा काम लगाइदिने भनेर पठाएको थियो । तर, त्यहाँ कार्गाेमा काम दिइएन । बरु नाला सरसफाइ गर्न भनियो । अहिले आफूहरू मलेसियाको सलेङ्गर बन्द्रावारू इन्सटेक सहरमा रहेको मण्डलले बताए ।

मण्डलका अनुसार मलेसियाको कम्पनीले पहिलो एक हप्ता खान–बस्न दिएको थियो । त्यसपछि बस्न दिएको ठाउँबाट पनि निकालिदियो । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ,’ उनले भने, ‘केही दिन साथीहरूसँग भएको मोबाइल, सुन बेचेर खायौँ, पछिल्लो समय नजिकैको पसलबाट उधारो खाइरहेका छौँ,’ मण्डलले भने, ‘यसरी यहाँ धेरै दिन बाँच्न सकिने अवस्था छैन । कसरी हुन्छ, हाम्रो उद्धारका लागि पहल गरिदिनुपर्‍यो ।’

रौतहटको चन्द्रनिगाहपुर– १४ सखुवादमौरा घर भएका रोशन पासवानका अनुसार मलेसियाको कम्पनीले बस्न दिएको कोठामा बेड–पंखा केही थिएन, गर्मीले बस्नै नसकिने अवस्था थियो । ‘त्यहीँबाट पनि निकालियो । अहिले झापा र राजविराजका नेपाली कामदार बस्ने कोठामा भुँइमा कार्पेट ओछ्याएर बसिरहेका छौँ । ५६ जना अलग–अलग तीनवटा रुममा छौँ,’ उनले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘आश्रय दिएका साथीहरूकै रोहवरमा छेवैको बंगाली पसलबाट उधारो खाइरहेका छौँ । त्यसले पनि कति दिन उधारो देला र ! एकजनाको पाँच सय (मलेसियन रिंगेट) उधारो पुगिसकेको छ ।’

अर्का पीडित धर्मदेव यादवले राम्रो रोजगारी दिने आश्वासनमा आफूहरूलाई अलपत्र पारिएको बताए । ‘विमानस्थलमा राम्रो जागिर हुन्छ, महिनाको एक लाख तलब हुन्छ भनेर कम्पनीले पठाएको हो । तर, यहाँ अलपत्र परिएको छ । कसरी हुन्छ यहाँबाट निस्किन पाए हुन्थ्यो, उद्धार गरिदिनुपर्‍यो,’ उनले भने, ‘घरमा बुबा, आमा, श्रीमती, दुई छोराछोरी छन् । ऐलानी जग्गामा एक सानो छाप्रो छ । घरमा कमाउने म मात्र हुँ । मलाई केही भयो भने परिवारको रेखदेख कसले गरिदेला ?’

छिमेकीसँग चार लाख ऋण गरेको रकम म्यानपावर कम्पनीलाई बुझाएर मलेसिया आएको मण्डलले बताए । ‘तीन वर्षअघि बुबा बित्नुभयो । उहाँ बिरामी हुँदा पैसा नभएर राम्रो उपचार गर्न सकिएन । उहाँको निधन भएपछि घरमा कमाउने कोही भएन । घर पनि ऐलानी जग्गामा छ । छिमेकी दाइ भरत मण्डलसँग चार लाख रुपैयाँ कर्जा लिएर मलेसिया आएको हुँ,’ उनले भने, ‘तीन लाख ९५ हजार एजेन्टमार्फत म्यानपावर कम्पनीलाई दिएको हुँ । पाँच हजार काठमाडौं पुग्न लाग्यो । अहिले मलेसियामा अलपत्र छु ।’

म्यानपावर कम्पनीले विमानस्थलको कार्गोमा काम गर्ने र महिनाको एक लाख रुपैयाँ तलब पाइने बताएको थियो । तर, मलेसियाको एडिके कम्पनीले भने कार्गाेमा काम दिने भनेर सहमतिपत्र नदिएको बताएको त्यहाँ पुगेका सप्तरीका सञ्जयकुमार खंगले बताए । ‘हामीलाई विमानस्थलको कार्गाेमा काम पाइन्छ भनिएको थियो । तर, यहाँको कम्पनीले त्यस्तो सहमतिपत्र नदिएको र कार्गोमा काम पनि नपाइने बताएपछि हामीहरू छाँगाबाट खसेजस्तै भयौँ,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष