पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विजयी

काठमाडौं । ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । अन्य पदमा भने मिश्रित परिणाम आएको छ ।
नेविसंघको आन्तरिक विवादले यसअघि स्थगित भएर शनिबार सम्पन्न निर्वाचनमा कुल २ हजार ६७९ मत खसेकोमा विष्टले ८४१ मतका साथ जित निकाले । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए ।
६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर तेस्रो र नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) चौथो स्थानमा खुम्चिए ।
सभापतिमा विजयी विष्टले नेविसंघको आधिकारिक उम्मेदवार हुन चाहेका थिए । तर नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा लाई अघि सारेपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा उत्रिएका थिए ।
सचिव र कोषाध्यक्ष भने अनेरास्ववियुको पोल्टामा परेको छ । सचिवमा अनेरास्ववियुका अविनाश भण्डारी ९८३ मतसहित जित दर्ता गराउँदा कोषाध्यक्षमा तिलकबहादुर कुमाल विजयी बने ।
दुई सदस्यमा भने अखिल क्रान्तिकारीका उम्मेदवार विजयी बनेका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा गत चैत ५ मा स्ववियु निर्वाचन सम्पन्न भए पनि नेविसंघको आन्तरिक विवादका कारण कतिपय क्याम्पसमा स्थगित हुन पुगेको थियो । त्यसमध्ये पाटनमा शनिबार निर्वाचन भएको हो ।
प्रतिक्रिया